गरिबीको गहिराइ

दिपक महत

समय हिँडिरहन्छ। समय हिँडेपछि तपाईं बस्नुहुन्न। हिँडेपछि गन्तव्य पुग्न पनि सकिन्छ, नपुग्न पनि। पुग्नु वा नपुग्नुले मान्छेमा आशा र निराशाको भाव बोकाइदिन्छ। आशा तपाईंमा भयो भने खुसी बोकेर जिन्दगीमा तपाईं हिँड्नुहुन्छ।

निराश बोक्नुभयो भने तपाईं कतै हराउनुहुन्छ, जिन्दगीबाट ठगिएको महशुस गर्दै आत्माको अवसान गर्नतर्फ समेत उद्धत बन्न सक्नुहुन्छ !

समस्याका अंशहरू जिन्दगीको वरिपरि दौडिरहन्छन्। ती कहिले सहजै पार लाग्छन्, त कहिले कठिन बनिदिन्छन्। समस्याको व्यवस्थापन सही ढंगले भए जीवन सरल हुन्छ नभए निरस।

जिन्दगी मूल रूपमा निरस गरिबीको जन्जिरमा हुन्छ, अरू तपशिल।  अधिकांश समस्याको जरो ‘आर्थिक गरिबी’ हुन्छ। जसको चित्र विरूप हुन्छ।

pokhara noodle

समाज आफैंमा विविधतायुक्त छ। यसमा रहेका सबै तत्वहरूको आफ्नै विशेषता, प्रभाव र गहिराइ छन्। त्यसमा पनि मानवीय जीवनमा उच्च महत्व राख्ने ‘आर्थिक’ फ्याक्टर बढी अर्थपरक छ। यसले समाजको सामाजिक संरचना र स्वरूपमा फेरबदल ल्याइदिएको छ।

आत्मीयतामा दरार उत्पन्न बनाइदिएको छ भने भाइचारामा मानवीय भन्दा आर्थिक क्षमताको सवाल र मूल्य चर्को बनेको छ। चर्को हुनु सामान्य भन्दा बढी हुनु हो। यसले सारमा मानवीय मूल्यलाई फिक्का बनाइदिएको छ।

व्यक्तिगत, पारिवारिक र सामाजिक रूपमा हैसियतको मापक ‘अर्थ’ बनेको छ। जसले गर्दा समाजमा विभिन्न घटनाको ग्राफ बढेको छ।

यसले सकारात्मक रूपमा प्रस्तिपर्धाको भावना जागृत गराए पनि नकारात्मक रूपमा सामाजिक जीवनमा असन्तुलन निम्त्याएको छ। जसले दिनानुदिन गरिबीकै कारण आत्महत्याको दर उल्लेख्य बढेको छ भने मानवीय जीवनको अस्तित्व  समेत स्खलित बन्ने दिशातर्फ उन्मुख छ।

यतिबेला कोभिड-१९ को विश्वव्यापी असर व्यापक बनेपछि गरिबीको आकार विस्तार भएको छ। जसले हाम्रो व्यवस्थित बनेको/बन्न खोजेको जीवनको लय रुमल्लिएको छ। वैदेशिक रोजगारबाट उकासिएको अर्थतन्त्र कोभिडको चपेटामा पर्दा देश, समाज, परिवार र व्यक्तिले चरम आर्थिक संकटको सामना गरिरहेको र गर्नुपर्ने सम्भावना झन् जीवित बनेको छ।

बाँच्नको लागि संघर्ष भनेर चार्ल्स डार्विनले सिद्धान्त प्रतिपादन गरेको पनि वर्षौं भैसक्यो। त्यसपछि पनि यसको उपादेयतामा कुनै कमी छैन। एक छाककै लागि मान्छे कतिसम्म संघर्ष गरिरहेको छ, महामारीको यस विपतमा आम मानिसहरूले राम्रैसँग अनुभूत गरिरहेकै छन्।

यतिबेला काठमाडौंलगायत देशका धेरै सडकमा आर्थिक रूपमा असहाय बनेका कैयन् नागरिकको कत्लेआम भएको छ। उनीहरूको पेटसम्म अन्न नपुग्दा जीवनयापन उजाड बनेको छ।

