प्रचण्ड–माधव पक्षतिर लागे जिल्ला नेता चौहान
पुर्व एमाले जिल्ला सचिव रहेका नेकपा अर्घाखाँचीका प्रभावशाली नेता रामबहादुर चौहानद्वारा प्रचण्ड-नेपाल नेतृत्वको नेकपालाई समर्थन गर्ने घोषणा ।

सागर महत/सबैको सन्देश
नेकपाको विवादले नेता तथा कार्यकर्ता आपसमा बाँडिरहेका बेला अर्घाखाँचीका यूवा नेता रामबहादुर चौहान प्रचण्ड–माधव पक्षतिर खुलेका छन् । आज जिल्लामा पत्रकार सम्मेलन गर्दे चौहानले आफू प्रचण्ड–माधव पक्षतिर रहेको बताएका हुन् ।
यो पछिल्लो राजनीतिक घटनाक्रमले आफू बिरामी भएको समेत उनले बताए । काठमाण्डौं गएर करिब १२ दिन बसेको भन्दै उनले केपी ओली बाहेक पूर्व प्रधानमन्त्री र धेरै नेतालाई भेटेर नेताहरुलाई सजग गराएको पत्रकार सम्मेलन मार्फत बताए । सरकारले संविधानको कुनैपनि धारामा नटेकी र प्रक्रिया नपुर्याई संसद विघटन गरेकाले यो असंवैधानीक कदमको विरोध गर्नुपर्ने बताए । प्रतिनिधी सभाको विघटन पूरै असंवैधानी, प्रतिगामी र अलोकतान्त्रीक भएको भन्दै यो कदम उठाउने प्रतिगामीको गोटी बनेको घुमाउरो आरोप समेत लगाए । प्रतिनिधी सभालाई बचाउन संघर्ष गर्नुपर्ने बेला आएको बताएका चौहानले सर्वोच्च अदालतप्रति विश्वास रहेको बताए । अब सबै नेता कार्यकर्ता ‘नामकाजी’ हैन ‘कामकाजी’ बन्नुपर्ने आवश्यकता रहेको भन्दै उनले अब नेकपालाई शसक्त्त पार्टी बनाउने बताए ।
अर्घाखाँची जिल्लाले धेरैपटक मन्त्री पाएपनि काममा भन्दा गफमा मात्रै सिमित रहेको टिप्पणी गरे । आफू पद र प्रतिष्ठाको लागि मरिहत्ते गर्ने मान्छे नभएको भन्दै अहिलेको ठूलो कुरा संविधान बचाउनु रहेको बताए ।
प्रष्ट वक्ताको रुपमा चिनिने चौहान विधार्थी राजनीतिबाट आएका हुन् । उनले तत्कालिन एमालेको जिल्ला सचिवको पदमा समेत रहेर काम गरिसकेका छन् ।
वि.स. २०३८ सालदेखि अनेरास्ववियूमा संगठित भएर राजनीतिमा लागेका चौहान पटक पटक जेल समेत परेका छन् । वि.स. २०४९ सालमा पाणिनी बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका चौहान त्यसपछि अनेरास्ववियुको जिल्ला अध्यक्ष, राष्ट्रिय परिषद् सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय प्रचार विभाग सदस्य हुँदै तत्कालिन एमालेको जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए ।
उनले केही समय अघि नेता कार्यकर्ताबाट आफू निर्देशित हुने भन्दै सामाजिक सन्जाल फेसबुकमा सुझाव मागेका थिए । उनले करिब १ महिनापछि सामाजिक सन्जालमा “नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) मा देखिएको विवादका कारण सिङ्गो मुलुकमा उत्पन्न गम्भीर संकट पछि अब कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा अमुल्य सल्लाह , सुझाव र मार्गनिर्देशनको अपेक्षा सहित करिब एक महिनासम्म गम्भीर परामर्शमा जुटियो । प्रत्यक्ष भेटघाट , सामाजिक सन्जाल , टेलीफोन र म्यासेज मार्फत महत्त्वपूर्ण सल्लाह , सुझाव र मार्गनिर्देशन प्रदान गरि निष्कर्षमा पुग्न प्रेरणा प्रदान गर्नुहुने सम्माननिय पूर्व प्रधानमन्त्रीज्युहरु , राजनीतिक दलका शिर्ष नेताज्युहरु , कानुनविद , बुद्धिजीवी , नागरिक समाज , संचारकर्मी लगायत हजारौं आदरणीय जनसमुदायहरु प्रति हार्दिक आभार एवम् कृतज्ञता ज्ञापन गर्दछु ।” स्टाटस लेख्दै सबै सुझावकर्तालाई आभार व्यक्त गरेका छन् ।
मालारानी गाउँपालिका वडा नं. ५ मा जन्मेका चौहान प्रचण्ड–माधव पक्षतिर लागेपछि जिल्लामा यो समूह बलियो हुने आंकलन गरिएको छ । तथापी तत्कालिन प्रतिनिधी सभामा निर्वाचित सांसद तथा उर्जामन्त्री टोपबहादुर रायमाझीको निर्वाचन क्षेत्र भएको अर्घाखाँचीमा केपी समूहले समेत आफू जिल्लामा बलियो रहेको दाबी गर्दे आइरहेको छ । मन्त्री रायमाझी केपी ओली पक्षमा लाग्दै जिल्लाका विभिन्न ठाउँमा संगठन विस्तार तथा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न क्रियाशिल रहदैं आएका छन् ।
कमेन्ट गर्नुहोस !