ह्वाइट हाउस छोड्न तयार रहेको ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् ।

नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएका छन् र उनको जितलाई औपचारिकता प्रदान गर्ने क्रममा राज्यहरु रहेका छन् । तर ट्रम्पले भने बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले बिहीबार पत्रकारसँग हार स्वीकार गर्न ‘कठिन’ हुने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।

चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए । बाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन् ।

अहिलेसम्म ट्रम्पको कानूनी टिमले दायर गरेका तीन दर्जन मुद्दा खारेज वा विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् ।

इलेक्टोलर कलेज मतले डिसेम्बर १४ मा औपचारिकता पाएपछि बाइडेनले जनवरी २० मा शपथ लिने छन् ।

बिहीबार पत्रकारले इलेक्टोरल कलेज मतमा पराजित भएको औपचारिक घोषणा भएपछि ह्वाइट हाउस छोड्न तयार रहे–नरहेको भनि सोधेको प्रश्नमा ट्रम्पले भने, ‘पक्कै पनि छोड्ने छु र त्यो तपाईँहरुले थाहा पाउनु हुनेछ ।’

तर उनले अघि भने, ‘तर उनीहरु (इलेक्टोलर) ले जो बाइडेनको जितलाई औपचारिकता प्रदान गरे भने उनीहरुले गल्ती गर्ने छन् ।’ आफूले कहिल्यै पनि हार स्वीकार नगर्ने संकेत गरेका छन् ।

उनले आरोप लगाए, ‘हार स्वीकार गर्न कठिन हुनेछ किनकी चुनावमा ब्यापक धाँधली भएको छ।’ तर त्यसका लागि उनले कुनै प्रमाण पेश गरेनन् ।

ट्रम्पको आरोप विपरित निर्वाचन सुरक्षाको जिम्मेवारी पाएको उनकै प्रशासनको संघीय निकायहरुले भने नोभेम्बर ३ को चुनाव अमेरिकी इतिहासमै पारदर्शी र सुरक्षित भएको बताएका छन् ।

तस्बिरहरुः गेट्टी इमेज, देशसन्चारबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close