नागरिक आन्दोलनमाथि निर्मम दमन

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनप्रति सरकार निर्मम दमनमा उत्रिएको छ । बृहत् नागरिक आन्दोलन र मानव अधिकारवादीले सोमबार गरेका छुट्टाछुट्टै कार्यक्रममा सरकारले अत्यधिक बल प्रयोग गरेको हो ।प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार राजधानीको बालुवाटारमा बृहत् नागरिक आन्दोलनले गरेको मार्चपासका सहभागीलाई धरपकड गर्दै प्रहरी । बृहत् नागरिक आन्दोलनको कमलपोखरी–बालुवाटार मार्चपासमा सहभागी कवि, कलाकार, लेखक, पत्रकार, कानुन व्यवसायी, बुद्धिजीवीलगायतलाई प्रहरीले प्रधानमन्त्री निवास बालुवाटारको करिब पाँच सय मिटरवरै रोकेर अन्धाधुन्ध लाठी बर्साउनुका साथै पानीका फोहरा प्रहार गरेको थियो । प्रहरीको कुटाइबाट दर्जनभन्दा बढी घाइते भएका छन् । नागरिक आन्दोलनले ६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।मार्चपासमा सहभागी लेखक तथा अभियन्ता सञ्जीव उप्रेतीले नागरिकका आवाज नियन्त्रण र निरंकुश शासनको अभ्यासअन्तर्गत सरकार अघि बढेको बताए । ‘प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्ध सरकारलाई यसो नगर, नागरिकका हक–अधिकारको संरक्षण गर, संविधान पालना गर भनेर हामी शान्तिपूर्ण रूपमा जानकारी गराउन गएका थियौं तर सरकार बल प्रयोगमा उत्रियो, यसले बाहिर जति नै प्रजातन्त्र, लोकतन्त्रका भाषण गरे पनि नागरिकका आवाज बन्द गर्ने सरकारको नियत छताछुल्ल भयो,’ उनले भने ।

उप्रेतीले प्रतिनिधिसभा विघटनपछि सरकारको आत्मबल कमजोर मात्रै होइन, हतास मनस्थितिमा पुगेका कारण बल प्रयोगको नीतिमा अघि बढेको आरोप लगाए । ‘प्रजातन्त्र बलियो भएका मुलुकमा नागरिकका हक–अधिकार र फरक मत राख्नेका आवाज सुनिन्छन्,’ उनले भने, ‘तर सरकारको पछिल्लो रवैया हेर्दा फरक मत राख्नेका आवाज सुन्न होइन, सरकार निरंकुश शासनबाट अघि बढ्न चाहेको पुष्टि हुन्छ ।’पत्रकार तथा नागरिक अभियन्ता नारायण वाग्लेले सरकारले शान्तिपूर्ण प्रदर्शन र विरोध कार्यक्रममा दमन गरेको भन्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए । उनले आफूहरू काठमाडौं सभ्यताको कालो माटो निधारमा पोतेर प्रतिगमनविरुद्ध आन्दोलनमा उत्रिएको जनाए । शासकीय शक्ति सन्तुलनलाई खलबल्याएर प्रधानमन्त्री ओलीले निरंकुश शासन लादेको उनको भनाइ थियो । ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं तर प्रहरीले बर्बर दमन गर्‍यो, नागरिकका हक–अधिकार कुण्ठित गर्‍यो,’ उनले भने, ‘अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

प्रदर्शनमा उनले आफूविरुद्ध संसद्‍मा अविश्वास प्रस्ताव आउने डरले प्रतिनिधिसभा विघटन गरेको बताए । ‘हिजो नारायणहिटीबाट राजा नागार्जुन सर्न हुने तर बालुवाटारबाट प्रधानमन्त्री ओली बालकोट सर्न नहुने ? प्रधानमन्त्रीको अहमताको श्रीपेच फुकाल्नकै लागि नागरिक आन्दोलन जुर्मुराएको छ,’ उनले भने । लेखक खगेन्द्र संग्रौलाले नागरिक अधिकारका पक्षमा हुने हरेक आन्दोलनमा आफ्नो साथ/समर्थन रहने बताए ।विघटन प्रतिगमन र असंवैधानिक कदम भन्दै यसअघि पनि बृहत् नागरिक आन्दोलनका तर्फबाट माइतीघरमा विरोध प्रदर्शन भएको थियो । त्यसकै निरन्तरतास्वरूप बालुवाटार केन्द्रित मार्चपास तय भएको थियो ।

