उत्तर प्रदेशको लखिमपुरमा हिंसात्मक झडप, ४ किसानसहित ८ जनाको मृत्यु

लखनऊ — आइतबार भएको झडपमा ४ जना किसानसहित ८ जनाको मृत्यु भएपछि भारतको उत्तर प्रदेश राज्यको लखिमपुर खिरी तनावग्रस्त रहेको छ ।

आइतबार किसानहरूले उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको भ्रमणको विरोध गरिरहेका बेला एउटा जिपले अन्धाधुन्ध ठक्कर दिएपछि हिंसात्मक झडप सुरु भएको हो । भारतीय किसान युनियनका नेता राकेश टिकैतले कृषि कानुनको विरोधमा उत्रिएका किसानमाथि एक्कासि आक्रमण गरिएको दाबी गरेका छन् ।

लखिमपुर खिरीको तिकुनियामा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्र टेनीका छोरा आशिष मिश्रको गाडीले कुल्चिँदा ४ जना किसानको मृत्यु भएको बताइएको छ । त्यस्तै झडपमा आशिषको जिपका चालक र ३ जना भारतीय जनता पार्टीका कार्यकर्ताको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडकमा प्रदर्शन गरिरहेका बेला आशिषको जिपले ठक्कर दिएपछि आक्रोशित भएका किसान तोडफोडमा उत्रिएका थिए । उनीहरूले उक्त जिपमा आगो लगाइदिएका थिए । स्थानीय नागरिकका अनुसार मन्त्रीका छोरा खेततर्फ भागेर ज्यान जोगाएका थिए । त्यस्तै झडपमा १० भन्दा बढी किसान घाइते भएको बताइएको छ ।

केन्द्रीय गृहराज्यमन्त्री मिश्रले भने गाडीमा आफ्ना छोरा नभएको दाबी गरेका छन् । उनले ढुंगाले चालकलाई लागेकाले दुर्घटना हुन पुगेको दाबी गरेका छन् ।

यसैबीच सोमबार बिहान कंग्रेस नेता प्रियंका गान्धीलाई गिरफ्तार गरिएको छ । युथ कंग्रेसका राष्ट्रिय अध्यक्ष श्रीनिवास बीभीले गान्धीलाई उत्तर प्रदेश प्रहरीले हरगांवबाट गिरफ्तार गरेको बताएका छन् ।

आइतबारको घटनाको विरोधमा किसान युनियनले सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने जनाएको छ । आइतबार नै मुजफ्फरनगरको सिसौलीमा पञ्चायत बोलाएर देशका सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय युनियनले गरेको थियो ।

सोमबार छत्तीसगढका मुख्यमन्त्रीसमेत रहेका कंग्रेस नेता भूपेश बघेलसमेत कैयौं नेता लखिमपुर जाने तयारीमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने घटना दूर्भाग्यपूर्ण भएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गरिने बताएका छन् । उनले स्थानीय नागरिकलाई शान्ति कायम राख्न पनि आग्रह गरेका छन् ।ekantipur

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close