कथा- खाडीको सन्देश (तेस्रो तथा अन्तिम भाग)

-विराज घिमिरे
(ज्ञानको कमी, घरको आर्थिक स्थिति र आफ्नै बाट ठगिन पुगेर प्रतीक दुबईको एक सहरमा लामो संघर्ष गर्यो। भाग्यवश उसको भेट एक नेपाली जो अन्तरास्ट्रिय उत्प्रेरक छन, उनिसंग भएको छ र प्रतिकलाई उनले आफू बसेको ठाउँमा लगेका छन। अब के होला? प्रतिकको जीवन कतातिर मोडिएला? प्रस्तुत छ कथाको तेस्रो अंश…..)
आँखामा एक किसिमको उज्यालो चमक सहित मेरो उत्तर थियो: राम्रो जागीर पाए त, खर्च जुटुन्जेल यतै बस्थेँ। नेपाल फर्किएर पनि त गर्ने कर्म केही छैन, फेरि उही घरको समस्या, आजसम्म यति बसेँ खाने खर्च सम्म बल्लतल्ल जुट्यो। यहाँ आउनको लागी लागेको लागत रिण सम्म जुटेको छैन। घर साहु हरु आइरहेका होलान, राम्रो संग कुरापनी गर्न सकेको छैन। त्यसपछि सागर सरले ठिकै छ सल्लाह गरौँला अहिले तिमिले यी पुस्तकहरु अध्ययन गर भन्नुभयो। मैले हस भन्दै “कर्मद्वारा भाग्य निर्माण” नामक पुस्तक पढ्न सुरु गरेँ।
सागर सरले त्यहाँको केही कामहरु गर्न थाल्नुभयो। उक्त पुस्तक पढ्दै जाँदा मेरो बिचारमा केही परिवर्तन भएको महसुस भयो। जिवनको सत्यता बुझ्दै गएँ। मनमा एक किसिमको उर्जा आयो। साँझ परिसकेको थियो विक्रम सर पनि फर्कनु भयो। सागर सरलाई हेरेर: यहाँको कार्यक्रम १ हप्ता पछि राख्ने तयारी गर्नुपर्यो, म ५ दिन भुल्छु अझै भन्दै हुनुहुन्थ्यो। कार्यक्रमको विषयमा केही कुराकानी भए। मलाई पढ्नमै रुची लाग्दै गयो, निकै राम्रो लाग्यो मलाई त्यो पुस्तक। साँच्चै: एकपटक सबै नेपालीले पढ्नै पर्ने पुस्तक मध्ये एक लाग्यो। खाना खाएर सुत्ने बेलामा पनि म त्यही पुस्तक हातमा लिएको थिएँ। एउटा कपिमा आफ्ना कुराहरु लेख्दै पुस्तक पढ्दै मध्य रात भएको पत्तै भएन। यसैगरी २ दिनमा उक्त पुस्तक पढेर सकाएँ। निकै राम्रो ज्ञान दियो त्यो पुस्तकले। आफ्नो खुबी पहिचानको कुरा, समय ब्यवस्थापनको कुरा, खानपान र सारीरिक ब्यामको कुरा, हाम्रो अवचेतन मन र यसको शक्तीको कुरा, लगायत थुप्रै ज्ञान हासिल गर्न पाएँ। यहि पुस्तकले आफ्नो जिवनको एउटा गोरेटो निर्माण गर्न प्रेरित गर्यो। यदि हाम्रो स्कुलले, हाम्रो समाजले हामीलाई यस्तो कुरामा जोड दिएर अगाडि बढ्थ्यो भने यसरी लाखौं नेपाली दाजुभाइहरु खाडिमा भौतारिनु पर्ने थिएन होला भन्ने लाग्यो। त्यसपछि विक्रम सरसंग केही प्रश्नहरु गर्ने सोंच बनाएँ। उहाँले मलाई एउटा गृहकार्य पनि दिनुभएको थियो, यो पुस्तक पढेर आफ्नो खुबी पहिचान गर भन्दै। म केही सोध्न नपाउँदै उहाँकै प्रश्न आयो: भाइ प्रतीक के रहेछ त तिम्रो आफ्नो खुबी? म उत्तर दिएँ: म यसैलाई खोतल्दै छु सर। फेरि भन्नुभयो: तिमिले आजको आफ्नो इक्षालाई नहेर, बच्पन देखि आजसम्मको आफुलाई हेर। उहाँको यो कुरा सुन्ने बित्तिकै म भनेँ: गायक? उहाँको उत्तर थियो: सायद।
