सीपी गजुरेलले काल जितेको त्यो रात

२०५२ सालदेखि देश युद्धमा होमिएको थियो । पुष्पकमल दाहाल (प्रचण्ड) ले नेतृत्व गरेको तत्कालीन माओवादीले देशमा आमूल परिवर्तनकाे नारा दिएर युद्ध सुरु गरेकाे थियाे ।
युद्धमैदानमा प्रचण्डसहित डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र अन्य हजारौँ नेता/कार्यकर्ताको सहभागिता थियो ।
युद्ध लड्नलाई सैन्य फाँट र राजनीतिक फाँट गरेर दुई विभाग निर्माण गरियाे । राजनीतिक फाँटका एक महत्त्वपूर्ण सदस्य हुन्, हाल नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल ।
अग्लो कद, गोरो चेहरा, सेतै फुलेकाे कपाल, झट्ट हेर्दा विदेशी नागरिकझैँ लाग्ने गजुरेल सिन्धुलीका एक सम्पन्न परिवारका सदस्य हुन् । उनलाई पारिवारिक कारणले भूमिगत भएर माओवादी युद्धमा होमिनुपर्ने कुनै आवश्यकता नै थिएन ।
पेसाले शिक्षक गजुरेल आफ्नो सम्पन्न घरपरिवारलाई छोडेर युद्धमा होमिए । २०२४ सालमै उनले कम्युनिस्ट पार्टीको सदस्यता लिइसकेका थिए ।
२०३७ सालमा उनी पार्टीको केन्द्रीय सदस्य भए । कम्युनिस्ट पार्टीको नेतृत्वमा मोहनविक्रम सिंह र मोहन वैद्य किरण थिए । २०४२ सालमा मोहनविक्रम र वैद्य विभाजित भए ।
गजुरेल वैद्यले नेतृत्व गरेको मोटो मशालतिर लागे । माओवादी युद्ध हुँदै वैद्य प्रचण्डसँग समेत छुट्टिएर क्रान्तिकारी माओवादीसम्म आउँदा सीपी वैद्यकै साथमा छन् । कम्युनिस्ट विचारकै कारण उनले पञ्चायतकालमा पाएका कैयौँ अवसरसमेत छाेडे ।
गजुरेल भन्छन्, ‘म सर्वहारा जनताको मुक्तिका लागि राजनीति गर्दै माओवादी युद्धमा सामेल भएको हुँ । मलाई पदभन्दा आदर्श ठूलो लाग्छ । पदकै लागि मैले चाहेको भए पञ्चायतकालमै मन्त्री हुन्थेँ ।’
जुन आदर्श बोकेर राजनीतिमा लागे, त्यसबाट अझै आफू दायाँबायाँ नभएको गजुरेल दाबी गर्छन् । तर, देश र जनताको मुक्तिका लागि भन्दै हजारौँ जनताको ज्यान जाने गरी भएको युद्धलाई अन्त्यमा आएर युद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामले भने विलय गराएको गुनासो उनको छ ।
‘हामीले लगभग युद्ध जितिसकेका थियौँ । हामीसँग हजारौँ जनमुक्ति सेना थिए । ५२ सालदेखि सुरु भएको युद्ध २०६२–०६३ सम्म आइपुग्दा सात राजनीतिक दलसँग मिलेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति थियो । तर, त्यसको मर्मविपरीत प्रचण्ड र बाबुरामले सम्झौतामा युद्धलाई टुङ्ग्याए,’ उनी भन्छन् ।
संविधान निर्माणको चरणसम्म पुग्दा माओवादीले जुन उद्देश्य लिएर युद्ध थालेको थिएँ, त्यसबाट पछि हटेको भन्दै प्रचण्डसँग आफूहरू छुट्टिएको उनको भनाइ छ ।
युद्धमा होमिन घर छोड्दा…
