कोरोना महामारीलाई जित्ने उपायहरु

डा. रामु खरेल

महामारीको पहिलो लहरका बेला अपनाइएको सावधानी र प्रतिबन्धात्मक उपायहरुको प्रतिफल माघ–फागुनमा देखियो। संक्रमण दर निकै कम भयो। सरकारदेखि सर्वसाधारणसम्मले सावधानीका उपायहरु अपनाउन खासै चासो दिएको पाइएन।

मानौँ- महामारी सकियो जस्तो ठानियो। त्यसकै प्रभाव अहिले देखिन थालेको छ महामारीको दोस्रो लहरका रुपमा, र यो चरणको संक्रमण दर विगतको भन्दा तीव्र हुँदै गएको देखिन्छ।

महामारीको पहिलो लहरबाट सिकेको पाठ समयमै कार्यान्वयनमा लगिएन भने एक स्वास्थ्यकर्मीका रुपमा मैले अबको झण्डै दुई महिनामा संक्रमणको अवस्था ‘डरलाग्दो’ हुने देख्छु। अहिले दैनिक जति संक्रमित थपिएका छन् आधिकारिक तथ्यांकमा, त्यो भन्दा धेरै हुनु पर्छ वास्तविक संक्रमितको संख्या। परीक्षणको दायरा फराकिलो नहुँदा संक्रमित वास्तविक भन्दा कम देखिएको अनुमान सहज रुपमा लगाउन सकिन्छ, विगतको अनुभवले पनि त्यही भन्छ।

महामारी नियन्त्रणका लागि संक्रामक नियन्त्रण तथा सुरक्षाका लागि गरिने तयारी र त्यसका लागि उपलब्ध सेवासुविधाहरुको चुस्त व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्।

दोस्रो लहर विगतको भन्दा भयावह बन्न सक्छ भन्दै गर्दा हामीसँग यो चरणको संक्रमणलाई नियन्त्रणमा राख्न सक्ने सम्भावनाहरु पनि छन्।

गएको वैशाखमा जब हामी कोरोना भाइरस महामारीको पहिलो लहरमा थियौँ, त्यो बेला यसबारे खासै जानकारी थिएन। सावधानीका उपायहरुलाई लिएर स्पष्टता थिएन।

विश्वका वैज्ञानिक तथा स्वाथ्यकर्मीहरुबिचमै अन्यौलको अवस्था थियो। अहिले त्यस्तो छैन। हामीलाई कोरोना भाइरसका बारेमा धेरै कुरा थाहा भएको छ।

डा. रामु खरेल

सावधानीका उपायहरु के र कहाँ कसरी अपनाउने भन्ने धेरै हदसम्म जानकारी छ।

मास्क कसरी र कहाँ लगाउँदा संक्रमणबाट जोगिन तथा अरुलाई संक्रमण फैलिँदैन भन्ने थाहा भएको छ। खोप पनि आइसकेको छ।

बिस्तारित रुपमा खोप उपलब्ध हुने बेलासम्म हामी सचेत भइरहनु पर्छ।

तर यो बेला हामीले महामारी नियन्त्रणका उपायहरुको प्रभावकारी रुपमा लागु गरेनौँ र लत्त छाड्यौँ भने संक्रमण तथा मृत्यु दोस्रो लहरमा तीव्र रुपमा बढ्ने अनुमान लगाउन कठिन छैन।

भारतको पछिल्लो अवस्थाले हामीलाई बताउने कुरा स्पष्ट छ। भारतमा बिचमा महामारी सकियो जस्तै गरेर जनजीवन ‘सामान्य’ अवस्थाको जस्तै भयो। त्यसले संक्रमण थप बिस्तारित रुपमा फैलिन पुग्यो।

महामारीलाई जित्ने बलियो उपाय


संक्रमण जति नै भए पनि त्यसलाई परास्त गर्ने माध्यम भनेको तयारी र व्यवस्थित स्वास्थ्य सेवाले हो। यदि हामीले पहिलो लहरका जोखिमबाट सिकेको पाठ अनुसार तयारी गरेका छौँ भने अहिले संक्रमण नियन्त्रणमा लिन सकिन्छ। तर पछिल्ला घटनाक्रम र उदहारणहरुले वास्तविकता उल्टो अर्थात गएको वैशाख ताकाकै देखाउँछ।

एक वर्ष पहिले र अहिले भेन्टिलेटर, अक्सिजन तथा आइसियू बेडहरुको उपलब्धतामा खासै सुधार भएको देखिँदैन। यस्तै संक्रमण फैलिन नदिनका लागि चाहिने आइसोलेशन केन्द्रहरु पनि तयारी अवस्थामा छैनन्, वा भएका पनि प्रयोगमा आएका छैनन्।

