कक्षा १२ को परीक्षा भोलिदेखि

मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका हुन्।
कक्षा १२ को परीक्षा गत वैशाखमा हुनुपर्ने भए पनि कोरोना महामारीले गर्दा रोकिएको थियो।
त्यसबेला स्थगित गरिएको परीक्षा मंसिर ९ गतेदेखि गर्न लागिएको मन्त्री पोखरेलले जानकारी दिए। परीक्षाका सबै तयारी पूरा भइसकेको छ। यो परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ।
कोरोना संक्रमण भएर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिन सकिने पनि मन्त्री पोखरेलले बताए। ‘कोरोना संक्रमित भए पछि परीक्षाको व्यवस्था गरिएको छ,’ उनले भने।
कक्षा १२ को परीक्षाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रश्न नउठोस् भनेरै महामारीका बीच पनि परीक्षा लिनु परेको मन्त्री पोखरेलको भनाइ छ।
कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ। अरू कक्षा ११ को अंक, आन्तरिक कक्षा कार्य तथा बेलाबेला लिइएका परीक्षाबाट विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउनेछन्। परीक्षा केन्द्रमा भिडभाड नगर्न पनि मन्त्री पोखरेलको आग्रह छ।
कमेन्ट गर्नुहोस !