प्रहरीमा कोरोना संक्रमणको दर बढ्दैं

प्रहरीमा हरेक दिन २३ जना हाराहारीलाई कोरोना

देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । संक्रमण हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ । यो आँकडाअनुसार औसतमा प्रत्येक दिन २३ प्रहरी कोरोना संक्रमित भइरहेका छन् । तीव्र संक्रमणबीच प्रहरीको ड्युटी समय पनि बढेको छ ।

प्रहरीमा कोरोना संक्रमण कसरी बढ्दै छ भनेर बुझ्न झन्डै एक महिनाको पछिल्लो तथ्यांक काफी छ । साउन ११ मा कोरोना संक्रमण भएर उपचार गराइरहेका प्रहरीको संख्या २४ मात्रै थियो । आठ दिनपछि अर्थात् साउन १९ मा यो संख्या बढेर १ सय ५९ पुग्यो भने त्यसयताको १८ दिनमा अर्थात् शुक्रबारसम्म उपचाररत संक्रमित प्रहरीको संख्या ५ सय ८३ पुगेको छ । प्रहरीभन्दा नागरिकसँग कम सम्पर्कमा रहने भएकाले होला सशस्त्र प्रहरीमा भने कोरोना संक्रमणको दर कम देखिन्छ । साउन ११ मा देशैभरि २६ सशस्त्र प्रहरी कोरोना संक्रमण भएर उपचाररत थिए । भदौ ५ मा सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । अर्थात् २६ दिनको अवधिमा औसतमा दिनहुँ ७ जनाभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

देशव्यापी रूपमा कोरोना संक्रमण तीव्र बन्दै जाँदा प्रदेश २ र ५ का प्रहरीमा संक्रमणको दर सबैभन्दा उच्च देखिएको छ । साउन १९ मा प्रदेश २ मा १२ जना मात्रै संक्रमित प्रहरी उपचाररत थिए भने प्रदेश ५ मा ४ जना । १८ दिनपछि अर्थात् शुक्रबार उपचाररत संक्रमित प्रहरीको संख्या ह्वात्तै बढेर प्रदेश २ मा १२८ जना र प्रदेश ५ मा ७९ पुगेको छ । संकलित तथ्यांक विश्लेषण गर्दा प्रदेश २ मा पछिल्लो १८ दिनमा प्रत्येक दिन औसत ६ जनाभन्दा धेरै प्रहरी संक्रमित भइरहेका छन् ।

प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहले प्रहरीमा संक्रमण दर तीव्र देखिएकाले दैनिक ड्युटी समय पनि १२ देखि १४ घण्टाबाट बढाएर १६ देखि १८ घण्टा पुर्‍याइएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा संक्रमित प्रहरीको संख्या मात्रै बढेको छैन, लक्षणसहितका संक्रमित प्रहरीको संख्या पनि देखिन थालेको छ । शनिबारसम्म प्रदेश २ मा संक्रमित दुई प्रहरीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रहरीमा संक्रमणको दर अन्यमा भन्दा प्रदेश २ मा बढी किन देखियो त ? डीआईजी सिंहले खुला सिमाना भएका कारण भारतबाट लुकीछिपी आउने लागूऔषध तस्करहरू र यसका सेवनकर्तालाई पक्राउ गर्दा उनीहरूबाट धेरै प्रहरी संक्रमित हुनुपरेको बताए ।

प्रदेश २ को थुनुवा कक्षामा रहेका थुनुवा कोरोना संक्रमित भएका छन् । संक्रमित थुनुवाहरूसँग बयान लिँदा, अदालतमा पुर्‍याउँदा र तिनको व्यवस्थापनमा खटिँदा पनि प्रहरी संक्रमित भइरहेका छन् । डीआईजी सिंहले संक्रमित थुनुवामध्ये अधिकांश लागूऔषध सेवनकर्ता वा कारोबारीहरू भएको बताए । प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार लकडाउन खुला गरिएपछि र नागरिकता विधेयक जारी भएपछि प्रदेश २ का विभिन्न ठाउँमा राजनीतिक दलहरूकै अगुवाइमा विरोध जुलुस, धर्ना र प्रदर्शनहरू भएका थिए । यस्तो विरोध र धर्नामा प्रहरी खटिनुपर्ने भएकाले त्यहाँबाट पनि प्रहरीमा संक्रमण सरेको हुन सक्ने आकलन गरिएको छ । डीआईजी सिंहले संक्रमणको दर बढेसँगै जगेडा प्रहरी राख्न थालिएको बताए । उनले भने, ‘थोरै संख्याले धेरै समय र धेरै क्षेत्रफल हेर्नुपर्ने गरी ड्युटीमा खटिँदा कामको प्रेसर बढ्दै गएको छ ।’

कोरोना संक्रमित भएका प्रहरीको पछिल्लो १८ दिनको तथ्यांक केलाउँदा प्रदेश ५ मा औसत ४ जना प्रहरी प्रत्येक दिन संक्रमित भइरहेको देखिन्छ । गत साउन १९ गते यस प्रदेशमा जम्मा ४ जना प्रहरीमा संक्रमण देखिएको थियो । त्यो संख्या ह्वात्तै बढेर शनिबारसम्म ७९ पुगेको छ । जसमध्ये ९ जनाले प्रदेशकै विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने अन्य प्रहरी सेल्फ आइसोलेसनमा छन् । प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले प्रहरीमा कहाँबाट कसरी संक्रमण बढ्यो भनेर चिकित्सकले भन्ने कुरा भएको बताए । उनले प्रहरी नागरिक तहसम्मै जोडिएर काम गर्ने, गस्ती र पेट्रोलिङमा नियमित खटिने भएकाले संक्रमण बढेको हुन सक्ने बताए । उनले भने, ‘प्रहरीमा संक्रमण बढेसँगै ड्युटीमा खटिने प्रहरीको समूह र सिफ्ट विभाजन गर्न थालिएको छ ।’ संक्रमणको जोखिम कम गर्न सरुवा भएर जाने वा संक्रमितको सम्पर्कमा आएका प्रहरीलाई भने क्वारेन्टाइनमा राखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म ८ सय ५७ प्रहरी क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी उपत्यकामा ४ सय ६ र प्रदेश १ मा २ सय ३१ छन् ।

-यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटा र मातृका दाहालले लेख्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close