यो स्वर्गको कथा हो ।
तर त्यो स्वर्गको कथा हैन
जहाँ पाप, धर्मको आवरणमा शासन गर्छ ।
यो त्यो स्वर्गको कथा हो,
जहाँ धर्म सदैव सुवासित रहन्छ ।
ने नाम गरेको देशबाट हिँडेको तीन दिनपछि इन्द्रावती एकाबिहानै स्वर्गको मुख्य द्वारमा पुगी । साथमा थिए, उसका तीन जना छोरीहरू मालती, नैनकला र लैला । लगातार लड्दै, चिप्लिँदै र ठक्कर खाँदै हिँडेका कारण मालती र नैनकला निकै गलेका थिए । सानी लैला इन्द्रावतीको पेटमा थिई, त्यसैले ऊ आरामले निदाइरहेकी थिई ।
स्वर्गमा त्यो दिन अबिर उत्सवको रमझम थियो ।
अबिर उत्सव स्वर्गको सबैभन्दा ठूलो उत्सव थियो । जादुमय उत्सव । त्यो दिन स्वर्गमा अचम्मअचम्मका चमत्कार हुन्थे । जस्तो आकाशमा पश्चिमबाट नीलो सूर्य उदाउँथ्यो । पानीमा केसरको सुगन्ध चढ्थ्यो । सप्तरंगी फुल्थे गुलावहरू । त्यो दिन पारिजातका पातमा खसेको शीतको थोपा मोती बन्थ्यो । र, इन्द्रकमल हावामा नाचेझैँ देखिन्थ्यो ।
रोचक कुरा, त्यो दिन स्वर्गमा कसैको पनि मृत्यु हुँदैनथ्यो ।
अबिर उत्सवको मुख्य आकर्षण थियो बेलुनजात्रा । स्वर्गका कन्याहरू त्यो दिन फूलको बेलुनमा अबिर भरेर आकाशतिर उडाउँथे । त्यसरी उडेका बेलुनहरू माथिमाथि धेरै माथि ताराहरूको छेउमा पुगेर नाच्न थाल्थे । छमछम छमछम । तल इन्द्रसरोवरमा बेलुनको मनमोहक छाया परावर्तन हुन्थ्यो । त्यही छाया हेरेर युवाहरू आकाशतिर बाण चलाउँथे । बेलुन फुट्थ्यो र त्यसबाट हिउँ झरेझैँ अबिरको वर्षा हुन्थ्यो । युगल जोडी त्यही अबिरमा नुहाउँथे र प्रणयमा निमग्न रमाउँथे ।
जतिबेला स्वर्गको आकाशबाट अबिरको वर्षा हुन्थ्यो, त्यहाँ हजारौँ इन्द्रेणीहरू उडिरहेका देखिन्थे । सूर्यास्तको समयमा त त्यो दृश्य अझ मनमोहक बन्थ्यो । त्यो दिन जसको अबिर र तीरको ऊर्जा एकाकार भएर इन्द्रेणी बन्थ्यो, त्यो जोडीको प्रेम अजर अम्मर हुने विश्वास गरिन्थ्यो ।
इन्द्रावती र उसका छोरीहरू स्वर्गको रमझम देखेर मक्ख परे ।
आमा, मलाई अबिरका इन्द्रेणीहरू टिपेर शिरफूल बनाइदिन सक्छ्यौ ?
आमा, आकाशमा उडेका अबिरका विन्दु विन्दु टिपेर मेरो निधारमा बिन्दुली टीका लगाइदिन सक्छ्यौ ? मालती र कैकेयीले आफ्नी आमालाई अनुरोध गरे ।
दिदीहरूको कुरा सुनेर पेटमा हुर्किंदै गरेकी लैला मुस्कुराई र पेटभित्रै नाच्न थाली ।
सूर्यास्त भयो । अबिर उत्सव सकियो । चन्द्रमा उदाए । त्यसपछि चौबीस घण्टाका लागि स्वर्गका सबै पुरुषहरू फलामका जब्बर मूर्तिमा फेरिए ।
बितेको एक लाख वर्षदेखि स्वर्गमा यस्तै हुँदै आइरहेको थियो ।
र, त्यो दिन पनि त्यस्तै भइरहेको थियो ।
एउटा पौराणिक प्रसंग, जब स्वर्गराज इन्द्रले छल गरेर गौतम ऋषिपत्नी अहिल्यालाई सम्भोग गरे र अहिल्याले त्यसबापत अनगिन्ती अपमान सहनुपर्यो, बदलामा उनले स्वर्गका सम्पूर्ण पुरुषहरूलाई जन्मजन्मान्तर फलामको मूर्ति बन्ने श्राप दिइन् । जुन निकै कठोर श्राप थियो । उक्त श्रापका कारण स्वर्गमा हाहाकार मच्चियो । स्वर्गराज इन्द्रलगायत त्यहाँका सम्पूर्ण पुरुषहरूको सातो उड्यो । यो श्रापका कारण स्वर्गकै सृष्टिचक्र रोकिने डर भयो । संकटबाट मुक्त हुन स्वर्गका सम्पूर्ण पुरुषहरूले कल्याणी देवीको अखण्ड प्रार्थना सुरु गरे ।
कल्याणी देवी प्रकट भइन् र भनिन्, ‘अहिल्याले दिइसकेको श्राप फिर्ता हुन सम्भव छैन । तर, त्यसलाई घटाउन सकिन्छ । जसका लागि म समस्त महिलाहरूलाई एउटा मन्त्र दिन्छु । यो मन्त्र प्रयोग गरी महिलाहरूले चाहेमा आफ्ना पुरुष, पिता र दाजुभाइलाई नयाँ जीवन दिन सक्नेछन् ।
