माओवादी केन्द्रका चार सांसदले दल छाडेको सूचना संसदीय दलमा

माओवादी केन्द्रले आफ्ना चारजना सांसदले पार्टी र दल त्याग गरी एमाले प्रवेश गरेको बारेमा संघीय संसद् सचिवालयमा जानकारी गराएको छ । यससँगै माओवादी केन्द्रबाट निर्वाचित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद खोसिने भएको छ ।

‘दल त्याग गरेको सूचना संसद् सचिवालयमा आइपुगेको छ । अब सूचना टाँसेपछि वा सभामुखले सदनमा जानकारी गराएपछि पद रिक्त हुन्छ,’ संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने । संसद् सचिवालयलाई पठाएको पत्रमा माओवादीले रायमाझी, भट्ट, साह र चौधरीले राजनीतिक दलसम्बन्धी ऐनको ‘दल त्याग गर्न नहुने’ सम्बन्धी प्रावधान उल्लंघन गरेको उल्लेख छ ।

‘टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा र राजनीतिक दलको प्रतिनिधित्व गर्नुपर्नेमा अन्य दल नेकपा (एमाले)को राजनीतिक गतिविधिमा संलग्न भई उक्त पार्टीको केन्द्रीय कमिटी पद स्वीकार गरी यस दलको विधान तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानीजानी उल्लंघन गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ (१) (ख) प्रतिकूल हुने गरी यस दल नेकपा माओवादी केन्द्र त्याग गरिएको देखिएको छ,’ सचिवालयलाई पठाइएको पत्रमा भनिएको छ ।

दल त्याग गरेको विषयमा चारैजना सांसदलाई स्पष्टीकरण सोध्दा रायमाझी, भट्ट र चौधरीले तोकिएको समयभित्र स्पष्टीकरण नदिएको माओवादीले जनाएको छ । त्यस्तै, साहले चित्तबुझ्दो स्पष्टीकरण नदिएको पत्रमा उल्लेख छ । आफ्ना सांसदहरूले दल त्यागेपछि राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ अनुसार माओवादीले संसद् सचिवालयलाई जानकारी गराएको हो ।

ऐनको दफा ३४ ले सांसद पद रिक्तताको प्रक्रियाबारे बताएको छ । ‘संघीय संसद् वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले यस ऐनबमोजिम दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनुपर्नेछ,’ दफा ३४ (१) मा व्यवस्था गरिएको छ । सूचना प्राप्त भएपछि संघीय संसद् वा प्रदेश सभा सचिवालयले त्यस्तो सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षसमक्ष पेस गर्नेछ ।नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close