दुधे दाँतको महत्व

-डा.पुष्कर काफ्ले

सामान्य नेपाली जनमानसले बुझ्ने – दुधे दाँत भनेको फेरिने दाँत हो । यसलाई बच्चाले जुन बेला दुख्यो भन्छ त्यहिबेला निकाल्दा हुन्छ भन्ने छ । दाँत दुखेर आयो भने हामी डेन्टल क्लिनिकमा पुग्यौं भने त ठिक छ यदि अन्यत्र पुग्दा वा दाँतको फेरिने र आउने समय फरक फरक हुने हुनाले कहिले नफेरिने (परमानेन्ट) दाँत पनि निकालिएको देखिन्छ ।
बच्चा जन्मेको ६ देखि ८ महिना भित्र दाँत आउन सुरु हुन्छ । त्यसबेला बच्चाले देखाउने लक्षण भनेको ज्वरो आउने, आमाको दुध चुस्न मन नगर्ने, रोइरहने, छटपटाहट जस्तो भैरहने हुन्छ । त्यो भनेको सामान्य अवस्था हो । यो बेला भनेको तल्लो बड्डाराको सबैभन्दा अगाडीको दाँत आउने समय हो । त्यहि ६ देखि ८ महिनामा आएको दाँत फेरिने वा अर्को दाँत आउने भनेको ६ देखि ८ वर्ष भित्रमा हो । त्यही भएर ६ महिनाको समयमा अन्न खुवाउने भनेर नेपाली समाजमा चलनचल्तीमा रहेको पाइन्छ । त्यहि अगाडीको दाँत आउने र बाँकी दुधे दाँत भएको बेला सबैभन्दा पछाडी कहिले नफेरिने गरी (परमानेन्ट) दाँत आएको हुन्छ जसमा ५० देखि ६० प्रतिशत किरा लाग्ने सम्भावना हुन्छ । किनकी ६ वर्षमै आउने पहिलो स्थायी पहिलो बंगारा भएको हुनाले बच्चाले त्यस समयमा दाँत तथा मुख सफाइमा खासै ध्यान नदिने हुनाले त्यो दाँतमा किरा लाग्ने सम्भावना हुन्छ । यदि बच्चाका परिवारले त्यो दाँत फेरिएकै छैन भन्ने र दाँत सम्बन्धी ज्ञान नभएको व्यक्तिमा पुगियो भने त्यो दाँत निकाल्दा हानी पुग्दछ ।

बच्चाको दुधे दाँत आउने आफ्नै समय र तालीका हुनछ । हाम्रो दाँत एकैपटकमा सबै आउने र फेरिने हुदैंन । मुखमा झरेको र आएको दाँत गन्ती गरियो भने सजिलै बच्चाको उमेर थाहा लाग्दछ । दुधे दाँतमा किरा लाग्यो भने त्यसलाई निकाल्नु राम्रो होइन । कुनै पनि दाँत हल्लिनु भनेको अर्को नयाँ दाँत तलबाट आउन थाल्यो भन्ने सूचक हो र त्यसैले नै हल्लाउन भूमिका खेलेको हो भन्ने बुझ्नुपर्दछ । यो समयमा दाँत निकाल्दा कुनै समस्या आउदैंन । तर दाँत आउने र झर्ने उपर्युक्त समय नमिलेको खण्डमा दाँत दुख्यो भनेर निकाल्दा तलबाट आउने दाँत सिधा आउनुपर्ने ठाउँमा नआइदिने र छेउछाउका दाँत सरेर आउने दाँतलाई ठाउँ नै नदिने हुन्छ । गिजाभित्रै दबिएर बस्ने र दाह्रा बनेर बाहिर उछिटिने हो । त्यस्तै समय भन्दा पछि हल्लिएर पनि ननिकाल्दा पनि यो समस्या नै देखिने छ । बच्चा ८ देखि १० वर्ष हुदाँ अगाडीको कोदाली जस्तो चेप्टो दाँत(सेन्ट्रल इनसाइजर) फाँटेको टम्म टाँसिएको हुदैंन तर जब कुकुर दाँत ९ देखि १० वर्षको बीचमा आउने ती दाँतलाई धकेल्दैं आउने भएकोले आफै मिल्ने हुन्छ । बच्चाको दुधे दाँत टम्म मिलेर आउनु राम्रो होइन । दुधे दाँत छिद्रा भएर फाँटिएर आएको नै पछि आउने दाँत टम्म मिलेर आउने संकेत हो । किनकी दुधे दाँतको आकार सानो हुन्छ र नयाँ आउने दाँत त्यो भन्दा फराकिलो हुने हुनाले त्यसलाई पर्याप्त ठाउँ पुग्ने र खप्टिएर आउनबाट जोगाउन मद्धत गर्दछ । त्यसैले दुधे दाँत फाटिएर वा छिद्र भएर आएको राम्रो र नआत्तिई दाँतको डाक्टरसँग परामर्श लिने अवस्था हो । त्यस्तै दुधे दाँत टम्म मिलेर आएको छ भने नयाँ आउने दाँत बाड्डो र खप्टिएर आउने धेरै नै सम्भावना रहन्छ त्यो बेला दाँत योजना बनाएर निकाल्नुपर्ने पनि हुन्छ ।

निष्कर्ष
बच्चाको दाँत समयभन्दा पहिले नै निकाल्नुपर्ने अवस्था भयो भने त्यसमा दाँत नसर्ने र आउने दाँतलाई कुनै रोकावट नआउने गरी स्पेस मेन्टेनर भन्ने दन्त प्रविधिको प्रयोग गरी त्यसलाई समाधान गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close