नयाँ भेरियन्टले विगतमा थाहा भएका जोखिम समूहसँगै बालबालिका पनि खतरामा आएको देख्दा यो चरणमा सावधानी थप बलियो बनाउनु पर्ने हुन्छ। अभिभावकले आफ्ना सन्तानको ख्याल गर्ने र आफूले सावधानीका उपाय अपनाउने गरेमा बालबालिका त्यसको सिको गर्छन्। बालबालिका भनेका काँचो माटो जस्तै हुन्, राम्रोसँग सिकाउन सकियो भन्ने सावधानीका उपायहरु उनीहरुलाई सिकाउन सजिलो छ। 

विगतमा प्रयोग भएका आइशोलेशन केन्द्रहरुलाई यो लहरका लागि चाँडो भन्दा चाँडो तयारी अवस्थामा ल्याउन सक्ने सम्भावना छ, त्यसका लागि स्थानीय निकाय, प्रदेश र संघका सरोकारवाला निकाय तत्काल लाग्नु पर्छ। हामीले अहिले आकश्मिक सेवा सम्बन्धी अनुशन्धान सानो आकारको अनुसन्धान गरिरहेका छौँ।

त्यसक्रममा गएका अस्पतालहरुमा हेर्दा र त्यहाँका डाक्टर स्वास्थ्यकर्मीको कुरा सुन्दा उहाँहरु महामारी विरुद्ध लड्नका लागि मनोवैज्ञानिक रुपमा तयार हुनुहुन्छ, तर स्वास्थ्य सेवाका लागि चाहिने व्यवस्थामा भने खासै सुधार नभएको गुनासोले निकट भविष्यको अवस्था राम्रो बताउँदैन। र हामीले डर मान्नु पर्ने कारण पनि त्यहि हो।

यो महामारी सरकार, स्वास्थ्यकर्मी वा सर्वसाधारण एक्लैको होइन। हामी सबैको महामारी हो र यसबाट हुने क्षतिको मूल्य हामी सबैले व्यक्ति, परिवार, समुदाय र राष्ट्रका रुपमा एकसाथ चुकाउनु पर्छ। त्यसैले भूमिका पनि सबैले आ–आफ्नो स्थानबाट निर्वाह गर्नु पर्छ।

नागरिकको तर्फबाट मास्क लगाउने, हात धुने तथा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, जोखिम समूहका परिवार सदस्यहरुको ख्याल विशेष रुपमा गर्ने तथा भिडभाड सकेसम्म कम गर्ने गर्नु पर्छ।

स्वास्थ्यकर्मीले उपलब्ध सत्य तथ्या जानकारीहरु सर्वसाधारणहरुलाई उपलब्ध माध्यमहरुबाट प्रवाह गर्ने तथा आवश्यक परेकाहरुलाई स्वास्थ्य सेवाका लागि तयारी अवस्था रहने गर्नु पर्छ। त्यसमा स्वास्थ्यकर्मीहरु तत्पर पनि छन्। सबैभन्दा महत्वपूर्ण भूमिका नेतृत्व तथा राज्य तहको देखिन्छ। सरकारले नागरिकलाई महामारीबारे बुझाउँदै र संक्रमण नियन्त्रणका प्रयासहरु अपनाउँदै गर्दा उनीहरु नअत्तालिऊन् भन्नेमा ख्याल गर्नु पर्छ।

नेतृत्वकर्ताहरु उदाहरणका रुपमा प्रस्तुत भए भने सावधानीका उपायहरु सर्वसाधारणसम्म पुर्‍याउनु सजिलो हुन्छ। नेतृत्वले बाटो बिराउँदा त्यसको प्रभाव नकारात्मक रुपमा तल्लो तहसम्म पर्छ। बिडम्वना नै भन्नु पर्छ अहिले हामीले नेपाली नेतृत्वबाट खतराको बाटो तर्फको उदहारण देखिरहेका छौँ अधिकांश रुपमा।

मैले अमेरिकी अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्दै गर्दा स्वास्थ्य प्रणाली चुस्त भयो भने संक्रमण दर विशाल हुँदा पनि धेरै हदसम्म सेवा प्रदान गर्न सकिन्छ भन्ने अनुभव गरेको छु। तर नेतृत्व (विशेष गरि राजनीतिक तह) बाट हुने गलत क्रियाकलाप र ‘म्यासेजिङ्ग’ ले महामारीलाई कसरी भयावह बनाउँछ भन्ने अनुभव पनि गरेको छु। नेपालमा खोप तथा मास्क वा कोरोना महामारी विरुद्धका अरु प्रयासहरुलाई राजनीतिकरण नहोस्।

