नेकपाको खुट्टा दुइटा डुंगामा

काठमाडौँ — संसद् सचिवालयमा बिहीबार नेकपाको दुई खेमाका स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र घनश्याम भुसालबीच संवाद चल्यो । निर्वाचन आयोगले निर्णय नगरिदिँदा विभाजनको औपचारिक चरणमा प्रवेश नगरिसकेको नेकपा जुटाउने उपाय खोज्दै पोखरेल र भुसालबीच यसअघि पनि बारम्बार छलफल भइरहेका थिए ।भुसाल–पोखरेलको भेटलगत्तै बिहीबारै संसद् सचिवालयमा अर्को दृश्य देखियो– देव गुरुङसहितका नेताहरूले नेकपा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाइएको निवेदन सचिवालयमा दर्ता गरे । संसद् सचिवालयमा एकै दिन देखिएका यी दुई फरक दृश्य नेकपाको दुवै खेमाभित्रको तात्कालिक परिस्थिति हो । दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरूलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।

दाहाल–नेपालले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने जानकारी बुधबारको केन्द्रीय कमिटी बैठकमा दिइसकेका छन् । ‘बैठकमा नेकपा एकताबद्ध राख्ने विषयमा केही सम्भावना छ कि भन्ने कुरा उठेको थियो,’ एक केन्द्रीय कमिटी सदस्यले कान्तिपुरसँग भने, ‘तर माधव कमरेडले त्यो सम्भावना छैन । अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो भन्नुभयो । त्यसैले कतिपय साथीहरूले एकताको कुरा गरे पनि त्यो मैले सम्भव देख्दिनँ ।’

दोस्रो पुस्ताका नेताहरूले पार्टीलाई एकताबद्ध राख्न पर्दापछाडि गरेको पहल भने देखिएको दृश्यभन्दा अलि फरक छ तर अहिलेसम्म पहलभन्दा अगाडि बढ्न सकेको छैन । बिहीबार बिहान प्रधानमन्त्री ओली, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ र शंकर पोखरेलबीच बालुवाटारमा भलाकुसारी भयो । भेटमा स्थायी कमिटी सदस्य पोखरेलले नेतृत्वको विकल्प खोजेर पार्टीलाई एकताबद्ध बनाउन सकिने प्रस्ताव अर्को पक्षका नेता घनश्याम भुसालले गरेको जानकारी प्रधानमन्त्रीलाई गराए ।

प्रधानमन्त्रीले आफू त्यसका लागि तयार रहेको भन्दै छलफल अघि बढाउन संकेत गरे । ‘प्रधानमन्त्रीले पोजिटिभ ढंगले प्रस्ताव आएको हो भने ठीक छ भन्नुभएको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘तर उहाँले म यथार्थ थाहा पाउँछु, यो प्रयासले त्यति काम लाग्दैन है पनि भन्नुभएको छ किनभने एकताबद्ध हुने कुनै उपाय छन् कि भनेर छलफल चलिरहँदा उहाँहरूको नेतृत्वले त कारबाहीको डन्डा चलायो नि ।’

यद्यपि प्रधानमन्त्रीले सकारात्मक संकेत गरेपछि स्थायी कमिटी सदस्य पोखरेल र भुसालबीच दिउँसो भेटघाट भयो । संसद् सचिवालय सिंहदरबारमा झन्डै ४५ मिनेट चलेको छलफलमा पार्टी एकताका आधारहरूका बारेमा समेत कुराकानी भयो । छलफलमा भुसालले प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको अध्यक्षमण्डल बनाउने र उनीहरूलाई पालैपालो अध्यक्षता गर्न दिने गरी सहमतिको खाका कोर्ने पहिलो प्रस्ताव गरे । उनले अहिलेको सचिवालय भंग गर्ने, स्थायी कमिटीमा रहेका एक्टिभ सदस्यहरू रहेको सचिवालय बनाउने र सचिवालयले अबको व्यवस्थापकीय मार्गचित्र कोर्ने गरी अघि बढ्ने प्रस्ताव गरे । ओलीलाई सहमतिमै राजीनामा गराएर सबैलाई मान्य हुने नेकपाभित्रकै नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने विषयमा भुसाल र पोखरेलबीच छलफल चलेको थियो । भुसालको प्रस्तावमा पोखरेलले पनि सहमति जनाएको उनीहरू सम्बद्ध स्रोतको भनाइ छ ।

