सात पार्टीले राष्ट्रिय दलको मान्यता पाउँदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म कुल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ । हालसम्मको विवरणअनुसार सात दलले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् भने केही स्थानको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ ।
हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८७ हजार ७५९ मतसहित अग्र स्थानमा देखिएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५९ लाख ८७८ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेको छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ३९० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ५९७ मतसहित पाँचौँ स्थानमा छ । जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६ मतसहित छैटौँ स्थानमा देखिएको छ भने जनमत पार्टीले तीन लाख ९४ हजार ५१३ मतसहित सातौँ स्थानमा देखिएको छ ।
कुल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ । अहिलेसम्मको अवस्था हेर्दा यी सातवटा राजनीतिक दलहरूले तीन प्रतिशत मत कटाउने देखिएको छ । कुनै दलले तीन प्रतिशत मत कटाउनेबित्तिकै कम्तीमा तीन सिट पाउँछन् । कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार हाराहारी हुनसक्ने ठानिएको छ ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार ३५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार ६१४, मंगोल नेसनल अर्गनाइजेसनले ४८ हजार ७८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ३८१ मत प्राप्त गरेको छ । तर, तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा यी पार्टीले भने राष्ट्रिय दलको मान्यता पाउन सकस परेको छ ।
कमेन्ट गर्नुहोस !