सरकार बनाउन कसरत शुरु, एमालेले कांग्रेसलाई पठायो सहकार्यको प्रस्ताव

काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत प्रत्यक्ष र समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । मतपरिणाम आउँदै गर्दा अबको सरकार कसले बनाउने भन्ने चर्चा शुरु भइसकेको छ । कांग्रेस नेतृत्वको सत्तागठबन्धनले भोलिसम्म चुनावपछिको पहिलो बैठक बोलाउने तयारी गरिरहेको छ भने दोस्रो ठूलो दल नेकपा एमाले पनि सरकार निर्माणका लागि कसरत गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाउँदै सरकार निर्माणमा सहकार्य गर्ने बताउनुभएको छ । एमालेको यो प्रस्तावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तरंगित तुल्याएको छ । कांग्रेसलाई तर्साउन एमाले देखाउने, एमाले तर्साउन कांग्रेस देखाउने प्रचण्डको रणनीतिलाई ओलीको प्रस्तावले ब्रेक लगाउने देखिन्छ । उसो त कांग्रेसभित्र पनि दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्रीका लागि दाबेदार छन् जसमध्येको बलियो दाबेदार महामन्त्री गगन थापालाई लिइएको छ । संसदीय दलको नेता बन्न कांग्रेसमा निकै रस्साकस्सी हुने निश्चित प्रायः छ । यता, नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने सम्भावना न्यून देखिएपछि उसले आफ्नै विरासत जोगाउनेमा शंका देखिन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच कुन पार्टीसँग सहकार्य गर्ने भन्नेमै विवाद सिर्जना भएको छ । एकीकृत समाजवादीका अधिकांश नेता एमाले प्रवेश गर्ने प्रबल सम्भावना देखिन्छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाबाहेक जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र अन्य स्वतन्त्र उम्मेदवारहरुसँग कांग्रेस निरन्तर छलफलमा रहेको छ । यता, नेकपा एमाले पनि माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नयाँ दल र अन्य स्वतन्त्र उम्मेदवारसँग लबिङ गरिरहेको छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार सरकार बन्ने सम्भावना कांग्रेस–एमालेको उत्तिकै रहेको छ ।

सरकार निर्माणमा सहजै निर्णायक दल नबनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि एकपटक प्रधानमन्त्री बन्ने आशामा देखिन्छन् । यदि एमालेले कांग्रेसलाई प्रधानमन्त्री दिँदै सत्तामा जाने स्थिति आयो भने प्रचण्डको सपना साकार नहुने पक्का छ । सरकार निर्माणको प्रारम्भिक अवस्था हेर्दा कांग्रेस केही सहजतामा पुगेको छ तर संसदीय दलकै नेता छान्ने विषय कत्तिको पेचिलो बन्छ त्यो हेर्न बाँकी छ । यता, विश्लेषक मुमाराम खनालका अनुसार सरकार बनाउन कांग्रेस पहिलो हकदार रहेपनि उसको सक्रियताले निर्धारण गर्नेछ ।

संविधानमा रहेको व्यवस्था अनुसार प्रत्यक्ष र समानुपातिक गरी २७५ जना सांसद मध्ये १३८ जनाको बहुमत पुग्छ यदि त्यो सम्भव नभए राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । उक्त प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मल लिनुपर्ने हुन्छ । अन्यथा अल्पमतको सरकार बन्छ र दुईवर्षपछि मात्रै अविश्वासको प्रस्ताव ल्याउन मिल्ने प्रावधान रहेको छ ।

श्रोतःnepalinetwork

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close