घरभन्दा अग्ला युवक जसलाई देखेर स्वास्थ्यकर्मीहरू पनि छक्क पर्छन्

बीबीसी। उत्तरी घानामा बस्ने एक युवक विश्वका सबैभन्दा अग्ला व्यक्ति हुनसक्ने चर्चा सुनेपछि म त्यो निर्क्योल गर्न निस्किएँ। तर एउटा समस्या उत्पन्न भयो – उनको उचाइ कसरी नाप्ने! उत्तरी घानास्थित एउटा अस्पतालमा जचाउन जाँदा २९ वर्षीय सुलेमाना अब्दुल समेदलाई उनी साढे नौ फिट अग्लो भएको बताइयो।

त्यो उचाइ विश्वकै सबैभन्दा अग्लो व्यक्तिको कीर्तिमानका लागि पर्याप्त थियो। तर ग्रामीण भेगमा रहेको क्लिनिकसँग उनको उचाइ नाप्न भरपर्दो उपकरण थिएन। केही वर्षअघि ‘जाइग्यान्टिजम’ भनिने रोग लागेको थाहा पाएसँगै उनले प्रत्येक महिना चिकित्सकलाई जचाउँदै आएका छन्।

त्यसै क्रममा उनको उचाइ मापन गर्न उनलाई एउटा स्केलअगाडि सीधा उभिन भनियो। त्यसपछि छक्क पर्दै एक नर्सले भनिन्: “तपाईँ यो नाप गर्न राखिएको स्केलभन्दा अग्लो हुनुभएछ!” अउचे उपनामबाट चिनिने उनी आफ्ना कारण उत्पन्न परिस्थिति देखेर छक्क परे।

आफ्नो उचाइ बढेको सुन्दा उनलाई अनौठो लागेन किनभने उनी बढ्ने क्रम कहिल्यै रोकिएको थिएन। तर अस्पतालका कर्मचारीहरूका लागि त्यो अनपेक्षित थियो र उनीहरू विस्मित थिए। काममा खटिएकी एक नर्सले सहकर्मीलाई बोलाइन्। तर उनीसँग पनि अर्का सहकर्मीलाई गुहार्नुबाहेक अरू उपाय थिएन।

त्यसपछि नर्स र स्वास्थ्य सहायकहरूको एउटा समूह अउचेको उचाइ कति हो भन्ने निधो गर्न भेला भयो। एक जनाले उक्त स्केलमाथि अर्को डन्डी राख्ने र त्यसलाई फेरि नाप्ने जुक्ति निकाले। यसरी उनीहरूले ती भीमकाय व्यक्तिको उचाइ नापे। केही महिनाअघि उत्तरी घानाको भ्रमण गर्दा मेरो भेट अउचेसँग भएको थियो। तर मसँग उनको कद नाप्नका लागि फित्ता थिएन।

उनको उचाइबारे टुङ्गोमा पुग्न गत साता म १६ फिटसम्म नाप्न मिल्ने ‘टेप’ लिएर फेरि त्यहाँ पुगेँ। उनलाई भित्तामा टाँसिन लगाउने र टाउकोको टुप्पोनजिकै चिह्न बनाएर पछि टेपले नाप्ने मेरो योजना थियो। “[अस्पतलाम] उनीहरूले जसरी मेरो नाप लिए त्यो मलाई ठिक छ जस्तो लाग्दैन ,” उचाइ नाप्ने मेरो योजना सुनेर दङ्ग पर्दै अउचेले भने।

छरछिमेकमा रहेका अधिकांश घरभन्दा उनीभन्दा होचा छन्। केही समयको खोजीपछि उनलाई पर्खालनजिक उभ्याउन उपयुक्त घर फेला पर्‍यो। उनले जुत्ता खोले। बजारमा उनलाई मिल्ने जुत्ता नपाइने हुँदा उनी गाडीको टायरबाट गाउँमै बनाइएको जुत्ता लगाउँछन्। कुर्सीमाथि चढेर उनका एक छिमेकीले अँगारले रेखा कोरे।

भुइँदेखि त्यो कालो धर्सोसम्मको उचाइ हामीले नाप्यौँ। “अउचे, टेपमा सात फिट चार इन्च देखिएको छ,” मैले भनेँ। मुस्कुराउँदै उनले भने: “ओहो, यसको अर्थ के हो?”

