भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन

नयाँ दिल्ली । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव देखिन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ ।

खासगरी उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा दिनदिनै चिन्ताजनक अवस्था बढ्दो छ । भोपालका केही संगठनका अनुसार राजधानीमा ‘ग्यास त्रासदी’पछि पहिलो पटक यस्तो स्थिति देखिएको छ ।
पत्रकार समीरात्मज मिश्रका अनुसार उत्तर प्रदेशका जे परिदृश्य देखिएको छ, सरकारको दावी र तथ्याङ्कभन्दा निकै भिन्न छ । कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि उनीहरुको परिवारले टोकन लिएर घाटमा आठदेखि दश घण्टासम्म प्रतीक्षा गर्नु परिरहेको छ ।

दिनभर जलाइन्छ लाश

लखनउको बैकुण्ठ धाम विद्युत शवदाह गृहमा दैनिक करिब २५ शवको अन्तिम संस्कार भइरहेको छ । शवदाह गृहका एक कर्मचारी मुन्ना सिंहका अनुसार एउटा शवको अन्तिम संस्कारमा करिब ४५ मिनेट समय लाग्छ । उक्त शवदाह गृहमा दिनभर शवको अन्तिम संस्कार भइरहेको उनले बीबीसीलाई बताएका छन् ।

तर, सरकारी तथ्यांकअनुसार अप्रिल महिनामा लखनउमा दैनिक औसत पाँचदेखि आठजनाको मृत्यु भएको देखिन्छ । यद्यपि, बैकुण्ठ धाम शवदाह गृहमा कोभिड प्रोटोकलअनुसार दैनिक २० भन्दा बढी शवको अन्तिम संस्कार भइरहेको छ । यस अतिरिक्त केही अन्य घाटमा पनि शवको अन्तिम संस्कार हुने गर्दछ । तर कोभिड संक्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार भने बैकुण्ठ धाममै हुने गर्दछ ।

मुन्ना सिंह भन्छन्, ‘होलीपछि यो संख्या लगातार बढ्दै गएको छ, अधिकांश शव केजीएमयु अस्पतालबाट आइरहेको छ, जसको अन्तिम संस्कार बिहान तीनदेखि चार बजेसम्म गरिन्छ ।’

सरकारी तथ्याँक कति सही ?

बैकुण्ठ धाम घाटको बाहिर शवको लाइन लागेको छ । बैकुण्ठ धाम शवदाह गृह बाहिर पुगेका राजेन्द्र नायकका अनुसार एउटा एम्बुलेन्समा तीन वटासम्म शव ल्याइएको देखिन्छ । त्यहाँ घण्टौंसम्म एम्बुलेन्सको लाइन लाग्ने गरेको उनले बताए । मुख्य चिकित्सा अधिकारीको कार्यालयबाट जारी तथ्यांकअनुसार लखनउमा विगत तीन दिनमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ । जबकि घाटमा कोरोना पोजेटिभबाट मृत्यु भएका ६० जनाको अन्तिम संस्कार गरिएको छ ।

लखनउको अपर नगर आयुक्त अमितकुमार भन्छन्, ‘हामीसँग दुईवटा घाटमा तीनवटा मेसिन छन्, गुल्लारा घाटमा एउटा मेसिन छ भने बैकुण्ठ धाममा दुई मेसिन छन् । संख्या बढेका कारण दुई–तीन घण्टा प्रतीक्षा गर्नुपर्ने अवस्था छ । बैकुण्ठ धाम नजिक भएका कारण धेरैजसो यही घाटमा आउने गर्दछन्, गुल्लारा घाटमा भिड धेरै छैन । धेरैबेर प्रतीक्षा गर्नु नपरोस् भनेर हामी कोशिस गरिरहेका छौं ।’

भोपालमा चिन्ताजनक अवस्था

पत्रकार शुरैह नियाजीका अनुसार मध्य प्रदेशको स्थिति बिग्रिँदै गएको छ । शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ । राजधानी भोपालको भदभदा विश्राम घाटमा बिहीबार कोरोनाका कारण मृत्यु भएका ३१ जनाको अन्तिम संस्कार गरिएको थियो । यो घाटमा अन्य कारणले मृत्यु भएकाहरुको शव पनि अन्त्येष्टिका लागि ल्याउने गरिन्छ ।

अन्तिम संस्कारका लागि २ घण्टासम्म प्रतीक्षा गर्नु परेको छ । भोपालमा अन्य घाटमा अन्तिम संस्कारका लागि कमै पठाउने गरिएको छ । भदभदा घाटका प्रबन्धक लाड सिंह सेनले जनाएअनुसार स्थिति लगातार बिग्रिँदै गइरहेको छ । स्थितिलाई थप बिग्रन नदिनका लागि एकै समय कयौं शव जलाउने गरिएको उनले बताए । निर्धारित स्थानभन्दा बाहेक अन्यत्र पनि अन्तिम संस्कार भइरहेको उनको भनाइ छ ।

व्यवस्थापनमा प्रश्न


भदभदा घाटमा बिहीबार भोपालका १३ कोभिड संक्रमितका अतिरिक्त आसपासका जिल्लाका १८ जनाको अन्तिम संस्कार गरिएको छ । सुभाषनगर विश्राम घाटमा पाँच संक्रमितको दाह संस्कार गरिएको छ । पाँच अन्य शवलाई झदा कब्रिस्थानमा अन्त्येष्टि गरिएको छ । यसरी बिहीबार कुल ४१ शवको अन्तिम संस्कार गरिएको छ । यसमा एक आठ महिनाको बालिका पनि सामेल छिन्, जसको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो ।

बेवारिस शवको अन्तिम संस्कार गर्ने संस्था ‘जन संवेदना’ का राधेश्याम अग्रवाल पनि घाटको स्थिति भयावह बन्दै गएको बताउँछन् । उनका अनुसार घाटमा अन्तिम संस्कारका लागि अतिरिक्त ठाउँ बनाउनु परेको छ । उनले भने, ‘हामी जुन स्थितिबाट गुज्रिरहेका छौं, यसमा विद्युतीय शवदाह गृहको ठुलो आवश्यकता छ । तर तयार भइसकेको अवस्थामा पनि सरकारले यसलाई चलाउन सकेको छैन ।’

अग्रवालका अनुसार परिवारमा मृत्युपछि आर्थिक संकटका कारण अन्तिम संस्कार गर्न असमर्थ हुनेहरुको संख्या पनि बढ्दो छ । उनीहरुलाई आफ्नो संस्थाले मद्दत गर्दै आएको उनले बताए ।एन्जेसी

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close