भारतबाट आएपछि चिनीको मूल्य प्रतिकलो ९० रुपैयाँ!

काठमाडौं ।   तिहारमा चिनी सहज हुने भएको छ। शुक्रबारदेखि नेपालकै उद्योगबाट उपत्यकामा चिनी भित्रिन थालिसकेकाले नै उपत्यकाको बजारमा सहज चिनी पाइने भएको हो।

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयका अनुसार तिहारको समयमा चिनी अभाव हुन नदिन एभरेस्ट सुगर मिलमा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी शुक्रबारदेखि उपत्यकाको बजारमा आउन थालिसकेको छ। मन्त्रालयको पहलमा विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिमाणको चिनी आपूर्ति मन्त्रालयको समन्वयमा नेपाल खुद्रा व्यापार संघमा आबद्ध व्यापारीमार्फत बजारमा ल्याएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा दुई सय मेट्रिक टन भित्रिएको छ। शनिबार ३०० मेट्रिक टन चिनी भित्रिनेछ। आपूर्ति मन्त्रालयका प्रवक्ता एवं आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले अबको तीन दिनभित्र उपत्यकामा चिनी सहज हुने जानकारी दिए। नेपालका उद्योगीबाट आएको चिनी खुद्रा व्यापारीमार्फत प्रतिकेजी ११७ रुपियाँमा बिक्री हुने पनि उनले बताए।

नेपाल सरकारको माथिल्लो तहबाट आग्रहपछि भारतको कृषि मन्त्रालयले भारतको प्रचलित मूल्य अनुसार नेपालमा तत्काल २५ हजार मेट्रिक टन चिनी निर्यात गर्ने अनुमति दिएको हो। यसअघि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएकाले बजारमा चिनी अभाव भएको थियो। विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो।

भारतले तीनचार महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो। अब भारतबाट ‘जीटुजी’बाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाव हट्ने विश्वास गरिएको छ।

२० हजार मेट्रिक टन भन्सार छुटमा

आपूर्ति मन्त्रालयका अनुसार भारतबाट २० हजार मेट्रिक टन भन्सार छुटमा सरकारी सहमति अनुसार ल्याइनेछ भने बाँकी पाँच हजार मेट्रिक टन केही दिनमा आउनेछ। भन्सार छुटमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ल्याइने १०/१० हजार मेट्रिक टन चिनी पहिलेभन्दा सस्तो हुनेछ।

अहिले भारतमा बिक्रीको प्रचलित मूल्य अनुसारको चिनी आउने भएकाले भन्सार शुुल्क र ढुुवानी जोड्दा प्रतिकेजी ९० रुपियाँभित्रै उपभोक्ताले प्राप्त गर्न सक्ने आपूर्ति मन्त्रालयले दाबी गरेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close