त्यही श्रापका कारण हरेक वर्ष अबिर उत्सवपछि स्वर्गमा पुरुषहरू फलामको मूर्तिमा फेरिन्थे । चौबीस घण्टापछि मूर्तिमा पत्नी, छोरी वा प्रेमिकाले विशेष मन्त्र गरिएको पवित्र जल छर्किनुपर्थ्यो । त्यसपछि मूर्तिहरू पुनः सजीव बन्थे । कथंकदाचित् कुनै महिलाले मूर्तिमा जल नछर्किए त्यो पुरुषले दश वर्ष त्यसरी नै फलाम बनेर बाँच्नुपर्थ्यो । दश वर्षपछि मूर्ति आफैँ सजीव त हुन्थ्यो तर ऊ वीर्यहीन हुन पुग्थ्यो ।
स्वर्गका महिलाहरू त्यो दिनलाई मातृशक्ति र तेजको प्रतीक मान्दथे ।
त्यो दिन पनि सूर्यास्त हुनासाथ सम्पूर्ण पुरुषहरू एकाएक फलाम बने ।
अर्थात्, चौबीस घण्टाका लागि स्वर्गमा महिलाहरूको राज सुरु भयो ।
महिलाहरूको शासन सुरु भएको सूचनास्वरूप आकाशमा सहस्र बत्तीहरू बालिए । मुख्य चोकमा उभिएर देवी चण्डिकाले मातृबन्दना गाउन सुरु गरिन् । त्यो स्वरमा हजारौँ स्वरहरू थपिँदै गए । स्वर्गको आँगनमा सिर्जना र शक्तिको गीत गाउँदै महिलाहरू नाच्न थाले ।
त्यो दिन मैले छोरीहरूलाई मीठो खुवाएँ । राम्रो लुगा लगाइदिएँ । हामी घण्टौँ आलिङ्गनमा बस्यौँ । मैले उनीहरूलाई प्रेमले चुम्बन गरेँ । मैले मनमनै उनीहरूसँग माफी मागेँ । आकाश र धर्तीसँग माफी मागेँ । त्यसपछि स्वयम् राप्ती नदीलाई तीनपटक नमस्कार गरेँ र आँखा चिम्लिएर भेलमा छोरीहरूसँगै हाम फालेँ ।
घरघरमा सहस्र दियोहरू बले । मन्दिरहरूमा शंख र घण्टहरू बज्न थाले । आकाशबाट पुष्पवर्षा भयो ।
अबिर उत्सव सकिएको रात स्वर्गमा महिला अदालतको आयोजना हुन्थ्यो । यो विशेष अदालतमा महिलाहरू नै वकिल हुन्थे, महिलाहरू नै न्यायाधीश । चराचर ब्रह्माण्डका सम्पूर्ण महिलाहरूमाथि भएका अन्यायहरूमध्ये सबैभन्दा गम्भीर घटनामाथि अदालतमा छलफल गरिन्थ्यो ।
त्यो वर्ष महिला अदालतमा इन्द्रावती र उसका छोरीहरूको घटनामाथि छलफल हुँदै थियो ।
मातृबन्दनापछि मन्दिरमा सायंकालीन आरती गरियो । माटो, हावा, पानी, आकाश र धर्तीको पूजाअर्चना सकियो । देवी तारा, मन्दोदरी र विश्वरूपाले सबैलाई प्रसाद वितरण गरे । स्वर्गको बगैँचामा किशोरीहरूको नाचगान सुरु भयो । ठीक त्यही क्षण, अदालतको कारबाही शुभारम्भ हुने संकेतस्वरूप क्षितिजमा पाञ्चजन्य शंख बजाइयो ।
त्यति नै बेला अदालतको मूल ढोका खुल्यो ।
इन्द्रावतीलाई स्वागत गर्न त्यो दिन अदालत सजाइएको थियो । अगाडि मुख्य द्वारमा अनेक फूल, लता र लहराहरू टाँगिएका थिए । द्वारका दुई सुरमा बडेबडे स्वर्णघडा राखिएका थिए । गर्भवती महिलाले दिएको श्राप लाग्छ भन्ने अन्धविश्वासमा स्वयम् अप्सराहरू इन्द्रावतीका अगाडि नतमस्तक देखिन्थे ।
अदालतको आँगनमा सुनको रथ रोकियो । रथबाट दुलहीजसरी सिँगारिएकी इन्द्रावती र उसका दुई छोरीहरू निस्किए । पुनः फूलको वर्षा भयो । नगराहरू बज्न थाले । इन्द्रावती अदालतभित्र प्रवेश गरी ।
इजलास खचाखच भरिएको थियो ।
भित्र अनेक देवी, देवकन्या, विदुषी र अप्सराहरू विराजमान थिए । उमेर र योग्यताअनुसार अगाडिबाट क्रमश: बस्ने प्रबन्ध मिलाइएको थियो । पृथ्वी, आकाश, तारा, नक्षेत्रका योग्यतम् महिलाहरू त्यहाँ थिए । उपस्थित महिलाहरूको भिडमा जनकपुत्री सीता, विदुषी गार्गी, जेनी मार्क्स, क्लारा जेड्किन, सिमोन्द बुबा, रोजा लक्जम्वर्ग, इन्दिरा गान्धी, निर्भया, साहना प्रधान, मंगलादेवीदेखि निर्मला पन्तसम्म देखिन्थे ।
द्वारपालेले ठूलोठूलो स्वरमा ढोलक बजाई र सबैलाई सावधान गरी– सावधान ! सावधान ! सावधान ! आजको अदालतमा न्यायमूर्तिको रूपमा उपस्थित हुँदै हुनुहुन्छ पाञ्चालन नरेश द्रुपदपुत्री द्रौपदी । उहाँलाई उठेर स्वागत गर्न सबैलाई अनुरोध छ । सावधान ! सावधान ! सावधान !
