स्वास्थ्यकर्मी सहित अर्घाखाँचीमा २२ जनामा कोरोना संक्रमण

-प्रेमनारायण आचार्य
अर्घाखाँची जिल्ला अस्पतालका १४ जना स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब पठाइएकोमा पाँच जना चिकित्सक, ९ जना स्वास्थ्यकर्मी र ८ जना समुदायस्तरका गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौत्मले बताए।
डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो। स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अस्पतालबाट प्रदान हुने अत्यावश्यक र प्रसुती सेवा बाहेकका सम्पूर्ण सेवा सोमबारदेखि बन्द गरिएको छ।
आज थपिएकासँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए। जिल्लाका समुदाय स्तरमा घुलमिल गर्नेहरुलाई कोरोना संक्रमण देखिएको छ।
४ दिनअघि राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोककुमार थापा क्षेत्री, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल, अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा लगायतका व्यक्तिमा कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन्।
एक हप्ताअघि कोरोना देखिएपछि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेल, र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा पनि आइसोलेसनमा छन्। कोरोनाका कारण अर्घाखाँचीमा ३ जनाको मृत्यु भएको छ।
कमेन्ट गर्नुहोस !