नेपालमा ६० प्रतिशत एकतले घर, ६ लाख बढी घर खाली

काठमाडौँ। नेपालमा झन्डै ६० प्रतिशत घर एकतले रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सार्वजनिक गरेको थप नतिजाअनुसार नेपालभर रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरूमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले घर रहेको देखिएको हो।

त्यस्तै, दोस्रोमा २८.७८ प्रतिशत दुईतले, तेस्रोमा ९.१७ प्रतिशत तीनतले छन्। चारतले १.३ प्रतिशत, पाँचदेखि साततले ०.६४ प्रतिशत, आठदेखि नौतले ०.०१ प्रतिशत र १० तले ०.००३ प्रतिशत घरहरू रहेको देखिएको छ। तथ्यांकअनुसार मधेश प्रदेशमा एकतले घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छन्।

नेपालमा निर्माण गरिएका कुल घरहरूमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर चार वर्षसम्म पुरानो छन्। सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरू ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए।

देशभित्र वसोबास गर्ने ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशतले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएका छन्। अनुदान लिने सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेका छन्।

त्यसैगरी, देशभरका कुल परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा एक जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ। कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ।

यसैगरी, कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ लाख ३६ हजार १२७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तिमा एक जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिएको छ। जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात् ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ।

त्यसैगरी, २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ। सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएका छन्। राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी रेग्मीले ६ लाखभन्दा बढी घरहरू रित्तो अवस्थामा रहेको बताए।

उनले सार्वजनिक गरिएको तथ्यांकले हाम्रो वित्तीय पहुँच कति छ, सिपयुक्त जनशक्तिको अवस्था, घरको अवस्था कस्तो छ? लगायतका विषय समेटिएको बताए। यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउने पुग्ने उनको भनाइ छ। उकालो डटकमबाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close