भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी

काठमाडौं। भारतको नवनिर्मित संसद् भवनमा नेपाली भू–भाग समेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको विरोध शुरू भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल नक्सा राखिएको छ । जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ ।
भारतको सत्तारुढ दल भाजपाका नेताहरूले उक्त मुरल नक्साका तस्विरहरू सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ भन्दै लेखेका छन् । उक्त भित्तेचित्रमा अंकित भौगोलिक पहिचानमा नेपालको कपिलवस्तु र लुम्बिनी समावेश गरिएकोप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्राध्यापक कृष्ण पोखरेल, एमाले नेता ठाकुर गैरेलगायतले उक्त विषयप्रति चासो व्यक्त गरेका छन् ।

भट्टराईले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमिझैं उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउन सक्ने बताएका छन्। उनले लेखेका छन्– ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ ।’

उक्त विषयमा संसद्को पूर्वाधार समितिको बैठकमा समेत छलफल चलेको छ । समितिका सदस्यहरूले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखिएको विषयप्रति ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री बस्नेतले यस विषयमा जानकारी भएको भन्दै सरकारले नोटिस गरेको बताए।

उता, प्राध्यापाक कृष्ण पोखरेलले पनि यस विषयमा आपत्ति जनाउँदै लेखेका छन्– ‘अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राख्नु भनेको सरासर कार्टोग्राफिक एग्रेसन हो । यसको जति निन्दा गरे पनि थोरै हुन्छ ।’

नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा यस विषयमा कुरा उठ्नुपर्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close