म उहाँसंग समय मागेँ र धेरै बेर गहन सोंचाइमा लागेँ। आफुमा गायक हुने सम्भावना रहेको जस्तो लाग्यो। फेरि विक्रम सरलाई भनेँ: हो सर, म एक प्रसिद्ध गायक बन्न सक्छु। उहाँले हाँस्दै सफलताको शुभकामना, आफ्नो कर्ममा लाग तिमिलाई कसैले रोक्न सक्दैन भन्नुभयो।
म कामहरु गर्दा होस या फुर्सदको समय गित गुनगुन गरेकै हुन्थेँ। यति ज्ञान भएपछी म एउटा गित आफै लेख्न सुरुवात गरेँ। बिदेशीएका नेपालीहरुको मर्मलाई समेटेर एउटा गित तयार गर्न सुरु गरेँ। यस्तै गर्दै ५ दिनको समय बितिहाल्यो र उक्त कार्यक्रमको दिन पनि आयो। विक्रम सरले भन्नुभयो: बिहान १० बजे कार्यक्रम छ, सागर र तिमी अली छिट्टै गएर तयारी गर्दै गर्नु म ९:४५ मा त्यहाँ आइपुग्नेछु। सागर सर र म करिब ८ बजे कार्यक्रम स्थलमा पुग्यौँ। धेरै नेपालीहरुको जमघटले होला, नेपालमै छु कि जस्तो महसुस भैरहेको थियो। अधिकांश नेपालीको दु:ख उहि, संघर्ष उहि, धेरै जसो ब्यक्तिहरु एकदमै थकित देखिन्थे। हामीले पुर्ण तयारी गर्यौँ र केही गफगाफ पनि भयो। समय अनुसार विक्रम सर पनि आउनुभयो, कार्यक्रम सुरु भयो। जब विक्रम सर बोल्दै जानुभयो, त्यहाँ सबैजनामा एक किसिमको नयाँ उर्जा देखिएको थियो। २ घण्टाको उक्त कार्यक्रमले धेरैको मानसिकता बदलिदियो। अन्त्यमा एकनासले सबै नेपालीको आवाज थियो: “हामी नेपाली एक भएर एक दिन अवश्य फर्कन्छौँ र यहि मिहिनेत राष्ट्र निर्माणमा लगाउछौँ, सरकार निर्माणमा पनि हाम्रै हात हुनेछ, युवा नेपाली वैदेशिक यात्रामा निस्किनु पर्ने छैन।”
त्यो जोस देख्दा लाग्थ्यो: नेपाल अब अवश्य बन्छ।
यो संगै उक्त कार्यक्रम समापन पश्चात् विक्रम सरले केहिबेर अनौपचारिक रुपमा केही ब्यक्तिहरुसंग कुराकानी गर्नुभयो र हामी त्यहाँबाट निस्कियौँ। त्यही दिन साँझ खाना खाएपछि विक्रम सरसंग मैले भनेँ: “सर, मेरो खुबी अनुसार मैले एउटा गीत लेखेको छु। यो गीतलाई रेकर्ड गर्न पाए विदेशमा नेपालीले भोगेको दु:ख सबैमा जाने थियो।” उहाँले त्यो गीत हेर्नुभयो र भन्नुभयो: “उत्कृष्ट, यहाँ एउटा स्टुडियोबाट भोली नै यो गीत रेकर्ड गर। खर्च म सहयोग गरौँला।”
यस्तै केही कुराहरु गर्यौँ र एकैछिनमा सुत्यौँ। अर्को दिन बिहान मनमा एक किसिमको डर थियो, सागर सरले भन्नुभयो: “ल, तयारी गर म चिनजानको स्टुडियोमा कुरा गरिसकेको छु। अहिले बिहान को समय गएर आउनुपर्छ।”