मूल द्वारमा अग्लो जिउडालकी, थोरै लामो नाक, तर तेजमय आँखा भएकी वृद्धा द्रौपदी देखा परिन् । उनको पछिपछि थिए– आफ्ना पति गुमाएका महाभारतका हजारौँ नारीहरू ।
द्रौपदीले आसन ग्रहण गरिन् र अदालतको कारबाही प्रारम्भ भयो ।
वृद्ध द्रौपदीका आँखामा मान्छेलाई चिन्ने र अनुभूत गर्ने एक सूक्ष्म प्रकाश प्रज्वलित भइरहेको थियो । उनले गम्भीर र लयवद्ध स्वरमा अदालतको कारबाही सुरुवात गर्दै इन्द्रावतीलाई भनिन्, ‘अगाडि आऊ इन्द्रावती र आफ्नो परिचय देऊ ।’
इन्द्रावती थाकेकी थिई । ऊ सायद संकोचमा पनि हुनुपर्छ । अतः उसको स्वरमा थकान, विनम्रता र कम्पनयुक्त लय स्पष्ट अनुभव हुन्थ्यो । दुबोका बगैँचामा पानीको बाछिटा खसेजस्तो मन्दमन्द स्वरमा इन्द्रावतीले आफ्नो बयान सुरु गरी:
‘म इन्द्रावती यहाँ उपस्थित समस्त वीरंगनाहरूलाई प्रणाम गर्दछु । मेरो न त कुनै जात छ, न त थर । मसँग मेरा तीन जना पुत्रीहरू छन् । जेठी मालती, माहिली कैकेयी । मेरो पेटमा हुने पुत्रीको नाम हो लैला । म मेरा तीन पुत्रीहरूसहित ने भन्ने देशबाट राप्ती नदीमा हाम फाली त्यसको छालसँग जुध्दै, लड्दै र उठ्दै स्वर्गमा आएकी हुँ । म एक अवला नारी हुँ ।’
दर्शकदीर्घाबाट अहिल्या कराइन्, ‘नारी इन्द्रावती, तिमी आफूलाई अवला किन ठान्छ्यौ ?’
विदुषी गार्गीले विनम्र स्वरमा भनिन्, ‘तिमी आफ्नो परिचयलाई सच्याऊ इन्द्रावती । तिमी बहादुर नारी हौ ।’
जनकपुत्री सीताले थपिन्, ‘नारीहरू कति अवला बस्ने सखी ? तिमीलाई थाहा छ, ब्रम्हाण्डमा देवी, दुर्गा, काली, चण्डिका र सप्तसतीहरू पनि थिए । उनीहरूको शक्ति र सामर्थ्यको कथा त तिमीले पक्कै सुनेको हुनुपर्छ ।’
द्रौपदीले सबैलाई शान्त रहन इशारा गरिन् । र, इन्द्रावतीलाई भनिन्, ‘तिमी आफ्नो कथा सविस्तार बताऊ इन्द्रावती । तिमी राप्तीमा हाम फाल्न किन बाध्य भयौ ? तिम्रा यी सुकुमारी छोरीहरू र तिम्रो गर्भको अबोध बच्चाले के अपराध गरेको थियो र उनीहरूलाई तिमीले आफूसँगै मार्यौ ?’
