गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को दबाब


पेरिस । अक्टोबरमा हमासको आक्रमणपछि प्यालेस्टाइनी भूभागमा इजरायलले बमबारी जारी राखेकाले ‘युद्धविरामका लागि काम गर्न’ उनीहरूलाई मानवीय सहायताका लागि युद्धविराम’को आहृवान गरिएको छ । फ्रान्सले गाजाका लागि मानवीय सहायतासम्बन्धी एक सम्मेलनको आयोजना गरी आहृवान गरेको हो ।
राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसमा प्रतिनिधिहरूलाई भन्नुभयो, ‘तत्कालका लागि हामीले नागरिकको सुरक्षाका लागि काम गर्न आवश्यक छ । यसका लागि हामीले चाँडै मानवीय सहायताको आवश्यकता छ र हामीले युद्धविरामको दिशामा काम गर्नैपर्छ ।’
हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा बढीको मृत्यु भएको र करिब २७ हजारभन्दा बढी घाइते भएको जनाएको छ ।
गत अक्टोबर ७ मा गाजाबाट इजरायल प्रवेश गरेका हमास लडाकु समूहले एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै करिब २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन् । प्रतिक्रियामा हमासलाई नष्ट गर्ने प्रतीज्ञा गर्दै इजरायलले ठूलो, निरन्तर बमबारी र आक्रमणका साथ जवाफी हमला गर्दै आएको छ । दसौँ हजार सर्वसाधारण गाजापट्टीको दक्षिणतर्फ भागेका छन् ।
गाजाको नागरिक मामिला हेर्ने इजरायली सैन्य अधिकारी मोशे टेट्रोले बिहीबार भन्नुभयो, ‘गाजापट्टीको नागरिक अवस्था सजिलो छैन तर राज्यले कुनै मानवीय संकट देखेको छैन ।’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार ‘हाम्रा बन्धकहरूको रिहाइबिना युद्धविराम हुन नसक्ने’ बताउनुभएको छ । म्याक्रोले भन्नुभयो, ‘लडाइँ जारी रहँदा दिन प्रतिदिन मानवीय अवस्था झन् झन् बिग्रँदै गएको छ ।’ नोभेम्बर १० र ११ मा हुने वार्षिक पेरिस शान्ति मञ्चको अवसरमा बिहीबारको सहायता सम्मेलन आयोजना गरिएको थियो ।
धेरै युरोपेली देशहरू, इजिप्ट र प्यालेस्टिनी प्रतिनिधिहरू र धेरै सहायता समूहहरूको सहभागिता भए तापनि अरब संसारका कुनै पनि सरकार प्रमुखहरू उपस्थित भएनन् । रासस/एएफपी ।
कमेन्ट गर्नुहोस !