भाषालाई लज्जित बनाउँदै शीर्ष नेता

काठमाडौँ।एमाले जिल्ला कमिटी बर्दियाले बुधबार गुलरियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीले कुनै नयाँ कुरा सुनाएनन् । पुरानै शैलीमा आफूविरोधी र हालै मात्र एमालेबाट अलग्गिएकाप्रति आक्रोश पोखे । उनले अलग्गिएकाहरूलाई ‘कुहिएर झरेको पात’ को संज्ञा दिए ।भदौ २२ मा पोखरामा आयोजित कार्यकर्ता भेलामा पनि ओली यस्तै शैलीमा प्रस्तुत भएका थिए । त्यो दिन उनले एमालेबाट अलग्गिएर नयाँ पार्टी बनाएका माधवकुमार नेपाललाई ‘कुपात्र’, ‘हरियो साँप’, ‘कुहिएको फर्सी’ र ‘उम्रिन नसकेको प्युसो’ को संज्ञा दिएका थिए ।

पोखरादेखि बर्दियासम्मका बीच १५ दिनमा ओलीले गरेका भाषणहरू केलाउने हो भने आक्रोश, गाली र तुच्छ शब्दको सानोतिनो संकलन भेटिन्छ । राजनीतिक दलका अगुवाले आफ्नो असहमति र आक्रोश व्यक्त गर्न घृणाजन्य शब्दहरूको सहारा लिने पूर्वप्रधानमन्त्री ओली एक्लो पात्र भने होइनन् । मर्यादित, भद्र र शालीन रूपमा पनि आफ्नो असहमति वा फरक मत राख्न सकिन्छ भन्नेमा ओलीको वचनको गोली भेटिरहने एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सायदै विश्वास राख्छन् ।

नवगठित पार्टीको बैठकमा अध्यक्ष नेपालले मंगलबार पेस गरेको राजनीतिक प्रस्तावमा ओलीलाई षड्यन्त्रको तानाबाना बुन्न थालेकोदेखि निरंकुश, स्वेच्छाचारी भएकोसम्मका आरोप छन् । प्रस्तावमा ओलीमा दम्भ र घमण्ड देखिएको, विखण्डनकारी अडानमै रहिरहेको भनी टिप्पणी गरिएको छ । नेता नेपालले ओलीलाई दक्षिणपन्थी चिन्तन भएको, सत्तालिप्सा, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र, गफाडी, अहंकारी र दम्भीको उपमा पनि दिएका छन् ।

विरोधीहरूप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि मर्यादित र सभ्य रूपमा विरलै प्रस्तुत हुन्छन् । गत सोमबार मात्रै सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा उनले ओलीलाई निरंकुश मात्रै भनेनन् भ्रष्ट र झेली नेता उपमा पनि दिए । काठमाडौंमा भदौ ३१ मा आयोजित जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा ओलीले पुराना सहयात्री नेपाललाई फोहोरको झिँगासँग तुलना गर्न हिचकिचाएनन् । उनले नेता नेपाललाई व्यक्तिगत महत्त्वाकांक्षा, स्वार्थ, इगो, अहंकार, ईर्ष्या भाव र कुण्ठाबाट ग्रसित भएको व्यक्तिसमेत भन्न भ्याए । उनले घरमा आगो लगाई खरानी धसेर तीर्थयात्रामा हिँडेको मानिसका रूपमा समेत नेता नेपाललाई चित्रण गरे । साउन १६ मा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बैठकमा ओलीले नेपालसहितका नेताहरूलाई अपराधीकै रूपमा चित्रण गरेका थिए । उनले भनेका थिए, ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोहीहरूलाई कुनै ठाउँ छैन ।’

\कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि आफूभन्दा कनिष्ठ नेताहरूप्रति मर्यादित भाषाको प्रयोग नगर्ने, हप्कीदप्कीको शैलीमा प्रस्तुत हुने र भाषिक र पदीय मर्यादाको ख्याल नगर्ने नेताका रूपमा चिनिन्छन् । उनले भदौ १८ मा वडा अधिवेशनको सुरुवात गर्न भक्तपुर पुगेका बेला मञ्चबाटै पार्टीका जिल्ला सभापतिलाई हप्कीदप्कीको शैलीमा कुरा गरेको भिडियो फुटेज सार्वजनिक भएको थियो ।

घृणायुक्त शब्दहरूको सहारा लिने, विषयलाई उत्तेजित रूपमा पेस गर्ने र अनेकन तुच्छ बिम्बहरूमार्फत विरोधीमाथि खनिने शीर्ष नेताहरूको शैलीले सभ्य, भद्र र भाषिक मर्यादासहितको सार्वजनिक अभिव्यक्ति बिर्साउँदै लगेको छ । घृणा र आक्रोशयुक्त वाणीको प्रयोग गर्ने शैलीको सिको दोस्रो तहका नेताहरूमा पनि बढ्दै छ । प्रेस चौतारी नेपालले असोज ५ मा पोखरामा गरेको कार्यक्रममा एमाले नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीमाथि आक्षेप लगाउने क्रममा भनेका थिए, ‘के माधव नेपाल अवैध सन्तान हुन् ? आफैंले जन्माएको बाबुआमा नचिन्ने कुपुत्र हुन् ?’ सर्वोच्च अदालतको आदेशले नेकपा एकतापूर्वको अवस्थामा पुगेपछि माओवादी केन्द्रमा नफर्की एमालेमै रहेका पूर्वगृहमन्त्री रामबहादुर थापाले भदौ ३१ मा काठमाडौंमा आयोजित जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा विरोधीलाई गाली गर्ने क्रममा दक्षिणपन्थी र विसर्जनवादी जस्ता शब्द दोहोर्‍याइरहे ।

राजनीतिक दलका शीर्ष नेताहरू सार्वजनिक मञ्चमा मर्यादित र आक्रोशरहित रूपमा प्रस्तुत भएको विरलै सुनिन्छ । सार्वजनिक मञ्चहरू शीर्ष नेताहरूले गर्ने तुच्छ कटाक्ष र व्यक्तित्वलाई खसाल्न प्रयोग गरिने बिम्बपूर्ण भाषणले उत्तेजना फैलाउन र हिंसा विस्तार गर्न पनि सहयोग पुर्‍याइरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले भदौ २६ मा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी अनुदानको एमसीसी परियोजना सरकारले लागू गरे देशमा आगो नै लाग्ने बताउन भ्याए । एमालेकी सांसद रेखा झाले भदौ २५ मा संसद्भित्रको उछलकुदपछि बाहिर आएर आफूले सभामुखको टाउको नै फुटालिदिन खोजेको बताइन् ।

राजनीतिक दलका शीर्ष नेताले प्रयोग गर्ने हप्कीदप्की र कटाक्षपूर्ण भाषा सामाजिक सञ्जालमा ‘ट्रोल’ मात्रै बन्दैनन्, टिकटक प्रयोगकर्ताले त्यस्ता भाषा टप्प टिपेर अनेक थरी व्यंग्य भिडियो पनि बनाइरहेका छन् । तत्कालीन नेकपाभित्र विवाद चुलिइरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानललाई दिएको अन्तर्वार्तालाई व्यंग्य गर्दै नेता दाहालले भनेका थिए, ‘नाटकै हो ।’ दाहालको भनाइमा जवाफ दिँदै ओलीले सार्वजनिक कार्यक्रममै भनेका दिए, ‘नौटंकी नै हो ।’ ‘नाटकै हो’ र ‘नौटंकी नै हो’ भन्ने सवाल जवाफको भिडियो क्लिप टिकटकमा भाइरल भयो । फेसबुकका लाखौं फ्यान फलोइङ भएका मिम पेज हुन् कि टिकटकमा हजारौं सेयर भएका भिडियो, तिनमा दलका शीर्ष नेताले बोलेका उटपट्याङ कुरा, आक्रोश र घृणालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मनोरञ्जनका रूपमा लिइरहेको देखिन्छ ।