मैले भनेँ, “सबैभन्दा अग्ला जीवित व्यक्तिको कद आठ फिट २.८ इन्च छ। ती व्यक्ति तिमीभन्दा झन्डै एक फुट अग्ला छन्।” टर्कीमा बस्ने ४० वर्षीय सुल्तान त्यति अग्ला छन्। उनको यो कीर्तिमान गिनिज वर्ल्ड रेकर्डमा अभिलिखित छ।

“म अझै बढ्ने क्रममा छु। के थाहा म पनि कुनै दिन त्यति अग्लो हुन सक्छु,” अस्पतालले पहिला बताएको उनको कद नमिलेको भए पनि उनी उदास छैनन्। “तीन-चार महिनामा मेरो कद बढेको हुन्छ…यदि तपाईँले मलाई तीन-चार महिना भेट्नुभएन र एकैपटक त्यसपछि देख्नुभयो भने मेरो कद बढेको थाहा पाउनुहुन्छ,” अउचेले भने।

राजधानी आक्रामा बस्दा आफ्नो कद धेरै बढेको उनले महसुस गर्न थालेका थिए। त्यतिबेला उनी २२ वर्षका थिए। माध्यमिक शिक्षा पूरा गरेपछि अउचे आफ्ना दाजुहरूसँग बस्न आक्रा गएका थिए।

गाडी चलाउन सिक्ने उनको योजना थियो। त्यसका लागि पैसा जोहो गर्न उनले मासुपसलमा काम गरे। एक दिन बिहान उठ्दा उनी छक्क परे। “मलाई जिब्रो निकै ठूलो भए जस्तो लाग्यो – यति ठूलो कि मैले (राम्ररी) सास फेर्न सकिरहेको थिइनँ,” उनी भन्छन्।

त्यसपछि उपचार खोज्न उनी एउटा स्थानीय औषधि पसलमा पुगे। त्यसको केही दिनपछि आफ्ना सबै अङ्ग बढिरहेको उनले थाहा पाए। उचाइ निरन्तर बढिरहँदा उनमा अरू समस्याहरू पनि देखा पर्न थाले। उनलाई उपचार चाहिन्छ भन्ने अनुभूति भयो।

उनी ‘मार्फन सिन्ड्रोम’ बाट पीडित छन्। यो एक प्रकारको आनुवंशिक समस्या हो र यसले शरीरको ‘कनेक्टिभ टिशू’ अर्थात् संयोजी तन्तुमा प्रभाव पार्छ। यसले गर्दा खुट्टा अस्वाभाविक रूपमा लामो हुन्छ। यो समस्या गम्भीर बन्दा मुटु बिग्रिन पनि सक्छ। उनको शरीरमा भइरहेको वृद्धिलाई रोक्न मस्तिष्कको शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले औँल्याएका छन्।

तर घानाको स्वास्थ्य बीमाले उक्त उपचारका लागि लाग्ने खर्च धान्दैन। प्रत्येक पटक अस्पताल जानका लागि उनले कम्तीमा ५० डलरको जोहो गर्नुपर्ने हुन्छ।

स्वास्थ्य समस्याका कारण सवारीचालक बन्ने आफ्नो सपना त्याग्दै छ वर्षअघि उनी गाउँ फर्किए। अहिले उनी आफ्ना एक दाजुसँग बस्छन्। आफ्नो जीविकोपार्जनका लागि उनले मोबाइल फोन रिचार्ज गरिदिने एउटा सानो पसल खोलेका छन्।

शारीरिक अवस्थाले उनको सामाजिक जीवनमा पनि प्रभाव पारेको छ। “सबै युवाले जस्तै म पनि फुटबल खेल्ने गर्थेँ। म फुर्तिलो थिएँ तर अहिले नजिकै पनि म हिँडेर जान सक्दिनँ,” उनले भने।

तर अउचे यी समस्याका कारण हार मानेका छैनन्। मानिसहरूले बोलाउँदा उनी प्रसन्न हुन्छ। एक प्रकारले उनी स्थानीय ‘सलेब्रटी’ बनेका छन्। बाटोमा निस्किँदा बालबालिकाले उनलाई हात हल्लाउँदै बोलाउँछन्, केही महिलाले उनलाई अङ्कमाल गर्दै ठट्टा गर्छन्। केही मानिस उनीसँग सेल्फी लिन चाहन्छन्। सामाजिक सञ्जालमा उनको तस्बिर देखेकाले अपरिचित व्यक्तिहरू पनि उनीसँग फोटो खिच्न अघि सर्छन्।

आफूले पाएको आडभरोसाका लागि आफ्नो परिवारसँग कृतज्ञ छन्। उनका तीन दाजुहरू र अन्य नातेदार कसैमा पनि शरीर ठूलो हुने समस्या देखा परेको छैन। “उनीहरू कोही पनि अग्ला छैनन्, म नै सबैभन्दा अग्लो हुँ,” अउचेले भने।

अउचे बिहे गर्न र छोराछोरी पाउन चाहन्छन्। तर त्यसअघि पहिला आफ्नो स्वास्थ्य ठिक हुनुपर्छ भन्ने उनलाई थाहा छ। खुट्टा निकै लामो हुँदा उनी छालाको समस्याबाट पीडित भएका छन्। उपचार गर्न प्लास्टिक सर्जरी गर्नुपर्ने भएको छ। त्यसका लागि उनी पैसा जम्मा गर्ने विचारमा छन्।

पट्टी बाँधिएको खुट्टातिर हेर्दै उनी आफ्नो अवस्थाका कारण निराश हुन अस्वीकार गर्छन्। “ईश्वरले यस्तै गर्नुभयो, ठिकै छ। ईश्वरले मलाई सृष्टि गर्नुभएको तरिकामा मलाई आपत्ति छैन।”

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close