आन्दोलनका तर्फबाट युग पाठकले सोमबार साँझ विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा भएको निर्मम दमनको भर्त्सना गरेका छन् । उनले शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको सरकारको हतास मनोदशा र दमनकारी चरित्र उजागर गरेको जनाएका छन् ।कमलपोखरी, हात्तीसार–नागपोखरी, गैरीधारा–छातेगणेश, भाटभटेनी हुँदै बालुवाटारतर्फ लागेको टोलीलाई प्रहरीले भाटभटेनी पीपलबोटमा ब्यारिकेड राखेर रोकेको थियो । त्यहाँ आयोजित कोणसभालाई पत्रकार एवं नागरिक अभियन्ता वाग्लेलगायतले सम्बोधन गरेका थिए । कोणसभापछि अघि बढ्न खोज्दा प्रहरीले नागरिक अभियन्तामाथि हस्तक्षेप गरेको थियो ।

यस्तै मानव अधिकारवादीको समूहले अदालतमा विचाराधीन मुद्दा प्रभावित बनाउने गरी प्रधानमन्त्री ओलीका अभिव्यक्ति आएको भन्दै सोमबारै बालुवाटार घेराउ गरेको थियो । निषेधित क्षेत्र तोडेको भन्दै कृष्ण पहाडी, कृष्ण कँडेललगायत २६ जना मानव अधिकारवादी राष्ट्र बैंकनजिकैबाट पक्राउ परेका थिए । केहीबेरको ठेलमठेलपछि प्रहरीले उनीहरूलाई गाडीमा राखेर प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा पुर्‍याई साँझ रिहा गरेको थियो । मानव अधिकारवादी कँडेलले जस्तोसुकै निषेध र बल प्रयोग गरिए पनि शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार र संविधानको रक्षार्थ शान्तिपूर्ण विरोधलाई जारी राख्ने बताए ।

गृह मन्त्रालयले दुवै विरोध कार्यक्रमलाई लक्षित गरेर बालुवाटार क्षेत्रमा आइतबार साँझबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बढाएको थियो । प्रतिनिधिसभा विघटनपछि पुस ५ यता राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्री निवास, सिंहदरबार, निर्वाचन आयोग, सर्वोच्च अदालतलगायत महत्त्वपूर्ण कार्यालय तथा भवन आसपास सुरक्षा तैनाथी बाक्लो बनाइएको छ ।

बालुवाटार वरिपरि सर्वसाधारणभन्दा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । सोमबार बिहानैदेखि अरू दिनभन्दा फरक शैलीमा प्रहरी र सशस्त्रका दस्ता तैनाथ थिए । पानीका फोहरा र भीड नियन्त्रण गर्ने उपकरण पनि निषेधित क्षेत्रका गौंडा–गौंडामा राखिएका थिए । रिजर्भ फौज पनि बालुवाटार क्षेत्रमा खटिएका थिए ।महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले शान्तिपूर्ण रूपमा भइरहेको कार्यक्रमस्थलबाट सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार भएपछि सामान्य बल प्रयोग गर्नुपरेको बताए ।

शान्तिपूर्ण रूपमा कार्यक्रम भइरहँदासम्म सुरक्षाकर्मी संयमित बनेको तर एकाएक प्रदर्शनकारीले नाराबाजी र ढुंगामुढा प्रहार गर्न थालेपछि बाध्य भएर लाठीचार्ज र पानीका फोहरा हानेर निषेधित क्षेत्र प्रवेश गर्न रोकेको उनको भनाइ छ । मार्चपासमा सहभागी लेखक उप्रेतीले पनि कार्यक्रमस्थलबाट केहीले ढुंगामुढा हानेको र त्यसको आफूहरूले विरोध गरेको बताए ।

‘हामी कुनै आस्था वा राजनीतिक नारा बोकेर प्रदर्शनमा गएका होइनौं, हामी संविधानको रक्षा र नागरिक हक–अधिकार तथा फरक मतलाई सम्मान गरियोस् भनेर सम्झाउन गएका हौं,’ उनले भने, ‘कार्यक्रममा ढुंगामुढा प्रहार भयो, यसको हामी विरोध गर्छौं, यसलाई कसैले पनि राजनीतिक रङ दिन आवश्यक छैन ।’ सुरक्षाकर्मीले असंयमित भएर निर्मम रूपमा बल प्रयोग गरेको उनको आरोप छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नागरिक आन्दोलनमा घुसपैठ गरेर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि सामान्य बल प्रयोग गरिएको दाबी गरे । ‘बृहत् नागरिक आन्दोलनको व्यानरमा भएको शान्तिपूर्ण प्रदर्शनमा हामीले सहयोग गरेकै हौं, सुरक्षाकर्मीले संयम अपनाएकै हुन् तर आन्दोलनमा घुसपैठ गरेर प्रहरीलाई उत्तेजित पार्ने, ढुंगामुढा गर्नेलगायतका उच्छृंखल गतिविधि भएपछि पानीका फोहरा र लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिनुपरेको हो ।’

उनले कानुन हातमा लिने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने बताए । प्रशासनले तोकेका निषेधित क्षेत्र तोड्ने क्रियाकलाप जारी राखे निषेधित क्षेत्रको दायरा पनि बढ्न सक्ने उनले चेतावनी दिए ।कान्तिपुर दैनिक बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close