दसैँ बिदामा पढ्न सकिने १२ किताब

 

दसैँ राम रमाइलोमा मात्र सीमित राख्नुपर्ने सोच परिस्कृत हुँदैछ । दसैँको समय घुमघाम र अध्ययनका साथै सृजनशील काममा खर्चिनुपर्ने तर्क गर्छन् साहित्यकार गणेश सुवेदी । नाटक, कविता, गीतलगायत साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका सुवेदी गीतकार हुन् । चलचित्र गीतका साथै आधुनिक, लोक र राष्ट्रियदेखि प्यारोडी गीतसम्मका शब्द कोरेका उनी अन्य विधाका साहित्य पनि रचना गर्छन् ।

सुवेदी आफू लेखक मात्रै होइन, सक्रिय पाठक पनि हुन् । बजारमा निस्किएका र भेटेका प्रायः पुस्तक अध्ययन गर्ने बानी भएका सुवेदीले दसैँमा अध्ययन गर्न चाहनेका लागि सुझाएका १२ पुस्तकहरु उनकै शब्दमा –

नेपाल, भारत र छिमेक

नेपालको छिमेकी देश भारत र नेपालबीचको बहुआयामिक सम्बन्ध मिहिन ढंगले पुस्तक ‘नेपाल भारत र छिमेक’मा समेटिएको छ । लक्ष्मण पन्तले लेखेको पुस्तकमा ४ दशकमा भएका दुई देशबीचका घटनाले प्राथमिकता पाएका छन् ।

पुस्तकमा नेपाल, भारतसहित दक्षिण एसियाका पाकिस्तान, श्रीलंका, बंगलादेश र मालद्वीपमा विगत ४ दशकमा घटेका केही महत्वपूर्ण राजनैतिक घटनालाई विवेचनात्मक रूपमा चर्चा गरिएको छ ।

अमेरिकालाई समेत आर्थिक र सामरिकरूपमा उछिन्ने अवस्थामा रहेको महाशक्ति राष्ट्र चीनसित जोडिएका महत्वपूर्ण प्रसंग, भारतमा सन् ६० को दशकको उत्तरार्धतिरबाट सुरू भएको नक्सलवाडी आन्दोलनसमेत पुस्तकमा समेटिएको छ । त्यसबाहेक दक्षिण एसियाको ८० को दशक र त्यसपछिको कालखण्डमा घटेका केही महत्त्वपूर्ण राजनैतिक घटना समेटिएको पुस्तकको केन्द्रीय विषय भारतको छिमेकी देशसितको सम्बन्ध छ ।

यसका अतिरिक्त अन्य दक्षिण एसियाली देश र चीनका अनेकौं महत्वपूर्ण राजनैतिक, सामरिक, आर्थिक र सांस्कृतिक उथल–पुथलका समेत पुस्तकमा समेटिएको छ । यस्तै, नेपालको राष्ट्रियता, नेपालको जनजीवन, जनजीविका तथा नेपाल र भारतबीचको सम्बन्धसँग जोडिएका महत्वपूर्ण पक्षहरूमाथि प्रभाव पार्ने मुख्य–मुख्य घटनाहरूलाई पुस्तकको मूल सामग्री हुन् ।

पन्तको यो पुस्तक नेपाल र भारतबीचको सम्बन्ध बुझ्न महत्वपूर्ण खुराक हो । पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न दस्तावेज समेत समावेश छन् ।

नेपालमै सकिन्छ

पत्रकार रोहित भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालमै सकिन्छ’ दसैँको खाली समयमा अध्ययन उपयुक्त हुनसक्छ । विभिन्न पेशा, व्यवसायमा लागेका प्रेरक ब्यक्तिहरुको सफलताको कथा समेटिएको यो पुस्तकले प्रेरणादायी भुमिका खेल्छ । पुस्तकमा ३६ जना विभिन्न पेशाका सफल ब्यक्तिको कथा छ । चिया बेचेरै करोडपति भएका, जुत्ता पालिस गर्दागर्दै ब्रान्डेड कम्पनीका मालिक भएको, बेलायतमा गुमनाम भएका तर नेपालमा आएर राम्रो आर्थिक आम्दानी गरेका लगायत अन्य विभिन्न व्यक्तिहरुको कथा समेटिएको छ ।

पुस्तकको खण्ड ‘ख’ मा विभिन्न देशबाट नेपाल फर्केर स्वदेशमै काम गरी सफल भएका ५ जनाको कथा छ । पुस्तकको खण्ड ‘ग’ मा समाजमा सामान्य ठानिएका विभिन्न कामहरुमा उच्च शिक्षा हासिल गरेका ब्यक्तिको सफलताको कथा छ । जसमा डिग्री होल्डर गोठालो, डिग्री होल्डर इलेक्ट्रिसियन, डिग्री होल्डर फर्निचरवाला, डिग्री होल्डर हजाम लगायत ११ जना सफल ब्यक्तिका प्रेरणादायी कथा समेटिएको छ ।