लाइन लागेर भोको पेटमा अन्नको दाना पुर्‍याउँदा खेपेको सास्ती र त्यसैमाथिको फोटो, भिडिओ र समाचारमा गरिबीको चित्र केही बाँकी नै नराखी उतारिँदा आत्मसम्मानमा नमेटिने चोट पुगेको छ।

हालसालै राजधानीको खुलामन्चमा देखिएको परिदृश्यले सिंगो देशका नागरिक नै भोको देखिएको प्रतीत भएको छ। स्पष्ट रूपमा आर्थिक अभावमा बाँचिरहेकाहरूको चित्र सफेद काँचमा प्रष्टिएको छ।

जब आर्थिक गरिबीले नराम्रोसँग थिच्छ, तब सबै कुरा गौण बनिदिन्छ र त मान्छे शरणार्थी भेषमा खुलामन्चमा गएर शरण लिन्छ। खुला आकाशको ओत लाग्दै धूलोमा आफ्नो शरीर समर्पण गर्दै भोकको अगाडि निरिह हुन्छ।र यो समग्र गरिबीको एक पीडादायक बिम्ब बनिदिन्छ।

कोभिड-१९ को यस विपत्तिमा नेपालीबीचको आत्मीयता अझै जीवन्त रहेको देखिएको छ, नभए भौतिक दूरी कायम राखेर सबै आफ्नो घरमै बसेको भए के हुन्थ्यो होला?

राहत जसरी भए पनि अभावबाट गुज्रिएकाहरूसम्म लैजानुपर्छ भन्ने सुविचार नभएको भए? साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन् त्यसैले त अभावको जिन्दगी जिउनेहरूको लागि उनीहरूको सहयोग वास्तविक मल्हम बनेको छ। डिप्रेसनको गह्रौ भारी केही अंशमा भए पनि मानिसको मस्तिष्कबाट टाढा पुगेको छ, नभए विजोगको कस्तो कारुणिक चित्कार देख्नुपर्थ्यो।

गरिबीको चक्र जेलिएको छ। यसको प्रभावित आयाम व्यापक भएकोले नै मानिसका तमाम चाहना र इच्छामा बन्देजको बार लागेको छ। स्वाभिमानको शिरमा धमिलो छायाको लेपले छोपिदिएको छ। प्रेरणाको मुहानलाई सहजै फुट्न नदिई साह्रो बनाइदिएको छ। बालक स्वतन्त्र बनेर रमाउन सकेको छैन।युवालाई खोज र अनुसन्धानमा भन्दा पनि मानसिक तनावमा धकेलेको छ भने वृद्धवृद्धाको बाँकी जीवनलाई बोझिलो बनाइदिएको छ।

यतिबेला स्वदेशी तथा विदेशी उद्योग कलकारखाना, विभिन्न कार्यालयहरू बन्द भई थुप्रैका रोजगारी गुमिरहेका छन्। आर्थिक विकासका क्रियाकलाप ठप्प भई जनता प्रत्यक्ष रूपमा प्रभावित छन्।

उत्पादित कृषि तथा दैनिक उपभोग्य वस्तुले बजार नपाउँदा किसान निराश छन्। स्वास्थ्य सेवाभन्दा व्यवसायिक भई बिरामीले उपचारमा सास्ती खेपिरहेका छन्। दैनिक अत्यावश्यक खाद्यान्न किन्न सक्ने सामार्थ्य गुमेको छ। लक्षित वर्गले अनेक झन्झटका कारण राहतको लाभ लिन सकिरहेका छैनन्। यी व्याप्त समस्याले झन् गरिबी जर्जर बनेको छ।

गरिबीको गहिराइ सरकारले नाप्न सक्नुपर्छ नभए यसको प्रभावले धेरैको जीवनलाई भत्काइदिन्छ सँगै यसका बहुआयामिक असर झनै चुलिन्छन्। विगतको तथ्यांकले नेपालमा गरिबीको प्रतिशत घटाएको देखाए पनि कोभिड सँगको हालको संघर्षले गरिबी धेरै उकालो हिँडिसकेको छ।

त्यसैले गरिबीको गहिराइलाई थप गहिरो नबनाई सही रूपमा व्यवस्थापन गर्न सरोकार पक्षले यो भन्दा कारुणिक चित्र हेर्ने दुस्साहस समयमै त्याग्नुपर्छ।

सेतोपाटीबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close