भुसालले आफूहरू कसरी पार्टी एकताबद्ध हुन्छ भनेर छलफलकै क्रममा रहेको र पार्टी एक हुन्छ भन्नेमा विश्वस्त रहेको बताए । ‘दुईवटा पार्टीको एकता र चुनावमा विजय कम्युनिस्ट पार्टीका लागि ऐतिहासिक उपलब्धि हुन् । यसलाई जोगाउनुपर्थ्यो, पहिलो पुस्ताले यसमा यथेष्ट उपलब्धि हासिल गर्न सकेन । त्यसैले हामी स्वतः लाग्नुपर्थ्यो, लागिरहेका छौं,’ उनले भने, ‘सदस्य, समर्थक, शुभचिन्तक कार्यकर्ता लाखौंको संख्यामा एकताबद्ध छन् । त्यसलाई सांगठनिक हिसाबले हामीले बाटो खोलिदिनुपर्नेछ । हामीले त्यही गर्दै छौं ।’ संसद् विघटनबारे अदालतको फैसलापछि त्यो जनमत अझ बढेको बताउँदै उनले एकताका विपक्षमा यता वा उता गर्ने नेताभन्दा एकताका पक्षमा रहेका कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उसो त ओलीपक्षीय केही सांसदले पनि बिहीबार बिहानै स्थायी कमिटी सदस्य पोखरेललाई भेटेर एकताका पक्षमा पहल गर्न आग्रह गरेका थिए । उनीहरूले पार्टीमा बरु नेतृत्वको विकल्प खोज्न तर कम्युनिस्ट आन्दोलन नै तहसनहस हुने गरी विभाजनको बाटोमा नजान पोखरेललाई सुझाव दिएका थिए । ‘हामी एकताकै पक्षमा छौं, अहिले सबै भताभुंग गर्दा कम्युनिस्ट आन्दोलनको उपलब्धि सबै गुम्न सक्छ,’ पोखरेललाई भेट्न गएकामध्येका सांसद नवराज सिलवालले भने, ‘हामी मिहिन ढंगले छलफल गरेरै अघि बढ्नुपर्छ तर आन्दोलनलाई मर्न दिनु हुँदैन भन्ने हाम्रो कुरा हो । बरु विभिन्न विकल्पमा छलफल चलाऔं भनेका छौं ।’

दुवै पक्षका ८० जनाभन्दा बढी सांसद पार्टीको नेतृत्व परिवर्तन गर्ने तर एकताबद्ध भएर अघि बढ्नुपर्ने पक्षमा देखिएको स्रोतको भनाइ छ । तर आफ्नै नेतृत्व एकताभन्दा कांग्रेससँग सहकार्य गर्ने लाइनमा अघि बढेपछि नेतृत्व र नेताहरूका बीचमा तालमेल भइरहेको छैन । स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिले पार्टी एकताभन्दा पनि जनप्रतिनिधिले स्वतन्त्र रूपमा मूल्यांकन गरेर निष्पक्ष निचोड निकाल्ने बेला भएको प्रतिक्रिया दिए । ‘सांसदहरूको तानातान हुन थालेको र खरिद–बिक्रीसम्मको खेल हुन थालेको कुराले अलिकति प्रभाव पारेको हो,’ उनले कान्तिपुरसँग भने, ‘मैले जनप्रतिनिधिसँग पनि छलफल गरिरहेको छु, छलफलका आधारमा दुई–तीन दिनभित्रमा पार्टीलाई सुझाव दिन्छु तर एकताको कुरा शुभेच्छाका रूपमा उठे पनि संवादकै चरणमा भने अघि बढेको छैन ।’