२०५२ सालदेखि माओवादी युद्धमा जाने र भूमिगत हुने निर्णय भइसकेको थियो । गजुरेल आफ्नै घर सिन्धुली राममाडीमै थिए । पार्टीले भूमिगत हुनुपर्ने र त्यहीअनुसारको रणनीति बनाउन उनलाई सिन्धुलीबाट काठमाडौं बोलायो । पार्टीको निर्देशनअनुसार गजुरेल भूमिगत हुन सिन्धुलीबाट काठमाडौं हिँडे । त्यो बेलासम्मा गजुरेलको राजनीतिक यात्राले नयाँ उचाइ लिइसकेको थियो । उनी स्पष्ट वक्ता र बौद्धिक नेताका रूपमा चिनिन्थे ।
त्यसैले काठमाडौं आउँदा सकेसम्म आफ्ना गाउँले कसैले पनि थाहा नपाउन् भन्ने उनमा थियो । घरबाट उनी काठमाडौं हिँड्न झिसमिसेमै गाडी चढे । जुन गाडीमा जगुरेल चढे, त्यही गाडीमा घरछेउकै आफन्त पनि भटाभटी चढ्न थाले । गजुरेललाई लाग्यो- अब उनीहरूले आफू काठमाडौं जान लागेको थाहा पाउँछन् र गाउँभरि हल्ला हुन्छ ।
उनी सम्झन्छन्, ‘मिति ठ्याक्कै थाहा छैन । जाडो सिजन थियो । म घरबाट भूमिगत हुन काठमाडौं आउँदै थिएँ । माओवादी भूमिगत हुँदै छन् भन्ने हल्ला भइसकेको थियो । बिहान झिसमिसेमै गाडी चढेँ । तर, मै चढेको गाडीमा गाँउकै धेरै मान्छे चढ्न थाले । सोचेँ, अब थाहा पाउँछन् र बर्बाद हुन्छ । गाउँलेले मुख देखे चिन्छन् भनेर पूरै सलले मुख छोपेँ ।’
गजुरेल थप्छन, ‘धन्न गाउँले सिन्धुलीकै कमलामाई मन्दिर दर्शन गर्न बिहानै जान लागेछन् र त्यही रोकिए अनि म ढुक्क भएँ ।’
काठमाडौंको यात्रापछि आफू घर नफर्की युद्धका लागि विभिन्न सैन्य र राजनीतिक प्रशिक्षणमा लागेको उनी बताउँछन् ।
कालसँगको यात्रा
राजनीतिक विभागमा सक्रिय गजुरेल भूमिगतकालको कुनै घनघोर युद्धमा आफैँ बन्दुक बोकेर नलडे पनि उनी कैयौँ चोटि कालको मुखबाट बालबाल बाँचेका छन् ।
२०५२ सालबाट युद्ध थालेको माओवादी संघर्ष २०५६ तिर पुग्दा ‘पिकअप’को चरणमा थियो । युद्धका लागि माओवादीले सैनिक तयार पारिसकेकाे थियाे । विभिन्न प्रहरी चौकीमाथि धमाधम आक्रमण सुरु भइसकेको थियो ।
सरकारले माओवादी नेतालाई आतङ्ककारी घोषणा गर्दै शीर्ष नेताहरूको टाउकोकाे मूल्य नै तोकेको थियो । त्यसरी टाउकाेको मूल्य तोकिएका नेताहरूमध्ये गजुरेल पनि एक थिए । फोटो प्रहरीको हातहातमा थियो । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको खोजीमा समेत उनको नाम थियो ।
त्यति बेला उपत्यकासहित मकवानपुर क्षेत्रको प्रशिक्षणको कमाण्डमा थिए उनी । प्रशिक्षणकै लागि जुन बेला मकवानपुर पुगे । त्यही बेला उनलाई काठमाडौं आउनुपर्ने भयो । काठमाडौंमा पार्टीको महत्त्वपूर्ण बैठक बस्दै थियो ।
मनवानपुरबाट काठमाडौं आउनु उनलाई त्यति सहज थिएन । सरकारले पक्राउ पुर्जी जारी गरिसकेको थियो । प्रहरीले खोजिरहेका थिए । अप्ठ्याराे परिस्थितिमै पनि उनी काठमाडौंका लागि हिँड्ने तयारी गरे ।
पार्टीका कार्यकर्तालाई सार्वजनिक बसको सिट रोकाउन लगाए । हेटौँटाबाट सबैभन्दा राति छुट्ने बसमा उनको टिकट भयो । गजुरेलकै निर्देशनमा राति छुट्ने बसको अन्तिम सिट रोकिएको थियो । आफू मात्र जाँदा प्रहरीले शंका गर्छन् भनेर उनले आफ्नी श्रीमती कल्याणीलाई पनि सँगै ल्याए ।