भाषाशैली अत्यन्तै सरल रहेको पुस्तकमा समेटिएका विषयबस्तुको अध्ययनपछि नेपालमै सामान्य ठानिएको काममा सफल हुने आत्मबल मिल्छ ।

पागल बस्ती


साहित्यमा पृथक पहिचान बनाएका सरुभक्त लिखित उपन्यास हो ‘पागल बस्ती’ । मदन पुरस्कारबाट सम्मानित यो उपन्यासमा लेखकले पात्रहरूको दार्शनिक पक्ष मिहिनेतले केलाएका छन् । उपन्यासमा आदि गुरु प्रशान्त र आदि मातामाथिको प्रेम प्रसंग उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् ।

नेपाली साहित्यका सशक्त लेखकका रुपमा परिचित सरुभक्त विषय अत्यन्त नजिकबाट खेलाउने र प्रस्तुत गर्ने क्षमता राख्छन् । नाट्य लेखकमा समेत अब्बल सरुभक्तका लेखन विशिष्ठखालको हुने हुँदा उपन्यासले पाठकलाई आकर्षित गर्छ । यो समयमा यो उपन्यासले मथिंगलमा हलचल पैदा गरी रोमाञ्चित गराउँछ ।

हिटलर र यहुदी

नेपाली राजनीतिमा अग्लो उचाई बनाएका विश्वेश्वरप्रसाद कोइराला यो उपन्यासका लेखक हुन् । नेपालको राजनीतिक विषयवस्तुमा आधारित यस उपन्यासबाट पाठकले नेपालका निरंकुश शासनसत्ता विरुद्ध राजनीतिक दलका नेताले गर्नुपर्ने संघर्षको बारेमा यथेष्ट जानकारी पाउन सकिन्छ । नेपालको अहिलेको धुमिल राजनीतिक गतिविधिको यो घडिमा उपन्यास अझ पढ्न योग्य छ ।

यस उपन्यासले विश्वेश्वरप्रसाद कोइरालाको उचाइलाई थप उज्यालो बनाएको छ । ‘हिटलर र यहुदी’ उपन्यासबाट पाठकले बीपीको स्वतन्त्र लेखन छविलाई अझ नजिकबाट चिन्नु हुनेछ । उपन्यासमा राजनीतिक परिवर्तनको संघर्ष अवधिका जेलको पीडादायी अनुभव अभिव्यक्त छ । पुस्तकले त्यो समयको नेपाली समाजको अवस्थालाई बुझाएको छ ।

घामका पाइलाहरु

साहित्य फाटमा धच गोतामेका रुपमा परिचित विशिष्ट साहित्यकार धनुषचन्द्र गौतमले यो उपन्यास सृजना गरेका हुन् । सानो होस् वा ठूलो विषय, टपक्क टिपेर विशिष्ट कृति निर्माण गर्ने खुबी भएका उनको पृथक शैली र पहिचान छ ।

साहित्यको बलियो खम्बाको रुपमा परिचित उनको यो उपन्यास एउटा सामान्य मध्यम वर्गीय परिवारको वरिपरि घुमेको छ । शहरको जीवन शैली र सुन्दर वातावरणलाई उपन्यासमा अभिव्यक्त छ । नेपालमा रेल र पानीजहाजको चर्चा चलिरहेको वर्तमान अवस्थामा लेखकले त्यस बेलाको रेल जीवन, रेल स्टेशन वरपरको वातावरण यसमा अटाएका छन् । मदन पुरस्कार तथा साझ पुरस्कार प्राप्त यो कृति उपन्यास पढ्न योग्य छ ।

जीवन काँडा कि फूल ?

झमककुमारी घिमिरेको नाम साहित्यमा परिचित छ । नेपाली साहित्यमा धु्रव ताराका रुपमा उदाएकी लेखिका झमककुमारीको ‘जीवन काँडाकी फूल’उपन्यास मदन पुरस्कार प्राप्त कृति हो । आत्मकथात्मक रुपमा लेखिएको पुस्तकमा स्वयं लेखकले त्यो विक्षिप्त अवस्था र परिवेशबाट हुर्किएर आजको उचाइसम्मको संघर्ष पुस्तकमा समेटेकी छिन् ।

विश्वको ९ औं आश्चर्यका रुपमा उदाएकी घिमिरेको आफ्नै दृष्टिकोण छ । जीवनका कठिनतम घडीमा उनको सृजनाशीलता आफै अद्भुत छ । यस कृतिबाट पाठकले जीवनको सार्थकताका लागि उनले कति संघर्ष गर्नुपर्यो भन्ने थाहा पाउनेछन् । उचाई सानो संघर्षले बन्दैन भन्ने उदाहरण हो यो कृति । लेखकको असाधारण क्षमता र विशिष्टताले सिङ्गारिएको यो उपन्यास साहित्य अनुरागीका लागि पञ्चाम्म्रित सरह हो ।

