बुटवलमा स्कुटर जलाउनेविरुद्ध मुद्दा दायर

तिलोत्तमा — लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा भएको आन्दोलनका क्रममा स्कुटर जलाउनेहरु विरुद्ध मुद्दा दायर भएको छ । तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटर जलाई ‘अपराधिक उपद्रव’ गरेको भन्दै सन्दिप पाण्डेयलगायत ४ जनाविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका ११ का भेषराज पोख्रेल र रोशन थापा, तिलोत्तमा नगरपालिका २ का सन्दिप पाण्डेय र गुल्मीका सुरज क्षेत्रीविरुद्ध मुद्दा दायर भएको छ ।राजधानी सार्ने विषयलाई लिएर असोज १६ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको पुस्तक प्रकाशनको कामका लागि स्कुटर चढेर आएकी कर्मचारी शारदा भट्टराईलाई झारेर बुटवल ११, देवीनगर होराइजन चोकमा स्कुटर जलाइदिएका थिए ।त्यस्तै, असोज १९ गते रुपन्देहीको देवदह नगरपालिका ५ खैरेनीमा ड्युटीमा जाँदै गरेका महिला प्रहरी चढेको स्कुटर रोकी बिलबुक र लाइसेन्स माग्दै स्कुटर फुटाइदिने धम्की दिएका २ जनालाई पनि पक्राउ गरिएको छ ।
कर्मचारीलाई काम कर्तव्यमा बाधा पुर्याई फरार भएको भन्दै सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए । पक्राउ पर्नेमा देवदह ४ का वसन्त रेग्मी र वसन्त खासु छन् ।
कमेन्ट गर्नुहोस !