अर्बपतिको लिस्टमा थपिए चार सय ९३ जना

कोरोना महामारीबीच पनि सन् २०२० मा विश्वमा चार सय ९३ जना अर्बपछि थपिएका छन् । कोरोना भाइरस महामारीका रूपमा फैलिँदा विश्वका कैयौँ व्यापारीको उद्योग व्यापार चौपट बने पनि कतिपय व्यापारीलाई भने यो वर्ष फलिफाप बनेको छ । गत वर्ष व्यापारीहरूले आठ अर्ब डलर सम्पत्ति थपेका छन् ।

अमेरिकाको चर्चित म्यागजिन फोब्र्सले बुधबार सार्वजनिक गरेको विश्वकै धनीहरूको लिस्टअनुसार चार सय ९३ जना सदस्य थपिएका हुन् । फोबर्सले प्रत्येक १७ घन्टामा विश्वमा एकजना अर्बपति बन्ने गरेको तथ्य सार्वजनिक पनि गरेको छ । यसपटक चीनमा सर्वाधिक दुई सय १० तथा हङकङमा ९८ जना नयाँ अर्बपति थपिएका छन् ।

फोब्र्सले दुई हजार दुई सय ५५ जना अर्बपतिको सूची सार्वजनिक गर्दा इ–कर्मस अमेजोनका मालिक जेफ बेजोस लगातार चौथोपटक विश्वकै धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति एक सय ७७ विलियन डलर रहेको छ । गत वर्ष बेजोस ६४ अर्ब डलर आर्जन गरेको फोबर्सले जनाएको छ ।

विश्व चर्चित कार उत्पादक टेस्लाका मालिक एलन मस्क दोस्रो स्थानमा छन् । उनको सम्पत्ति एक सय ५१ अर्ब डलर रहेको छ । गत वर्ष उनी ३१औँ स्थानमा थिए । अर्बपतिको सूचीमा लामो छलाङ मार्नेमा मस्क पर्छन् । यसैगरी वर्नान्ड अर्नाउल्ट तेस्रो स्थानमा छन् । उनले एक सय ५० अर्ब डलर आर्जन गरे । पेरिस निवासी अर्नाउल्टले लक्जरियस गुड्स बिक्री गर्छन् । यसैगरी माइक्रोसफ्टका मालिक बिल गेट्स चौथो स्थानमा सीमित हुँदा एक सय २४ अर्ब डलर कमाएका छन् ।

जुकरबर्ग पाँचौँ स्थानमा
फेसबुकका संस्थापक मार्क जुकरबर्ग ९७ अर्ब डलरका साथ पाँचौँ स्थानमा छन् । गुकरबर्गले गत वर्ष सामाजिक सञ्जाल फेसबुकबाट ४२.३ अर्ब डलर आर्जन गरेका थिए । यस्तै वारेन्ट बफेटले ९६ अर्ब डलर कमाउँदै छैटौैँ स्थान पक्का गरेका छन् । सफ्टवेयर कम्पनीका मालिक लारी इलिसन सातौँ स्थानमा छन् । यस्तै गुगुलका मालिक लारी पेज आठौँ स्थानमा छन् । उनको सम्पत्ति ९१.५ अर्ब डलर रहेको छ । गुगुलकै सेर्गेय ब्रिन ८९ अर्ब डलरका साथ नवौँ स्थान छन् । भारतका रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी शीर्ष दश स्थानमा समावेश भएका छन् । मुकेशले ८४.४ अर्ब डलर आर्जन गरेका छन् ।

भारतका मात्रै १४० जना अर्बपति
अर्बपतिहरूको लिस्टमा सबैभन्दा धेरै अमेरिकाका व्यापारी छन् । अमेरिकाबाट मात्रै सात सय २४ जना अर्बपति बनेका छन् । यसपछि चीन दोस्रो स्थानमा छ । चीनमा ६ सय ९८ जना अर्बपति रहेको फोबर्सले जनाएको छ । दक्षिण एसियाली देश भारतबाट पनि एक सय ४० जना अर्बपति बनेको फोबर्सले उल्लेख गरेको छ ।

ट्रम्प तीन सय स्थान तल झरे
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अर्बपतिको सूचीमा एकैपटक तीन सय स्थान तल झरेका छन् । कोरोना भाइरसका कारण ट्रम्पको व्यवसायमाथि नराम्रो असर परेका कारण उनी यसपटक १२ सय ९९औँ स्थानमा पुगेका छन् । चार वर्षअघि ४५औँ अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिँदा ट्रम्पसँग तीन अर्ब डलर थियो । अहिले उनीसँग २.४ अर्ब डलर मात्र रहेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close