सेतो धरती

लेखनमा बेग्लै पहिचान भएका अमर न्यौपानेको कृति हो ‘सेतो धरती’ । ९ बर्षीया बालिकाले विभिन्न बाधासँगै जीवनलाई कसरी सञ्चालन गरिन् भन्ने हृदयविदारक अवस्था उपन्यासमा पढ्न पाइन्छ । यो समयका लागि यो उपन्यास चुनौतीपूर्ण छ । दिनदिनै प्रेमी प्रेमीका फेर्ने अहिलेको समयमा एउटा बिधवा बालिकाले त्योबेलाको सामाजिक ताडना खेप्दै जीवनलाई कसरी चलाइन् होला ?

लेखकीय विशिष्ठता र विषयको खोजले पनि यो उपन्यास उत्कृष्ट बनेको छ । लेखकले कथालाई आकर्षण दिन भाषा र लवजमा ध्यान दिएका छन् । यो साहित्यका अनुरागीले छुटाउनै नहुने कृति हो । वास्तवमा यस्ता कृति जन्माउन लेख्यालयमै प्रसव बेदनाबाट गुज्रनु पर्दछ । तब मात्र राम्रा कृति जन्मन्छन् । पाठकले कृतिबाट त्योबेलाको हाम्रो समाज, सोच र संघर्ष बुझ्नेछन् । किनकि त्यो बेला जीवन–जीवनजस्तो र मानिस मानिस जस्ता नै थिएनन् ।

बदनाम बस्ती

बस्ती नै बदनाम भएको के हो ? पाठकका लागि अनौठो विषय हो ‘बदनाम बस्ती’। मध्य तथा सुदरपश्चिमबासीका लागि नौलो विषय होइन । उपन्यास नेपाली चलचित्र, टेलि चलचित्रमा कथा, पटकथा र सम्बाद लेखकका रुपमा परिचित ओम प्रतीक गुरुङले लेखेका हुन् । २०४६ सालको परिवर्तनपछिको घटनाक्रमलाई लेखकले कथानक रुप दिएर यो किताब तयार पारेका छन् ।

सामाजिक यर्थाथवादी उपन्यासको परिचय यसले बोकेको छ । गणिकाबृत्ति (वेश्यावृत्ति) अर्थात पिछडिएको लोपोन्मुख बादी जातिभित्रको अन्तरकथा नै कृतिको सार हो । ‘बदनाम बस्ती’ मानवीय सम्बेदना, प्रेम र अन्तरद्वन्द्वको विश्लेषण पनि हो । फिल्मी लेखक निर्देशकका रुपमा पाठकको रुचि राम्रोसँग बुझेका गुरुङको लेखकीय अभिव्यक्तिले पाठकलाई बाँध्नेछ । किनकि, उपन्यासका हरेक पात्र र घटनाक्रम फिल्मको पर्दामा झैं पाठकको दिमागमा खुल्दै जानेछन् ।

फकलीको गाउँ

 

लेखनाथ पोखरेलको प्रथम कृति हो ‘फकलीको गाउँ’ । सरकारी सेवापछिको अवकाश जीवनलाई साहित्य क्षेत्रमा बढाउने प्रण गरेर संकल्पित पौडेलको यो नियात्रा संग्रह पाठकले पढ्नैपर्ने पुस्तक पनि हो । लेखनमा आफूले देखेको भोगेको विषय र परिवेशलाई पृथक एवं कलात्मक रुपमा पुस्तकमा अभिव्यक्त गरिएको छ ।

विभिन्न शीर्षकहरु दिएर लेखकले बाल्यकालदेखिका विभिन्न यात्रा पुस्तकमा आत्मपरक शैलीमा राखेका छन् । यो नै लेखकको विशिष्ठता पनि हो । पाठकले यस कृतिलाई आफ्नो जीवनको अनुभूतिसँग जोडेर हेर्न सक्नुहुनेछ । किनकि, यसमा हाम्रो परिवेश, अवस्था र सोच नजिक बुझ्न सकिन्छ ।

मुनामदन

महाकवि लक्ष्मी प्रसाद देवकोटाका उत्कृष्ट कृति हो ‘मुनामदन’ । खण्डकाब्यका रुपमा अजासम्म सर्वाधिक बिक्री हुने र रुचाइएकोमा पर्छ यो । समयको उत्कृष्ट रोजाइ पनि हो । सुन र नुन किन्न धन कमाउन भोट जाने त्यो समय र अहिलेको समयमा धेरै फरक छैन । फरक छ त केवल देश । अहिले भोटको सट्टा अरबको खाडी जाने बाध्यता छ, कथा व्यथा त्यही हो । अवस्था त्यही हो । मानवीय सोच त्यही हो ।