हेटौँडाबाट काठमाडौं आउने साँझको बस चढे । बस खाली नै थियो । रातिको बस किन यस्तो खाली ?उनको मनमा आशंका हुन थाल्यो । बस केही समय त्यही ठाउँमा रोकियाे । बोल्दा चिनिहाल्लान् कि भनेर उनी चुपचाप आफ्नै सिटमा बसे । सँगै श्रीमती पनि बसेकी थिइन् । बस चढेको १ घण्टापछि बल्ल बस गुड्यो । मन केही खुसी भयो ।
तर, बस गुडेको केही छिनमै हतियारधारी प्रहरीको टोली नै बसभित्र पस्यो । जति खाली ठाउँ छ, त्यहाँ सबै प्रहरी बसे । गजुरेलकी श्रीमती डराइन् । उनी भित्रभित्र श्रीमतीलाई सान्त्वना दिँदै सम्झाइरहेका थिए । बसबाट झरेर भाग्ने कुरै थिएन । गजुरेल आफैँलाई पनि के हो ? के हो ? भन्ने लागेको थियो । प्रहरीहरूले मदिरा पनि पिएका थिए ।
बसभित्र बसेका प्रहरीको कुरा सुनेर गजुरेलले थाहा पाए । उनीहरू गजुरेल हेटौँडा पुगेको सूचनाकै आधारमा खोजीका लागि त्यहाँ पुगेका रहेछन् ।
बसमा चढेका प्रहरीले गजुरेलकै नाम लिएर, ‘सीपीलाई देखेको भए सबैभन्दा पहिला मेरो गोलीले उडाउँथेँ र सरकारले तोकेको पुरस्कार म लिन्थेँ भन्दै थिए ।’ बसमा प्रहरीबीच भएका यस्ता संवाद गजुरेलले आफ्नै कानले सुनिरहेका थिए ।
त्यो बेलाको क्षण सम्झिँदै गजुरेल भन्छन्, ‘जीवनको अन्त्य आजै रहेछ भन्ने लाग्यो । मलाई नै खोज्दै मकवानपुर पुगेकाे प्रहरी टाेली सँगै एउटै बसमा भेट्न पुग्याे । मलाई खोज्न पुगेका प्रहरी मलाई नभेटेपछि रिसले चुर थिए । अझ बर्खाको समय, एउटा खोलाले केही प्रहरीलाई बगाएर घाइते नै बनाएको रहेछ । त्यही रिसले मेरो अगाडि गोली ठोक्ने कुरा गर्दै आएका थिए । उनीहरूको बसबाट झर्ने कुरा नै थिएन ।’
गजुरेल थप्छन्,‘ जब रात छिप्पिँदै गयो, ती प्रहरीहरू निदाए । अनी मन ढुक्क भयो र बाँचिने भयो भन्ने लाग्यो ।’
प्रहरी सुत्दा पनि रातभरि बसमा कति खेर प्रहरीले आफूलाई केही सोध्छन् र थाहा पाइहाल्छन् भन्ने डर लागेकाे उनको भनाइ छ ।
‘हेटौँडाबाट चढेको प्रहरी टोली पनि काठमाडौं नै आइपुग्यो । बिहान थानकोटमा प्रहरी झरेपछि बल्ल कालबाट बाँचियो भन्ने लाग्यो,’ गजुरेल भन्छन् ।
‘त्यो यात्रा मेरो कालसँगको यात्रा थियो । त्यो मेरो युद्धयात्राको बिर्सनै नसक्ने यात्रा हो,’ गजुरेल भन्छन् ।त्योबाहेक पनि युद्धका थुप्रै अनुभव आफूसँग रहेको उनी बताउँछन् ।
बेलायत जाने सपना अधुरै
युद्ध अवस्थामा प्रहरीको आँखा छल्दै आएका गजुरेल अन्ततः भारतीय भूमिमा पक्राउ परे । उनी पक्राउ पर्दा माओवादी युद्धको करिब एक दशक पूरा हुँदै थियो । युद्ध उत्कर्षमा पुगेको थियो । शाही सेना परिचालन भएको थियो । सेनाले तीव्र दमनको नीति लिएको थियो । त्यसैले माओवादीलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्ने भयो ।
