विद्यालय बन्दको जिम्मा पालिकालाई

काठमाडौँ — संक्रमण फैलिए विद्यालय बन्द वा खुला राख्ने निर्णय सम्बन्धित स्थानीय तहले गर्ने भएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको हो ।स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनःसञ्चालन कार्यढाँचा २०७७ अनुसार पालिकाले जोखिमको प्रकृतिअनुसार विद्यालय बन्दको निर्णय गर्ने सक्ने जनाए । काठमाडौं महानगरपालिकाले भने स्वास्थ्य मन्त्रालयको सुझावपछि शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएका विद्यालयले कम्तीमा एक साता पठनपाठन बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द रहे पनि बालबालिकाको सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए । त्यसका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार अनलाइन, रेडियो, टेलिभिजनलगायत वैकल्पिक माध्यमबाट पठनपाठन गर्न आग्रह गरिएको उनको भनाइ छ । विद्यार्थी संख्या धेरै भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न मन्त्रालयले सुझाव दिएको छ ।

शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न र विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी कार्यढाँचा पालना गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयमा शुक्रबार आयोजित बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने बताए ।

उनले नै डीसीएमसी र पालिकालाई विद्यालय बन्द गर्न सक्ने अधिकार दिइएको जानकारी गराएका थिए । विद्यालय जाने उमेर समूहका बालबालिका बढी संक्रमित रहेकामा मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो । गतवर्ष कोरोना महामारीमा देशभरका विद्यालय एकैपटक बन्द गर्दा र खोल्दा अव्यावहारिक भएको भन्दै सरकारको आलोचना भएको थियो । गत महिना वायु प्रदूषणका कारण ४ दिन देशभरका विद्यालय बन्द गर्दा स्थानीय तहहरूले अवज्ञा गरेका थिए । फेरि देशभरका विद्यालय बन्द गर्दा विरोध हुने आकलन मन्त्रालयका अधिकारीहरूले गरेका छन् ।सीसीएमसी वा मन्त्रिपरिषद्बाटै थप निर्णय र निर्देशन नभएसम्म मन्त्रालयले विद्यालय बन्दको निर्णय लिन नसक्ने प्रवक्ता शर्माले जनाए । सञ्चालनमा रहेका विद्यालयले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उनले बताए । ‘शिक्षण संस्थाहरूमा मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्ने, साबुनपानीले हात धुने र कसैमा संक्रमणको लक्षण पाइए तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनुपर्छ,’ उनले थपे । बन्द भएका विद्यालय पुनःसञ्चालन गर्दासमेत स्वास्थ्यसम्बन्धी मापदण्डलाई ध्यान दिनुपर्ने उनले जनाए ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले संक्रमणको दर हेरेर विद्यालय खोल्ने र बन्द गर्ने निर्णय लिँदा उपर्युक्त हुने बताए । ‘अहिले कोरोना संक्रमणले जटिल अवस्था आएको छ, अलमल पनि त्यस्तै छ,’ उनले भने, ‘संक्रमित नै भेटिएका ठाउँमा विद्यालय बन्द गराउँदा जोखिम घटाउन सकिन्छ, तर संक्रमण कम भएका स्थानमा विद्यालय बन्द गर्नुपर्ने कुनै कारण छैन ।’ उच्च जोखिममा रहेका सहरी क्षेत्रमा ६ कक्षासम्मको पठनपाठन बन्द गरेर अन्य कक्षा सञ्चालन गर्न सकिने उनले बताए । ‘६ कक्षाभन्दा मुनिका बालबालिकालाई धेरै कुरा थाहा पनि हुँदैन, स्वास्थ्य मापदण्ड पूरा गर्न पनि सक्दैनन्,’ डा. दीक्षितले थपे, ‘त्यो भन्दा माथिका कक्षामा स्वास्थ्य मापदण्डमा कडाइ गरेर विद्यालय सञ्चालन गर्न सकिन्छ ।’ सञ्चालनमा रहेका विद्यालयमा पनि स्वास्थ्य मापदण्ड पालनालाई अनुगमन र निगरानी गरेर कसिलो पार्नुपर्ने उनले औंल्याए । ‘पहिलेको भन्दा अहिले देखिएको प्रजातिको कोरोना निकै संक्रामक छ, छिटो सर्छ,’ उनले भने, ‘विद्यार्थी समूहमा हुने भएकाले आपसमा सर्न सक्ने जोखिम पनि अत्यन्तै बढी छ ।’ देशभरका विद्यालय एकैपटक बन्द गराउन भने नहुने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले भने विद्यालय बन्द गर्नुपर्ने अवस्था आए वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नुपर्ने निर्णय गरेको छ । कोरोना संक्रमित नभएका शिक्षण संस्थामा पनि स्वास्थ्य मापदण्ड पालना गर्न ध्यान दिनुपर्ने महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । कतिपय अभिभावकले सहरी क्षेत्रका विद्यालय पूर्णरूपमा बन्द गर्न माग गरिरहेका छन् ।

महानगरले भने कोरोना संक्रमित भेटिएका स्कुल मात्र बन्द गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको छ । काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालन गर्दा अभिभावकको सहमति लिनुपर्ने जनाएको छ । बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि रोकथामका लागि शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ ।कान्तीपुर बाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close