मैले हस सर भन्दै तयार भएँ। मनमा निकै डर लिएर स्टुडियो तर्फ लाग्यौँ। स्टुडियोमा करिब १०-१२ पटक गाएर तयार गरेपछी, अन्तत: गीत तयार भयो। त्यहाँका नेपालीले भन्दै थिए: “यो गीत निकै चर्चित हुनेछ। सफलताको शुभकामना भाइ प्रतिक।”
त्यहाँको खर्च लगायत सबै कुरा मिलाएर हामी निस्कियौँ। गीतले राम्रो चर्चा पाउने कुराकानी गर्दै हामी वासस्थान तर्फ लाग्यौं। पुग्नासाथ विक्रम सरले सोध्नुभयो: कस्तो बन्यो गीत? म उत्तर दिएँ: निकै राम्रो भयो सर। हेरौँ कस्तो चल्छ।
फेरि विक्रम सरले भन्नुभयो: “तिमिसंग एउटा सल्लाह गर्नुपर्ने छ।” मैले भनेँ: “हजुर भन्नुहोस न सर।”
उहाँले भन्नुभयो: ” मैले तिमिलाई जागीर दिने वाचा गरेको थिएँ, यहाँ आयौ हामीलाई केही सहयोग पनि गर्यौ त्यसको लागी हामी कृतज्ञ छौँ। तिमिलाई मैले यहाँ केही जागीर दिन सक्दैन प्रतीक, एउटा विकल्प छ तिमी मसंग नेपाल जान्छौ त्यहाँ गएपछी राम्रो काममा लगाइदिनेछु। जान्छौ त मसंग नेपाल?” म निकै हर्षित भएँ र भनेँ: सर, आफ्नो देशमै काम पाउँछु भने यहाँ किन दु:ख गर्नु तर मसंग जानको लागी खर्च नै छैन। त्यसैले म केही समय यतै केही गर्छु, खर्च जुटाएर नेपाल फर्कन्छु।
मेरो यो कुरा सुनेर विक्रम सरले भन्नुभयो: “खर्चको पिर नगर, यहाँबाट काठमाडौ मैले लग्नेछु तिमिलाई। तिम्रो पनि टिकट बुक गरिसकेको छु मैले। काठमाडौमै एउटा जागीर मिल्नेछ, इमानदारीताका साथ गर्यौ भने केही समयमै तिमिले राम्रो पैसा कमाउनेछौ।”
विक्रम सरको यति कुरा सुन्दा मेरो खुसीको सिमा नै रहेन। उहाँप्रती निकै कृतज्ञ भएँ।
२ दिन पछाडी हाम्रो नेपालको लागी टिकट रहेछ। त्यो दिन निकै खुसीको साथ सुत्यौँ। निद्रा पनि गहन रुपमा लाग्यो। अर्को दिन बिहान सागर सरले हतार हतार उठाउनु भयो। मैले रेकर्ड गरेको गित बाहिर आएको रहेछ। यो शुभ समाचारले फेरि अर्को खुसी थप्यो। नेपालको तयारी र खुसीयालीमा २ दिन बितेको पत्तै भएन। सागर सरलाई धन्यवाद र आभारका शब्दहरु दिदै हामी नेपालको लागी हिँड्यौँ। दुबईको त्यो सहर छाडेर जहाजमा रहँदा विक्रम सरले भन्नुभयो: “भाइ प्रतीक, म काठमाडौमा ब्यापार ब्यवसाय गर्छु। मेरो आफ्नो उद्योग छ साथै कृषि फार्महरु पनि संचालन गरेको छु। त्यहिँबाट आएको रकमको केही प्रतिशतबाट ४ वटा अनाथ आश्रम र ३ वटा बृद्व आश्रम संचालन गरेको छु। तिमिले १ महिनाको समय मेरो कृषि फार्ममा काम गर त्यसपछि राम्रो गर्दै गयौ भने तलब वृद्धि सहित त्यहिँ काम गरौला।”
