दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् । अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रनाउक गिरीले बताए । शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेको थियो । बस दुर्घटनामा परी बसमा सवार सबै घाइते भएका थिए ।

सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । रासस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close