नयाँ भेरियन्ट र बालबालिकामा जोखिम


कोरोना भाइरस अति ‘बाठो’ प्रकारको भएकाले संक्रमण तीव्र रुपमा फैलिने नयाँ भेरियन्टहरु देखिएका छन्। आफ्नो जीवन रक्षा तथा फैलावटका लागि कोरोना भाइरसले आफ्नो स्वरुपमा परिवर्तन गर्दा नयाँ भेरियन्ट विकसित भएका छन्। नयाँ भेरियन्ट संक्रमक देखिएका छन्।

विश्वकै तथ्यांकहरु हेर्दा नयाँ भेरियन्टहरु बालबालिका तथा किशोर किशोरीमा विगतको भन्दा बढि संक्रामक देखिएका छन्। नेपालमा पनि पछिल्ला दिनहरुको तथ्यांकले त्यस्तै बताएको छ। भएका अध्ययनहरुले महामारीको पहिलो लहरमा बालबालिका त्यति जोखिममा नरहेको बताएका थिए। तर अहिले बालबालिकामै संक्रमण र जोखिम बढेको देखिन्छ।

यसको कारण नयाँ भेरिन्टको फेरिएको स्वरुप हुन सक्छ। अर्को सम्भावना, पहिले पनि बालबालिकामा संक्रमण ‘एसिम्टम्याटिक’ रुपमा रहेकाले नदेखिएको र अहिले ‘सिम्टम्याटिक’ बनेको हुन सक्छ। तर यसमा अध्ययनको खाँचो छ।

नयाँ भेरियन्टले विगतमा थाहा भएका जोखिम समूहसँगै बालबालिका पनि खतरामा आएको देख्दा यो चरणमा सावधानी थप बलियो बनाउनु पर्ने हुन्छ। अभिभावकले आफ्ना सन्तानको ख्याल गर्ने र आफूले सावधानीका उपाय अपनाउने गरेमा बालबालिका त्यसको सिको गर्छन्। बालबालिका भनेका काँचो माटो जस्तै हुन्, राम्रोसँग सिकाउन सकियो भन्ने सावधानीका उपायहरु उनीहरुलाई सिकाउन सजिलो छ। तर त्यसका लागि अभिभावकले आफू अनुशाशित भएर सोही अनुसारको व्यवहार बालबालिकालाई सिकाउनु भयो भने अहिले मात्रै नभएर भविष्यमा आउन सक्ने महामारीजन्य अवस्थाका लागि तयार गर्न सकिन्छ।

खोप हाम्रोमा आउँदै छ, अधिकांश भेरियन्टमा तयार खोपहरुले काम गरेको देखिएका छन्, जुन खुशीको कुरा हो । तर खोपमा पहिलो पहुँच धनी देशको देखिएकाले नेपाल जस्ता देशले संक्रमण विरुद्धका सावधानीलाई नै जोड दिनुको विकल्प तत्कालका लागि देखिँदैन। प्रतिबन्धात्मक उपायहरुले हामी सबैमा एक प्रकारको थकान र कहिलेसम्म भन्ने वितृष्णायुक्त प्रश्न हुनु स्वभाविक हो।

तर जीवन रक्षाका लागि अपनाउनु पर्ने सावधानीहरु हामी सबैले अपनाउनु पर्छ र सरकारले पनि जिम्मेवार बनेर नीतिगत तथा व्यवस्थापकीय रुपमा प्रस्तुत हुनु पर्ने देखिन्छ।

अन्त्यमा, एक चिकित्सकका रुपमा मेरो आग्रह खोप लगाएको भए पनि मास्क लगाउनु होला, सकेसम्म भिडभाड कम गर्नु होला, हात धुने तथा बारम्बार हात अनुहारमा नलैजानु होला । यस्तै अहिलेसम्म स्वीकृत भएका खोपहरुको गम्भीर नकारात्मक प्रभाव देखिएका छैनन्, वा भए पनि अति नै दूर्लभ छ, त्यसैले पाएका बेला निर्धक्क भएर खोप लगाउनु होला। यो महामारी हामी सबैको हो र यसले हामीसबैलाई प्रभावित गरेको छ। हाम्रो एकीकृत प्रयास र राज्यको उचित व्यवस्थापकीय जिम्मेवारीले मात्रै यसलाई जित्न सकिन्छ।      -देश सञ्चारबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close