ओलीको आमसभा : निर्मलालाई न्याय माग्दा पक्राउ, कालो टोपी लगाउनेलाई रोक

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा सम्बोधन गरेको आमसभास्थलबाट प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खोइ ?’ लेखिएको टिसर्ट लगाउने सात युवालाई पक्राउ गरेको छ ।प्रधानमन्त्री ओलीको विरोधस्वरूप उक्त टिसर्ट लगाएर गएका धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रवीन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए । उनीहरू दाहाल–नेपाल समूह समर्थक युवा रहेको युवा संघका केन्द्रीय सदस्य दीपक सिंहले बताए । प्रहरीले उनीहरूकै सुरक्षाका लागि पक्राउ गरेको बताएको छ । ‘सामान्य सोधपुछ गरेर उनीहरूलाई छाडिएको छ,’ डीएसपी विष्टले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले न्यायका लागि आवाज उठाएका युवालाई शुक्रबार धनगढीमा पक्राउ गरिएको घटनाको निन्दा गरेका छन् । ‘दोषीलाई कारबाही माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हो,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् । आमसभास्थलमा कालो रङको टोपी, मास्क, रुमाललगायत वस्तु लैजान रोक लगाइएको थियो । सभामा सहभागी हुन आएकाले प्रवेशस्थलमा कालो रङको टोपीसमेत खल्तीमा राख्नुपरेको थियो ।

भादगाउँले कालो टोपी पनि लगाउन नपाएको सभामा पुगेका स्थानीय सिद्धराज भट्टले बताए । ‘शिरमा लगाउने टोपी कुनै पनि रङको हुन सक्छ,’ उनले भने, ‘यो चिसोमा किन टोपी निकाल्न भने, थाहा भएन ।’ उनले जनताको शिरको टोपीबाट समेत सरकार डराउनुको अर्थ नबुझेको बताए । धनगढी उपमहानगर–५ की हर्ककला साउदले दुपट्टाको रङ हलुका कालो भएकाले ओढ्न नपाएको बताइन् । ‘यस्तोचाहिँ नगरेको भए हुन्थ्यो,’ उनले भनिन् ।

धनगढी चौराहाका रमेश धामीले रातो, नीलो रङको रुमाल पनि लैजान नपाएको बताए । ‘मान्छेको शिरको टोपीले कसरी प्रधानमन्त्रीको अपमान हुन्छ ?’ धामीले भने, ‘यसले जनताको अपमान गर्‍यो ।’ कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कडा जाँच गरेर मात्रै प्रवेश गर्न दिएका थिए । कोरोना कहरका बीचमा पनि आमसभामा भने उल्लेखनीय उपस्थिति थियो ।

आयोजकले गाउँ–गाउँबाट जनता ओसारेका थिए । आयोजकले ५० हजारभन्दा बढी जनता खुलामञ्चमा उतार्ने भन्दै कैलाली र कञ्चनपुरका बस्तीमा सार्वजनिक बस पठाएका थिए । ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाले दाहाल र नेपाल समूहले आमसभामा आउन अवरोध सिर्जना गरेको आरोप लगाए । प्रधानमन्त्री ओली धनगढी पुग्नुअघि दाहाल–नेपाल समूहनिकट अनेरास्ववियुका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री आउँदा विमानस्थलदेखि कार्यक्रमस्थलसम्म मुख्य बजारमार्गमा अन्य सवारीसाधनलाई रोक लगाइएको थियो । सर्वसाधारणको आउजाउमा समेत रोक लगाउनु तानाशाही प्रवृत्ति भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए ।कान्तिपुर दैनिक बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close