पाल्पामा जिप दुर्घटना हुँदा अर्घाखाँचीका चार जनाको मृत्यु,११ घाइते

अर्घाखाँची ।पाल्पामा डबल क्याव जिप दुर्घटना हुँदा अर्घाखाँचीका ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । आइतबार बेलुका भएको दुर्घटनामा परि मृत्यु हुनेमा पाणिनी गाउँपालिका वडा नम्बर १, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका नम्बर २, पोखराथोककी २५ वर्षीया सीता गौतम र पोखराथोककै दुई वर्षीय संयोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको बताएको छ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पणेना आउँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याव जिप पाल्पाको रैनादेवी ८, सत्यवती केवँरेछेडामा अन्तर्गतको ढोरपाटन सडकमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा घाइते भएका ११ जनाको रुपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।दुर्घटनाग्रस्त जिप सडकदेखि ७० मिटर तल खसेको छ ।
कमेन्ट गर्नुहोस !