एकताको माहोल बनाउन दौडधुप गरिरहेका भुसाल र शर्माबीच पनि बिहीबार साँझ छलफल चलेको थियो । भुसालले एकताका लागि दोस्रो तहका नेताहरूले नेतृत्व लिनुपर्ने बताएका थिए । उनीहरूको ब्रिफिङ सुनेका अर्का एक नेताका अनुसार जवाफमा शर्माले सुरुमा नेतृत्वका राय बुझ्नुपर्ने धारणा राखेका थिए । अध्यक्ष दाहाल र नेपाल अहिले अर्को समूहसँग एकता गरेर अघि बढ्नेभन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने र ओलीलाई अविश्वास प्रस्ताव ल्याएर हटाउनुपर्ने पक्षमा छन् । दाहाल–नेपालसँगको संवाद सकारात्मक रूपमा अघि बढेपछि सभापति देउवाले आफ्नो पार्टीको पदाधिकारी बैठकमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रस्ताव पनि गरेका थिए तर वरिष्ठ नेता रामचन्द्र पौडेलको असहमतिपछि उक्त प्रस्तावमा निर्णय भइसकेको छैन ।

कांग्रेसले अविश्वासको प्रस्ताव ल्याइहाल्यो भने नेकपाको दाहाल–नेपाल खेमा उसैलाई सहयोग गर्न अघि सरिहाल्छ, एकताको कुरा लगभग सकिन्छ । गत पुस ५ मा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि छिन्नभिन्न बनेको नेकपा बचाउनका लागि भन्दै दोस्रो पुस्ताका नेताहरूबीच बारम्बार छलफल चलेको थियो । पोखरेल, भुसाल, वर्षमान पुन, योगेश भट्टराईलगायतले धेरै पटक कुराकानी गरेका भए पनि उपाय पहिल्याउन भने सकेनन् । प्रतिनिधिसभा पुनःस्थापित भएपछि फेरि उनीहरूबीच संवाद सुरु भयो, त्यसको नेतृत्व भुसालले नै गरेका छन् । यो बीचमा उनले दुवै पक्षका सांसद, एकताको पक्षमै रहेका नेता वामदेव गौतम र पार्टीका शीर्ष नेताहरूसँग पटकपटक छलफल चलाइसकेका छन् ।

यही सन्दर्भमा भुसाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङबीच धेरै पटक भलाकुसारी भएको छ । नेम्वाङले पार्टी एकताका पक्षमा सकारात्मक पहल भए पनि त्यसको निचोड ननिस्किएको बताए । ‘एकातिर सकारात्मक प्रयास पनि छन्, त्यसलाई भत्काउनेहरू पनि छन्, सकेसम्म एकता जोगाउनुपर्छ भनेरै हामीले छलफल गरेका हौं,’ नेम्वाङले भने, ‘छलफल गर्दा यसो हुन्छ कि त्यसो हुन्छ कि भनेर विभिन्न विकल्पमा कुराकानी चलेको छ तर निचोडमा पुगेका छैनौं ।’

हुन त यसअघि चिनियाँ पक्षले समेत नेकपा एकीकरणका लागि पहल गरेको थियो । गत साता दुवै पक्षलाई एकै ठाउँमा राखेर संवाद गर्ने तयारीसमेत चिनियाँ पक्षको थियो । छलफलका लागि ओली पक्षबाट ईश्वर पोखरेलसहितका नेता र दाहाल–नेपाल पक्षबाट योगेश भट्टराईसहितका नेताहरूलाई बोलाइएको पनि थियो । तर ओलीले आफ्नो पक्षमा बहुमत सांसद रहेको आकलन गरेसँगै उक्त संवाद अघि नबढाउन नेताहरूलाई भनेपछि त्यतिखेर एकताका लागि संवाद र पहल गर्ने कुरा रोकिएको थियो तर बिहीबारदेखि यो प्रसंग फेरि उप्किएको छ ।कान्तिपुर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close