कोरोना संक्रमण देखिएपछि उपचार नपाउँदा एक घाइतेको रुपन्देहीमा मृत्यु

छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार नपाएर मृत्यु भएको छ।
गत मंगलबार छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय पुरुषको टाउकोमा लागेको गम्भीर चोटको उपचार हुन नसक्दा मृत्यु भएको हो।
उनको टाउकोमा गम्भीर चोट लागेको देखिएकोले टाउकोको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले आफन्तलाई बताएका थिए। तर उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार नपाएरै मृत्यु भएको छ।
आफन्तले दिएको जानकारी अनुसार गत मंगलबार घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सुरक्षा र सतर्कताका साथ थप उपचार जारी राख्नुपर्नेमा उनलाई मेडिकल कलेजले उपचार गर्न नसक्ने बताउँदै भैरहवाकै भीम अस्पताल पठाएको थियो।
भीम अस्पतालमा उपचारका लागि जनशक्ति नभएकाले उपचार हुन नसक्ने बताएपनि आफन्तले जोडबल गरेर अस्पतालमै उपचार गर्न आग्रह गरेका थिए।
भीम अस्पतालले भर्ना लिएर कोरोना भाइरसका संक्रमितलाई राख्ने कक्षमा राखेको थियो। उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको भीम अस्पतालले जनाएको छ।
देशसंचारबाट
कमेन्ट गर्नुहोस !