त्यसका लागि उपयुक्त पात्र जगुरेलबाहेक माओवादीमा अर्को थिएन । विदेशीजस्तै देखिने गजुरेलको अङ्ग्रेजी भाषा पनि राम्रो थियो । पार्टीले उनलाई युरोपभरि माओवादीको प्रचारका लागि बेलायत पठाउने निर्णय गर्यो । त्यसका लागि एक जना बेलायती नागरिकले पासपोर्टसमेत उपलब्ध गराए । गजुरेल बेलायत जान भारतको चेन्नई विमानस्थल पुगे । बेलायती नागरिकको राहदानीमा गजुरेलले आफ्नो फोटो टाँसिसकेका थिए ।
चेन्नई विमानस्थलमा उनको राहदानी चेक हुँदै थियो । लगेज चेक भइसकेको थियो । बोर्डिङ पासका लागि अध्यागमनका कर्मचारीले सोधपुछ गर्न थाल्यो । गजुरेलले ती कर्मचारीले सोधेका सबै प्रश्नको उत्तर दिइसकेका थिए । तर, ती कर्मचारीलाई के शंका लाग्यो, उनले जान दिएनन् । त्यति नै बेला एक जना बेलायती महिला पनि बेलायत नै फर्किन भन्दै अध्यागमन पुगिन् ।
अध्यागमका कर्मचारीले ती महिलाको सहयोग मागेर गजुरेलमाथि थप सोधपुछ गरे । महिलाले सोधेका प्रश्नको उत्तर पनि सबै दिए । आफू बेलायत जाने ठाउँबारे गजुरेल सबै कुरा कण्ठ गरिसकेका थिए । गजुरेलले सोचेभन्दा ती महिलाले बढी सोध्न थालिन् । गजुरेल झोँक्किएपछि महिलाले सोध्न छाडिन् ।
तर, अध्यागमन प्रहरीलाई गजुरेल बेलायती नागरिक भएजस्तो नलागेको भन्दै ती महिलाले सूचना दिएपछि उनको बेलायत जाने सपनामा पूर्णविराम लाग्यो । उनी चेन्नई प्रहरीको कस्टडीमा पुगे ।
उनी भन्छन्, ‘आफ्नो नाममा वारेन्ट जारी भएकाले बेलायती नागरिककै राहदानीमा बेलायत जान खोजेको हुँ । मेरो बोर्डिङ चेकका समय ती बेलायती महिला नपुगेकी भए । शायद म बेलायत जान पाउँथे भन्ने अहिले पनि लाग्छ । त्यो घटना पनि मेरो बिर्सन नसक्ने घटना नै हो ।’
चेन्नई विमानस्थलबाट पक्राउ परेका गजुरेललाई राहदानी नक्कली बनाएको अभियोगमा चेन्नईको जेलमा तीन वर्ष तीन महिना बसे । त्यसपछि पनि उनलाई भारतीय प्रहरीले आतङ्ककारीको मुद्दामा सिलिगुढी जेलमा ल्यायो । त्यही मुद्दामा भारतीय प्रहरीले मोहन वैद्य किरणलाई पनि जेल हालेको थियो । उनीहरू भारतीय जेलमै हुँदा यता माओवादी शान्ति सम्झौतापछि अन्तरिम सरकारमा सहभागी भइसकेका थिए ।
त्यसैले कतिपयले पार्टीभित्रका ‘हार्डलाइनर’ भनेर चिनिएका वैद्य भारतमा पक्राउ परेपछि प्रचण्ड र बाबुरामलाई शान्ति प्रक्रियामा आउन सहज भएको तर्क गर्छन् । वैद्यले भने युद्धविराम गरेर प्रचण्ड र बाबुरामले जनतालाई धोका दिएको आरोप लगाउँदै आएका छन् । युद्धकै बलमा संविधान निर्माण र गणतन्त्र स्थापना भए पनि कतिपय जनताको मूलभूत अधिकार अझै स्थापित हुन नसकेको गजुरेलको ठम्याइ छ । – यो अन्तवार्ता शिलापत्रका लागि कृष्णसिहं लोथ्यालले लिएका हुन् ।
कमेन्ट गर्नुहोस !