सरको यो कुराले म प्रभावित भएँ। जहाजको ७-८ घण्टाको यात्रापछि हामी काठमाडौंको त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा ओर्लियौँ। मनमा एउटा छुट्टै खुसी अनि मातृभूमिको माया थियो। त्यो तातो आगो जस्तो ठाउँबाट आफ्नो देशको सुन्दर अनि सितल ठाउँमा ओर्लिदा सायद स्वर्ग भनेको यहि हो भन्ने आभास भइरहेको थियो। हामी ट्याक्सीमा चढ्यौँ र विक्रम सरको घरतर्फ प्रस्थान गर्यौँ। उहाँको घर: कोटेश्वर चोक बाट १०० मिटर भित्र रहेछ। घरमा उहाँको परिवारमा: आमा, बुबा, श्रीमती र एक छोरी हुनुहुँदो रहेछ। पुगेपछि पहिला मेरो परिचय दिनुभयो। एकैछिन उहाँहरुसंग रमाइलो कुराकानी भयो र एकैछिन आराम गर्यौँ। साँझपखको समय विक्रम सरले हिँड तिमिलाई काम गर्ने ठाउँ देखाउँछु भन्नुभयो र हामी त्यहाँबाट उक्त कृषी फार्मतर्फ लाग्यौँ। करिव आधा घण्टाको यात्रापछि हामी एउटा विशाल कृषि फार्ममा पुग्यौँ। सबै कामदारहरुले हेर्ने रहेछन, विक्रम सर भने हप्ताको एकपटक आउनुहुँदो रहेछ। त्यहाँको म्यानेजर संग मेरो परिचय गराइदिनुभयो, भोलिपल्ट देखी काममा जाने कुराकानी भयो र मेरो बस्ने ठाउँ पनि देखाइदिनु भयो। बिदेशी मुलुकमा बिना तलब धेरै समय खटेर काम गरेको बानी, त्यहाँको कुरा हेर्दा सजिलै गर्छु भन्ने पनि लाग्यो। सबै कुराको जानकारी लिएर त्यो दिन विक्रम सरसंगै उहाँको घरमा गयौँ। दुबईमा छँदै निकालेको गीत निकै चल्छ र कमाई सम्म हुन्छ भन्ने कल्पना थियो। पस्चिमा संस्कृतिमय समाज र भाइरलको जमनामा मेरो गीतले कत्ती पनि ठाउँ पाएन। विक्रम सरले हिम्मत नहार यो त सुरुवात हो, तिमिमा त्यो खुबी छ भन्दै हौसला दिलाउनु भयो। त्यो रात उहाँकै घरमा बसोबास भयो। अर्को दिन बिहानै मलाई विक्रम सरले एकजना मानिससँग उक्त कृषि फार्ममा पठाउनु भयो। आफ्नो समानहरु सहित म त्यहाँ गएँ। म्यानेजरले मेरो कामको जिम्मेवारी दिनुभयो। पहिलो दिन निकै उत्साहको साथ काम गरियो। काम धेरै गाह्रो थिएन: तरकारी तथा बोटबिरुवा हरुको रेखदेख, मल्चिङ गर्ने काम त्यस्तै पानी चाहार्ने काम गर्नुपर्थ्यो। बिहान ६ बजेदेखि ११ बजेसम्म, त्यस्तै साँझ ३ बजेदेखि ७ बजेसम्म काम गर्नुपर्थ्यो। तलबको कुरा केही भएन। यसरी काम गर्दै गएँ, बिच बिचमा विक्रम सर आउनुहुन्थ्यो भेटघाट गर्न। यस्तै गर्दै करिब तीन महिना बित्यो, कामहरु गर्दै जीवन अगाडि बढिरहेको थियो।
मैले फेरिपनी एउटा गीत तयार पारेर निकालेँ तर फेरि पनि उहीँ घटना गीतले नेपाली समाजलाई छुन सकेन। त्यहि समय विक्रम सरले बोलाउनु भयो। गायन क्षेत्रमा लाग्दा कतै केही गल्ती पो भयो कि, केही भन्नलाई त होइन, यस्तै अनेक कुराहरु मनमा खेलाउँदै उहाँको अफिसमा गएँ। उहाँको ब्यस्तताले एकैछिन कुर्नुपर्यो। त्यसपछि भित्र बोलाउनु भयो। सन्चो बिसन्चो पश्चात् भन्नुभयो: “तिम्रो लगनशीलता र इमान्दारिताले हाम्रो फार्मका अन्य कामदारलाई पनि प्रेरित गरेको छ। हामी तिमी प्रती निकै कृतज्ञ छौँ।”
