कोराना संक्रमणले कोरियामा २५ लाखले रोजगारी गुमाउँदा नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।

कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै २ लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार त्यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ । यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो ८ महिनायताकै उच्च हो ।

यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा ३ वा ४ दिन मात्र काममा बोलाउनेलगायतका कारण नियमित पाइरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउनसमेत मुस्किल भएको त्यहाँ श्रम गरिरहेका नेपालीहरूको भनाइ छ ।

यद्यपि एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले यो महामारीमा कोरियामा आम्दानी तथा काम घटे पनि विदेशी कामदारहरू विशेषगरी नेपालीहरू अझै सुरक्षित रहेको बताए ।

कोरियामा श्रम गर्ने नेपालीहरूको भिसा (इ–९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजागरी बचाइराख्न सक्ने भएका कारण नेपालीहरूलाई खासै चिन्ता नहुने उनले बताए ।

त्यहाँका मझौला तथा ठूला कम्पनीहरू विशेषतः बाह्य निर्यातमा निर्भर रहन्छन् ।

कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा त्यहाँको श्रमबजारमा अत्यधिक उथलपुथल देखिएको हो । रासस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close