मैले मेरा छोरीहरूलाई मारेकी छैन पाञ्चाली । यिनीहरू त मसँगै मुक्त भएका हुन् ।
मृत्यु र मुक्तिको वादविवाद नगरौँ इन्द्रावती, आफ्नो कथा सुनाऊ ।
इन्द्रावतीले पुनः आफ्नो बयान सुरु गरी:
म मेरा बाबु र आमाकी पाँचौँ सन्तान हुँ । हामी सात जना छोरीहरू थियौँ । सानोमा म निकै सुन्दर र चञ्चल थिएँ । गुनगुनाउँदै हिँड्थेँ । मेरी आमा भन्थिन्– म पुलतीजस्तो उड्थेँ र कोइलीजस्तो गाउँथेँ रे ।
मैले यति मात्र सोचेँ, जसरी आज म पटकपटक बलात्कृत भएँ, मेरा छोरीहरूले भोलि यसरी नै बलात्कृत हुनुपर्ला । म अत्तालिएँ । म मेरा छोरीहरूलाई यो बलात्कारी संसारबाट मुक्ति दिलाउन चाहन्थेँ ।
मान्छेहरू मेरा आँखाको खुबै प्रशंसा गर्थे । म मक्खै पर्थें । मेरा रहरहरू अनन्त थिए । बादलजस्तै । म हुर्किंदै गएँ । म यसरी नै १७ वर्षकी भएँ ।
एकदिन म जंगलमा गोठालो गएकी थिएँ । ठूलो चौर थियो । चौरनजिकै झरना र केही तल सुन्दर तलाउ थियो । त्यो दिन गाईलाई चौरमा चर्न छोडेर म तलाउछेउको चिप्लेटी ढुंगामा बसेकी थिएँ । छेउमा झरना अनवरत झरिरहेको थियो । र, म त्यसको सुन्दरमा निमग्न थिएँ । त्यति नै खेर मेरो अगाडि एक जना युवक उपस्थित भयो ।
उसको नाम थियो, पुरुषप्रसाद ।
पुरुष प्रसाद निकै सुन्दर थियो । मेरो मनकै नायकजस्तै । ऊ गाउँको स्कुलमा पढाउँथ्यो । ज्ञान र बुद्धिको कुरा गर्थ्यो । रमाइलो के भने, ऊ कथा भनेजस्तै मन्त्रमुग्घ शैलीमा कुरा गर्थ्यो । हाम्रो भेटमा ऊ मेरो सुन्दरताको बयान गर्थ्यो र मेरो नाममा लेखेका कविताहरू सुनाउँथ्यो ।
एउटा गोधुली साँझमा उसले मलाई भन्यो– इन्द्रावती म तिमीलाई माया गर्छु ।
मेरो मनमा त्यो क्षण नौमती बाजा बज्यो । म प्रेमका लागि आतुर थिएँ । तर, एक दिन उसले मलाई जबर्जस्ती करणी गर्यो । त्यो दिन हाम्रो गाउँमा काँस फुलेको थियो र म काँसको फूल टिप्न सिरुबारी गएकी थिएँ । काँसको भारी पुग्नै लाग्दा ऊ कताबाट हो फुत्त मेरो अगाडि निस्कियो र मेरा स्तन दह्रो गरी समात्यो । उसले भन्यो– यही प्रेम हो ।
तर मेरा लागि त्यो प्रेम हैन, यातना थियो । उसले मलाई भुइँमा लडायो र ममाथि चढ्न थाल्यो । मलाई लाग्यो, ममाथि गँड्यौला दौडिँदै छन् । मलाई विषालु सर्पहरूले डस्दै छन् । मभित्र हलाहल विष प्रवेश गर्दैछ । म मर्दैछु । त्यो मेरो जीवनकै सबैभन्दा दुःखद र पीडादायी क्षण थियो ।
त्यसपछि मभित्रकी एक चञ्चल र कोमल इन्द्रावती मरी । मेरा सपनाहरू मरे । मेरा प्वाँखहरू काटिए । मेरो रंग उड्यो । बोल्न मसँग शब्दहरू रहेनन् । कसलाई भनौँ ? कहाँ बसेर रोऊँ ? हल्ला गरौँ, आमाबुबाको इज्जतको कुरा थियो । त्यही कमजोरीको फाइदा उठाउँदै उसले मलाई प्रत्येक दिन बलात्कार गरिरह्यो । कहिले मन्दिरको आडमा, कहिले कोठामा, कहिले स्कुलमा, कहिले वनमा, कहिले बगैँचामा । मेरा लागि सुरक्षित ठाउँ कतै थिएन ।
त्यसपछि म रहिनँ, मेरो प्रेम रहेन, मात्र मेरो जीवनमा बलात्कार बाँकी रह्यो । म गर्भवती भएँ । यो खबर सुन्नासाथ त्यो बैगुनी पुरुष बेपत्ता भयो ।
बोल्दाबोल्दै इन्द्रावती केही क्षण शान्त भई । आँखाबाट आँसुका बलिन्द्र धाराहरू खसे । उसको गला अवरुद्ध हुँदै गयो र हिक्का छुट्यो । उसका छोरीहरू पनि आमा रोएको देखेर भक्कानिए ।
अवरुद्ध गलामै इन्द्रावतीले भनी:
विस्तारैै मेरो पेट बढ्दै गयो । त्यसपछि बुबाले मलाई घरबाट निकाले । समाजले गाउँबाट निकाल्यो । म वेश्या भएँ । र, एउटी वेश्याको पेटमा कुनै भद्र पुरुषको गर्भ हुर्किंदै गयो ।
म पाटीमा बस्न थालेँ । पाटीमै मैले मालतीलाई जन्म दिएँ । एउटी किशोरी घरबाट निकालिनुको अर्थ के हो ? तपाईंहरू राम्ररी बुझ्नुहुन्छ ।
एक दिन राति म सडकमा एक्लै हिँड्दै थिएँ । दिनमा हिँड्नुभन्दा राति हिँड्नु मलाई सजिलो लाग्थ्यो । प्रहरीले मलाई समाते । उनीहरूले सोधे– राति किन एक्लै हिड्छेस् ?