​लोक छन्दमा लयबद्ध मुनामदन महाकविको प्रिय कृति हो । उनले सबै जलाउनु, तर ‘मुना मदन’ नजलाउनु भन्नुको तात्पर्यबाट यसको उत्कृष्टता मापन गर्न सकिन्छ ।

राजनीतिक परिवर्तनले हामीलाई बोल्न मात्र सिकाएको यो अवस्थामा हामीले ‘मुनामदन’ पढेर आफूलाई समीक्षा गर्नुको विकल्प छैन । यसमा मुना र मदनको जीवनको प्रेम र विछोडलाई कविले काव्याक विशिष्ठताले सिँगारेका छन् । उनीजस्ता महान स्रष्टाको सम्मानमा यो कृति पढेर चाडपर्व मनाउनु नै उनीप्रतिको सच्चा श्रद्धा पनि हो ।

शाकुन्तल

‘शाकुन्तल’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको पहिलो नेपाली महाकाव्य हो । यो पूर्वीय मिथकका आधारमा लेखिएको छ । यो प्राचीन मिथक दुष्यन्त र शकुन्तलाको कथासँग जोडिएको छ । विषयवस्तु पुरानो र एउटा मिथक कथा भए पनि यसलाई लेख्ने लेखकीय शिल्पका आधारमा यो नेपाली साहित्यको पहिलो महाकाव्यका रूपमा परिचित छ ।

कवि देवकोटाको काव्यिक उडानको, काव्यिक कल्पनाको उचाइ, भाषाको प्राञ्जल स्वरूप र विषयविम्बहरूले भरिएको यो कृति असाध्यै सुन्दर छ । यो कृति एकपटक सबैले पढ्नुपर्छ ।

कम्युनिस्ट स्कुल

दसैँको खाली समयमा पढ्न उपयुक्त पुस्तकमध्ये ‘कम्युनिष्ट स्कूल’ पनि एक हुन सक्छ । लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित ‘कम्युनिस्ट स्कुल’को अध्ययनबाट विश्वमा कम्युनिष्टको उत्पतिका साथै नेपाली कम्युनिस्ट आन्दोलनको उत्पत्ति, विकास र सम्भावनाबारे जानकारी मिल्छ । पाँचवटा खण्डमा विभाजन पुस्तकमा पहिलो खण्डमा दर्शनशास्त्र समेटिएको छ । जीवन र जगतलाई हेर्ने, बुझ्ने र बदल्ने वैज्ञानिक विचार, विधि र बाटो नै माक्र्सवादी दर्शन हो भन्ने कुरालाई लेखकले प्रष्ट्याउन खोजेका छन् ।

पुस्तकको दोस्रो खण्ड मार्क्सवादी राजनीतिक अर्थशास्त्रमा केन्द्रित छ । मानिसका सारा गतिविधिहरु उसको पेटको आवश्यकताद्वारा निर्धारित हुन्छन् भन्ने कार्ल मार्क्सको भनाइ अघि सार्दै लेखकले माक्र्सवादी अर्थशास्त्रका अनेक आयामबारे चर्चा गरेका छन् ।  पुस्तकमा पुँजीवादी व्यवस्थाको गर्भबाट आधुनिक सर्वहारा वर्गको जन्म हुने र आफ्नै अन्तर्विरोधका कारण पुँजीवादी व्यवस्था समाप्त हुने निष्कर्ष छ । कम्युनिस्ट स्कुल’ पुस्तकको चौथो खण्ड विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास केलाइएको छ ।

पुस्तकको अन्त्यमा नेपाली कम्युनिष्ट आन्दोलनको उत्पत्ति, विकास र सम्भावनाको चिरफार छ । विस २००६ मा स्थापना भएको नेकपा, त्यसका कैयौँ उकाली, ओराली, विभाजन, जनआन्दोलन, जनयुद्ध हुँदै पुनः दुई तिहाई नजिक पुगेको नेकपासम्मको नालीबेली केलाइएको छ । पुस्तकको अन्तिम तथा पाँचौँ खण्ड विज्ञान र प्रविधिसँग सम्बन्धित छ । पुस्तकको अन्त्यमा लेखक तिमिल्सिनाले आजका वैज्ञानिक अन्वेषणहरुसँग यथोचित सन्तुलन र सरोकार राखेर मात्रै क्रान्तिकारी माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्न सकिने निष्कर्ष निकालेका छन् । कम्युनिस्ट राजनीतिमा आकर्षित हुँदै गरेका नयाँ युवा पुस्ताको आधारभूत ज्ञानको भोक मेट्न यो पुस्तक काम लाग्न  सक्छ । -रातोपाटीबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close