प्रधानमन्त्रीको बामदेव कार्ड !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान सवा ११ बजेतिर प्रचण्डनिवास खुमलटारमा प्रवेश गरे ।

प्रधानमन्त्री पुगेको १५ मिनेट पनि नबित्दै उपाध्यक्ष वामदेव गौतम पहेंलो टोपी लगाएर प्रचण्डनिवासमा देखा परे । ओली सँगसँगै जस्तो गरी प्रचण्डनिवासमा पुगेका उपाध्यक्ष गौतमको उपस्थिति अर्थपूर्ण देखिएको नेकपाका नेताहरु बताउँछन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिन थालेका छन् । पुस १ गते बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष गौतमतर्फ पुलुक्क हेर्दै अब प्रधानमन्त्री फेर्ने नै भए नयाँलाई बनाउनुपर्ने बताएका थिए ।

स्थायी कमिटीमा ओलीको यस्तो भाषण सुनेपछि उपाध्यक्ष गौतम उत्साहित बनेका थिए । बैठकलगत्तै उनले आफू निकटस्थहरुलाई टेलिफोन गरेर ओलीजीले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव बैठकमै राखेको सुनाए ।

नेकपा स्रोतका अनुसार शनिबार खुमलटारको भेटमा पनि प्रधानमन्त्री ओलीले आफूले छाड्नुपरे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । यद्यपि यसबारे औपचारिक प्रतिक्रिया दिन कसैले मानेका छैनन् ।

वामदेव राष्ट्रियसभाको सदस्य भएका कारण संविधानको अहिलेको प्रावधानअनुसार उनी प्रधानमन्त्री बन्न मिल्दैन । गौतमलाई प्रधानमन्त्री बनाउने हो भने ‘राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने’ प्रावधानसहित दुईतिहाई बहुमतबाट संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

स्थायी कमिटीका एक सदस्यका अनुसार पुस १ गतेको बैठकमा प्रधानमन्त्री ओलीले यही कार्यकालमा प्रधानमन्त्री बनाउन भनेका होइनन् । आगामी चुनावसम्म आफैं प्रधानमन्त्री रहने र अर्को चुनावपछि नयाँलाई बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइको सार रहेको ती नेताले बताए ।

तर, शनिबार खुमलटारमा भने प्रधानमान्त्री ओलीले यही कार्यकालमै वामदेवलाई बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो । जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले त्यसमा आफूहरुको विमती नरहेको बताए । त्यसका लागि तपाईले पहिला राजीनामा दिनुस् न त भन्दा ओलीले अस्वीकार गरेको स्रोतको दाबी छ ।

पार्टीको ९ सदस्यीय सचिवालयमा बहुमत जुटाउनका लागि वामदेव गौतम र रामबहादुर थापा बादलको साथ लिन खोजिरहेका प्रधानमन्त्री ओली शनिबार खुमलटारबाट फर्कँदा पुल्चोकस्थित वादलको सरकारी निवासमा केहीबेर बसेका थिए ।

पार्टी नेताहरुसँगको भेटघाटपछि प्रधानमन्त्री ओली विकसित घटनाक्रमबारे राष्ट्रपतिलाई जानकारी गराउन शनिबार साँझ शीतलनिवास पुगेका छन् । -अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close