मैले भने– एउटी वेश्या तपाईंहरूको सभ्य समाजमा दिउँसो कसरी निर्धक्क हिँड्न सक्छे ?
बाटोमा पुलिस केटाहरू छिल्लिएर कुरा गर्दै थिए । मानौँ कि उनीहरूका अगाडि मेरो कुनै अस्तित्व थिएन । म लाचार थिएँ । त्यो रात वास्तवमा म धेरै रोएँ । थानामा प्रहरीले दिएको भात खान पनि मन लागेन । आफ्नै भाग्य सम्झिएर रुनुबाहेक मसँग अरु केही विकल्प थिएन । त्यो बेला मेरी छोरी मालती तीन महिनाकी मात्र थिई ।
अपमान, त्रास र अनिश्चयमा जल्दै मैले त्यो रात पुलिस कस्टडीमा बिताएँ ।
बिहान प्रहरी इन्स्पेक्टरले भन्यो– हेर इन्द्रावती, तिमी यो सानी छोरीलाई बोकेर किन सडकसडक हिँड्छ्यौ । तिमीलाई म आश्रय दिन्छु ।
म मक्ख परेँ । म ढुक्क भएँ । त्यो बिहान ऊ मेरा लागि ईश्वर बनेर आयो ।
राति म आफ्नी सानी छोरीलाई काखमा च्यापेर निदाएकी थिएँ । प्रहरीको सुरक्षामा मलाई गहिरो निन्द्रा आएको थियो । मध्यरात हुँदो हो, कुनै कामातुर हातले मलाई गिजोलेजस्तो लाग्यो । म झसंग भएँ । ब्युँझिँदा म छेउमा नाङ्गै, उत्तेजित रूपमा त्यही इन्स्पेक्टर उपस्थित थियो ।
मैले भनेँ– तपाईंले मलाई आश्रय दिनुभएको थियो ।
उसले भन्यो – पुरुषहरूले आश्रय दिनु भनेको सेक्स गर्नु हो ।
मैले भनेँ – तपाईं त मेरो बुबासमानको हुनुहुन्छ ।
उसले भन्यो – तर म तिम्रो बुबा हैन ।
मैले भनेँ – म धेरै दुःखी छु ।
उसले भन्यो – सबै वेश्याहरू त्यसै भन्छन् ।
मैले भनेँ – अब म मर्छु ।
उसले भन्यो – म पहिले गर्छु । त्यसपछि मर् ।
उसले असाध्यै निर्मम तरिकाले मलाई बलात्कार गर्यो । त्यसपछि उसले मलाई प्रहरी चौकीमै बन्धक बनायो र प्रत्येक रात बलात्कार गरिरह्यो । म फेरि गर्भवती भएँ ।
एक दिन आफ्नो ठूलो पेट पटुकाले बाँधेर म प्रहरी चौकीबाट भागेँ । भाग्दैभाग्दै म एउटा मन्दिरमा पुगेँ । त्यो कुन मन्दिर हो, मलाई थाहा छैन । अथवा त्यो मस्जिद पनि हुन सक्थ्यो । अथवा त्यो चर्च पनि हुन सक्थ्यो । अगाडि ठूलो सुनको मण्डप थियो । मान्छेहरू आउँथे, शिर झुकाई प्रार्थना गर्थे र जान्थे ।
सबै हाँस्थे र रमाउँथे, ईश्वरको त्यो दरबारमा म भने एक्लै रोइरहन्थेँ ।
त्यो पवित्र स्थलमा एक जना वृद्ध मान्छे प्रत्येक दिन आउँथ्यो, प्रार्थना गर्थ्यो र जान्थ्यो । ऊ केही अग्लो, ठूलो टाउको गरेको कुनै सन्तजस्तो देखिन्थ्यो । एक दिन उसले मेरी छोरीलाई मिठाई किनेर दियो । मेरो हातमा केही रुपैयाँ राखिदियो । म त्यो वृद्ध मान्छेको व्यवहारमा विश्वस्त भएँ । उसको नाम थियो, धर्मप्रसाद ।
उसले मलाई आफ्नो घर लिएर गयो । भन्यो– छोरी बनाउँछु ।
उसको घरलाई आश्रम भनिन्थ्यो । त्यहाँ पुलिस, कर्मचारी, व्यापारी, नेता, वकिल, न्यायाधीश सबै आउँथे । भजन, कीर्तन, प्रवचन हुन्थ्यो । म आश्रमको सरसफाइ गर्थें । पूजाको तयारी गर्थें । माला गाँस्थेँ । भगवान्लाई सजाउँथेँ । म विस्तारैै जीवनप्रति विश्वस्त हुँदै थिएँ ।
मेरो पेटमा देशप्रेमीको गर्भ थियो । म त्यसलाई बचाउन चाहन्थेँ । तर कहाँ जाने ? प्रहरी, नेता, वडाध्यक्ष, अध्यक्ष, धर्मगुरु, पादरी, न्यायाधीश, कता जाऊँ ? म जहाँ जान्थेँ, सबैतिर पुरुषहरू थिए, जो मलाई बलात्कार गर्न पर्खिएर बसेझैँ लाग्थ्यो । म यो सबैबाट छुटकारा चाहन्थेँ ।
मैले मेरी माईली छोरी कैकेयीलाई त्यहीँ जन्म दिएँ । तर एक दिन, त्यो कुनै अष्टमीको दिन थियो, राति धर्मप्रसादले पनि मलाई करणी गर्यो ।