भाषाशास्त्री माधवप्रसाद पोखरेल राजनीतिक दलका नेताहरूले सार्वजनिक अभिव्यक्तिबाट भाषाको मर्यादा मात्रै नउडाएर आफ्नै ओज पनि गुमाइरहेको टिप्पणी गरे । उनले अरूको अपमान गर्दागर्दै आफ्नो छवि बिग्रेको नेताहरूले चाल नै नपाइरहेको बताए । ‘भाषा मात्रै होइन, सामान्य शिष्टाचारको शब्द पनि राजनीतिबाट हराउँदै जान थाल्यो,’ उनले भने, ‘हरेक दलभित्र अनुशासन विभाग हुन्छ । शीर्ष नेताले नयाँ पुस्ताका नेतालाई त्यस विभागबाट पाठ पढाउने गर्छन् । तिनीहरूले भाषिक मर्यादा र शिष्टताबारे के पढाउँलान् !’

राजनीतिशास्त्री भाष्कर गौतम शीर्ष नेताहरूका सार्वजनिक भाषणलाई तुच्छताको चरम नमुनाका रूपमा बुझ्छन् । उनले पार्टी हाँक्ने व्यक्तिहरूमा देखिएको वैचारिक दरिद्रता उनीहरूका सार्वजनिक अभिव्यक्तिबाट झल्किरहेको बताए । ‘वैचारिक रूपमा टाट पल्टेका नेताहरू भएकैले राजनीति यो अवस्थामा आइपुगेको हो,’ उनले भने । शीर्ष नेताका व्यक्तिकेन्द्रित घृणा र आक्रोशजन्य गालीले भरिएको भाषणले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा जन्माइरहेको उनको बुझाइ छ । ‘यस्तै अभ्यासले निरन्तरता पाइराख्यो भने समाजले नेताको चरित्र हेरेर राजनीतिलाई बुझ्ने प्रवृत्ति विकास हुनेछ । त्यसको मूल्य समय क्रममा समाजले चुकाउनुपर्नेछ,’ उनले भने ।

एमालेकी सांसद विद्या भट्टराईले आम मानिसलाई भावनात्मक रूपमा उराल्ने पुरानो शैली राजनीतिक ‘कोर्स’ बदलिँदा पनि कायमै रहेको बताइन् । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी पूर्वउपप्राध्यापकसमेत रहेकी उनले राजनीतिमा कस्तो भाषा चलिरहेको छ भनेर बुझ्न संसद्भित्र कस्ता शब्द चयन भइरहेका छन् भनेर हेर्दा पनि थाहा हुने बताइन् । ‘महिला, जनजातिलगायतका समुदायलाई असर पर्ने शब्द पनि संसद्मा प्रयोग भइरहेको देखिन्छ,’ उनले भनिन्, ‘तर्कका आधारमा म ठीक छु भन्दा पनि अरू गलत छ भनेर प्रमाणित गर्नमा जोडबल देखिन्छ ।’

उनले एकले अर्कालाई जतिसक्दो बढी गाली गर्ने राजनीतिक शैलीबाट मुक्त हुनुपर्नेमा जोड दिइन् । शीर्ष नेताहरू ‘इतिहास नै हामी हौं, वर्तमान पनि हामी हौं र भविष्य पनि हामी हौं भन्ने सोचबाट ग्रसित’ रहेको भट्टराईले बताइन् । भट्टराई स्वयंले पनि चुनावका बेला राजनीतिक वृत्तबाटै घृणाजन्य र अपमान गर्ने अभिव्यक्तिको सामना गर्नुपरेको थियो । ‘तर, ती अभिव्यक्तिलाई वास्ता गरिनँ,’ उनले भनिन् ।कान्तिपुर बाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close