आज हरिबोधनी एकादशी पर्व मनाइदै

काठमाण्डौं ।आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको आज विवाह गरिदिने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु आज ब्युँझने भएकाले आजकोे एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता मांगलिक कार्य गर्न नहुने मान्यता छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।
तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिँगो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भन्ने धारणा रहेको छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधिको रुपमा लिइन्छ ।
आज काठमाडौं उपत्यकाका चारनारायण ९भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण० स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । देवघाट धाम, गैँडाकोटको नारायणी नदिको किनार, त्रिवेणीधाममा ,अर्घाखाँचीको सन्धिखर्कको त्रिवेणी धाममा आज स्नान गर्नेको घुँइचो लाग्दैछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close