उसले भन्यो– भगवान्ले महिला र पुरुषको सृष्टि गरेकै सम्भोगका लागि हो ।
मैले भनेँ– यो अनुचित छ ।
उसले भन्यो– यो प्राकृतिक र उचित छ ।
मैले भनेँ– तिमी नर्क जान्छौ ।
उसले भन्यो– म तृप्ततृप्त भएँ नारी । अब मलाई स्वर्ग र नर्कको कुनै भेद रहेन ।
त्यो रात मेरो चीत्कार न मान्छेले सुने, न त ईश्वरले । त्यही रात पहिलोपटक मलाई आत्महत्या गर्न मन लागेको थियो । तर, मसँग दुईवटी छोरीहरू थिए । उनीहरूका निर्दोष अनुहार र मुस्कानले मलाई रोक्यो । त्यो दिन मैले निर्णय गरेँ, म अब आत्महत्या गर्दिनँ । बरु न्यायका लागि अदालत जान्छु ।
धर्मप्रसादको आश्रममा नियमित एक जना न्यायाधीश आउँथ्यो । नाम थियो, न्यायप्रसाद । एक दिन मैले उसको सहयोगीलाई भनेँ– मलाई न्याय चाहियो । मेरो कुरा सायद न्यायप्रसादले सुनेको हुनुपर्छ । त्यसैले होला, कुनै एक साँझ उसको सहयोगी मसँग आयो र मलाई न्यायप्रसादकहाँ लिएर गयो ।
न्यायप्रसादले भन्यो– म तिमीलाई न्याय दिलाउँछु ।
मेरा दुईटा स्वार्थ थिए । पहिलो म मेरा दुई जना छोरीहरूको भविष्यका लागि चिन्तित थिएँ । म उनीहरूलाई पढाउन र सक्षम नारी बनाउन चाहन्थेँ । दोस्रो, मलाई बलात्कार गर्ने सबै पुरुषहरूलाई म सजाय दिलाउन चाहन्थेँ ।
न्यायप्रसादले भन्यो– न्याय मरेको छैन इन्द्रावती, विश्वास गर ।
मैले उसलाई विश्वास गरेँ । तर, तपाईंहरू विश्वास गर्नुहुन्छ ? उसले मलाई पहिलो दिन नै बलात्कार गर्यो, जुन दिन अदालतमा मेरो मुद्दा दर्ता गरियो, त्यसै दिन । त्यसपछि प्रत्येक पेसीको अघिल्लो दिन ऊ बिहानै मलाई कुनै एकान्त होटलमा लिएर जान्थ्यो । मलाई नाङ्गै बनाउँथ्यो । आफू टन्न रक्सी पिउँथ्यो । अनि ममाथि पशुवत् चढ्थ्यो । खासमा उसको शीघ्रपतन हुने समस्या थियो । त्यसैले यौन सम्पर्क गर्दा ऊ निरीह देखिन्थ्यो । र, आफ्नो लाज छोप्न या त मलाई गाली गर्थ्यो या त टोक्थ्यो वा चिमोट्थ्यो ।
मेरा छोरीहरूले न्याय पाउने आशामा म सबै कुरा चुपचाप सहन्थेँ ।
दुई वर्षअगाडिको कुरा हो, उसले त्यो दिन अलिक धेरै नै रक्सी पिएको थियो । सायद यौन उत्तेजना बढाउने औषधि पनि खाएको हुनुपर्छ । उसले त्यो दिन मलाई लगातार दुई पटक बलात्कार गर्यो । तेस्रो पटक उसले थप कुनै औषधि खायो र ममाथि चढ्ने कोसिस गर्न थाल्यो । त्यति नै बेला उसलाई ऐठनजस्तो भयो र सम्भोगरत अवस्थामै ऊ मर्यो ।
त्यो मृत्यु निकै घृणास्पद थियो । जसलाई सम्झिँदा पनि मलाई बान्ता होलाजस्तो हुन्छ ।
न्यायप्रसाद मरेको अर्को दिन होटलको साहुले मलाई कुनै नेताको घरमा लिएर गयो ।
उसको नाम थियो, देशप्रेमी ।
चुनाव हुँदै थियो । देशप्रेमीले भन्यो– चुनाव सकिन देऊ इन्द्रावती, त्यसपछि म मन्त्री बन्छु । म मन्त्री भएपछि सबैलाई ठेगान लगाइदिन्छु ।
त्यसपछि म देशप्रेमीको कार्यकर्ता बनेर चुनाव प्रचारमा लागेँ । म नेतासँग नजिकिँदै गएँ । ऊ निकै मीठो बोल्थ्यो । एक्लै बस्थ्यो । श्रीमतीको मृत्यु भएको कथा सुनाउँथ्यो । छोराछोरी थिएनन् । मात्र कार्यकर्ता थिए र सधैँ कार्यकर्ताहरूले घेरिएर बस्थ्यो । मैले उसको जीवनलाई सम्हाल्न सुरु गरेँ । समयमा खाना बन्न थाल्यो । घरको सफाइ सुरु भयो । बगैँचामा फूलहरू फुल्न थाले । र, विस्तारैै हामीबीच सबै सीमाहरू तोडिँदै गए । यस्तैमा एक दिन उसले मलाई यौन प्रस्ताव राख्यो र मैले राजीखुसी नै उसको यौन प्रस्तावलाई स्वीकार गरेँ । जिन्दगीमा पहिलो पटक मैले रहरले ऊसँग यौन सम्बन्ध राखेँ ।
यो शरद ऋतुको कुनै मध्याह्नको कुरा हो । त्यो दिन देशप्रेमी अशान्त थियो । त्यसैले ऊ दिउँसै घर आयो । आउनासाथ उसले मलाई समायो, उसको बिस्तरामा लडायो र मेरो शरीरसँग खेल्न थाल्यो । खासमा म त्यो सम्पर्कसँग खुसी नै थिएँ । यद्यपि दिउँसै त्यो सब गर्न मलाई कुनै रुचि थिएन । त्यसै बेला नेताको पीए एक्कासि हाम्रो कोठामा आइपुग्यो । उसले हामीलाई सर्वाङ्ग नाङ्गै देख्यो । म लाजले पानीपानी भए । तर, देशप्रेमीलाई त्यसको कुनै मतलब नै थिएन ।
त्यसपछि पनि हाम्रो सम्बन्ध निरन्तर चलिनै रहेको थियो ।
एक दिन नेताको पीएले मलाई उसको बहुमूल्य सामान चोरी गरेको आरोप लगायो । आरोप लगाउँदा देशप्रेमी त्यहीँ थियो । तर, कस्तो अचम्म कि उसले मप्रति कुनै सहानुभूति देखाएन । बरु उल्टो तिरस्कार पो गर्यो । यसरी फेरि मेरो प्रेमको अवमूल्यन भयो । यसरी फेरि म लुटिएँ ।
त्यसपछि जे भयो, त्यो म तपाईंहरूलाई शब्दमा बताउन सक्दिनँ । मलाई राति नाङ्गै बनाई तीन जना तिघ्रेहरूले कोर्रा लगाए । मेरा स्तनमा ब्लेडले काटे । कपाल लुछे । औँलामा पिन गाडे । तिघ्रामा कोपरे । ममाथि असह्य अत्याचार भयो । तर, देशप्रेमीले त्यो सबै देखेर पनि मलाई कुनै सहानुभूति देखाएन । मैले हारगुहार गरेँ तर उसको मन पग्लिएन । उनीहरूले मलाई रातभर यातना दिइरहे ।
त्यो रात मेरो चीत्कार न मान्छेले सुने, न त ईश्वरले । त्यही रात पहिलोपटक मलाई आत्महत्या गर्न मन लागेको थियो । तर, मसँग दुईवटी छोरीहरू थिए । उनीहरूका निर्दोष अनुहार र मुस्कानले मलाई रोक्यो ।
मेरो पेटमा देशप्रेमीको गर्भ थियो । म त्यसलाई बचाउन चाहन्थेँ । तर कहाँ जाने ? प्रहरी, नेता, वडाध्यक्ष, अध्यक्ष, धर्मगुरु, पादरी, न्यायाधीश, कता जाऊँ ? म जहाँ जान्थेँ, सबैतिर पुरुषहरू थिए, जो मलाई बलात्कार गर्न पर्खिएर बसेझैँ लाग्थ्यो । म यो सबैबाट छुटकारा चाहन्थेँ । तर कसरी ? मलाई थाहा भएन । मैले यति मात्र सोचेँ, जसरी आज म पटकपटक बलात्कृत भएँ, मेरा छोरीहरूले भोलि यसरी नै बलात्कृत हुनुपर्ला । म अत्तालिएँ । म मेरा छोरीहरूलाई यो बलात्कारी संसारबाट मुक्ति दिलाउन चाहन्थेँ ।
अनि मैले छोरीहरूसहित आत्महत्या गर्ने निर्णय गरेँ ।
त्यो दिन मैले छोरीहरूलाई मीठो खुवाएँ । राम्रो लुगा लगाइदिएँ । हामी घण्टौँ आलिङ्गनमा बस्यौँ । मैले उनीहरूलाई प्रेमले चुम्बन गरेँ । मैले मनमनै उनीहरूसँग माफी मागेँ । आकाश र धर्तीसँग माफी मागेँ । त्यसपछि स्वयम् राप्ती नदीलाई तीनपटक नमस्कार गरेँ र आँखा चिम्लिएर भेलमा छोरीहरूसँगै हाम फालेँ ।
धर्तीमाताको काखमा शरण लिनुबाहेक मसँग अरु कुनै विकल्प बाँकी थिएन ।
यति भनेर इन्द्रावती केही क्षण चुप लागी । दर्शकदीर्घामा उपस्थित सबैलाई हेरी । छोरीहरूतिर फर्किएर मुस्कुराई र अपार आनन्दको अनभूति गरी । यद्यपि उसको स्वर अझै पीडाले थर्थराइरहेको थियो । त्यही स्वरमा उसले भनी, ‘प्रिय द्रौपदी, मेरो कथा यही हो । मेरो बयान यही हो । आशा छ, तपाईंहरूले मेरो कुरा बुझ्नुहुनेछ । स्वयम् तपाईंले महाभारतमा त्यति ठूलो अपमान सहनुभयो । तर, त्यो अपमानको बदला लिन तपाईंसँग त कृष्ण थिए, पाँच जना बलशाली पतिहरू थिए, भीम थिए, अर्जुन थिए । तर, एउटी स्त्री जोसँग न पिता, न पति, न भाइ छन्, न त कृष्ण नै, उसका लागि राप्तीको उर्लंदो भेलबाहेक सहारा के छ ?’
‘तर तिमीले लड्नुपर्थ्यो नारी । पलायनले मुक्ति मिल्दैन,’ मन्दोदरीले इन्द्रावतीलाई भनिन् ।
‘मेरो मृत्यु आफैँमा मेरो विद्रोह हो दिदी । यो पलायन हैन । मैले यो कथा यस कारण सुनाएकी हुँ कि महिलाहरूको आफ्नो शरीरमाथिको हक एक शाश्वत् र सार्वभौम हक हो । यो कुरा म आकाशबाट चिच्याएर भन्न चाहन्छु । स्वर्गमा तपाईंहरू सबैलाई साक्षी राखी म यो कुरा तल धर्तीसम्म सुनाउन चाहन्छु । म भन्न चाहन्छु– प्रत्येक नारी स्वतन्त्र छे र ऊ आफैँमा एक सम्पूर्ण मान्छे हो । म भन्न चाहन्छु– मैले रोजेको आत्महत्या पलायन हैन, विद्रोह हो,’ यति भनेर इन्द्रावती चुपचाप इजलासमा उभिइरही ।
उता स्वर्गमा अदालतको कारबाही चल्दै थियो, तल पृथ्वीमा इन्द्रावती र उसका छोरीहरूको चिता जल्दै थियो । राप्ती किनारमा तीनवटा चिता थिए । सानो चितामा थिई कैकेयी । दाहिनेतिरको चितामा थिई जेठी मालती । बीचमा ठूलो चिता थियो, जसमा थिई स्वयम् इन्द्रावती ।
मलामीहरू हाँसिरहेका थिए । त्यहाँ इन्द्रावती र उसका छोरीहरूको सम्झनामा रुने कोही पनि थिएनन् ।
राप्ती किनारमा जल्दै गरेका चिताहरूको धुवाँ आकाशतर्फ उड्दैउड्दै स्वर्गको आकाशमा पुग्यो । त्यो दृश्य यति धेरै भयानक र पीडादायी थियो कि त्यो सब देखेर द्रौपदीका आँखाबाट आँसु बग्न थाले । अप्सराहरू सबै रुन थाले । र, लगत्तै आँसुका थोपाहरू पानी बनेर पृथ्वीमा झर्न थाले । कसलाई थाहा, त्यो पानी थिएन । स्वर्गबाट खसेको आँसु थियो ।
बिहान हुन लाग्दा स्वर्गमा अदालतको कारबाही सकियो । अन्त्यमा बोल्ने पालो आयो द्रौपदीको । तर, इन्द्रावतीको बयान सुनेर उनी नि:शब्द थिइन् । त्यसैले द्रौपदीले संक्षिप्तमा आफ्नो भनाइ राखिन् । उनले भनिन्, ‘प्रिय इन्द्रावती, तिम्रो दु:ख समस्त नारीहरूको दु:ख हो । तिमीले आत्महत्या गरेकी हौइनौ बैनी, विद्रोह गरेकी हौ । तिमीले जति भोग्यौ, त्यसको हिसाबकिताब एक दिन अवश्य हुनेछ । एक दिन संसारकै नारीहरूले सम्पूर्ण मुक्ति प्राप्त गर्नेछन् ।’
त्यसपछि द्रौपदीले अदालत अन्त्य भएको घोषणा गरिन् ।
अबिर उत्सव सकिएको तीन दिनपछि ने देशकी राष्ट्रपति हंसवाहिनीलाई स्वर्गबाट देवी द्रौपदीको पत्र आयो । पत्रमा धेरै कुरा लेखेर अन्त्यमा द्रौपदीले सोधेकी थिइन्, ‘प्रिय हंसवाहिनी, के तिमी हजारौँहजार बलात्कृत इन्द्रावतीहरूलाई न्याय दिन सक्छ्यौ ?’
इन्द्रावती र उसका छोरीहरू हंसवाहिनीको जवाफ सुन्न स्वर्गमा प्रतीक्षारत छन् ।
-शिलापत्रबाट
कमेन्ट गर्नुहोस !