नसोचेकै भयो, विक्रम सरको यो कुराले एकदमै हर्षित बनायो। म धन्यवाद दिएँ र एकैछिन अन्य कुराकानी हरु पनि भए। निस्कने बेला केही पुस्तकहरु पढ्न भन्दै दिनुभयो। यसैगरी समय चल्दै गयो, फुर्सदमा एकैछिन अध्यन गर्थेँ। काममा ब्यस्त रहँदा पनि उक्त कामको आफुले गहन अध्यन गर्थेँ।
दिन, महिना हुँदै एक बर्ष यसै गरि बित्यो। घरमा छोरो विदेश छ भन्ने थियो, नेपाल फर्किएपछि फोन सम्पर्क केही भएकै थिएन। निकै लामो समय लगाएर एउटा गीत लेखेको थिएँ। यसपटक अलि राम्रो स्टुडियोमार्फत गीत निकाल्न भन्दै गएँ। गीत रेकर्ड पनि भयो, भिडियो बनाउने भन्दै भिडियोमा गीत निकाल्यौँ। करिब १५ दिनको मिहिनेतमा गित सम्पन्न भयो। गीतका सबै सदस्य यसपटकको गीतले निकै चर्चा पाउने कुरामा ढुक्क थियौँ। गीत सार्वजनिक भयो, निकै राम्रो बजार लिँदै गएको थियो उक्त गीत। सबैजना निकै खुसी भयौँ, तर एक महिना बितिसक्दा पनि पहिलो एक हप्ता जहाँ थियो त्यहाँबाट माथी उठ्न सकेन उक्त गीत। हाम्रो खुसी धेरै समय टिक्न सकेन। मलाई लाग्यो: म नेपाली संगीतमा केही गर्न सक्दैन। विक्रम सरलाई भेटेर सबै कुरा भनेँ। उहाँले थुप्रै असफलता पछि सफलता सम्म पुगेका ब्यक्तित्वहरुको उदाहरण दिँदै मलाई सम्झाउनु भयो। तरपनी केही समय म संगीतबाट विश्राम लिने सोंच बनाएँ र गीतहरु लेख्न छाडिदिएँ।
त्यसको करिब ६ महिना पछिको कुरा हो। म विक्रम सरसंग एउटा प्रस्ताव लिएर गएँ। सर, “म घर जान चाहान्छु। नेपाल फर्किएदेखी घरमा कुराकानी भएको छैन, घरको स्थिती के छ, साहुले के गर्यो केही अत्तोपत्तो छैन, एकपटक घर गएर बुबा- आमा, बहिनी सबैलाई भेटेर आउँछु।”
विक्रम सरले सम्झाउँदै भन्नुभयो: “बाबु विक्रम, तिम्रो आजसम्मको विभिन्न कुराहरुमा असफलता र दु:ख नै तिम्रो जिवनको सबैभन्दा महत्वपूर्ण अध्यन हो। तिमीमा जुन किसिमको लगनशीलता, इमानदारीता र आत्मविश्वास छ त्यसले तिमिलाई एक दिन अवश्य माथी उठाउने छ। जिवनलाई एउटा कम्पनी, कारखाना या फार्ममै होस सिमित नबनाउ। तिमीमा माथी उठ्न सक्ने प्रचुर संभावना छ, तिमी सक्छौ प्रतीक। तिमी अब आफै स्थापित हुने कोसिस गर्नुपर्छ र दुबईमा रहेका तिम्रा साथिहरुलाई प्रेरणा दिएर नेपाल फर्काउनु पर्छ। तिम्रो इमानदारीता प्रती मलाई पुर्ण विश्वास छ। परेको ठाउँमा मैले सहयोग पुर्याउनेछु।”
एउटा कठिन जिम्मेवारीको महसुस भयो। साथै मनमा खुसी पनि छायो। विक्रम सरले हिसाब गरेर तलब दिनुभयो, अलिकती रकम थपिदिएर भन्नुभयो: यो तिम्रो लगनशीलता र इमान्दारीताको लागी। उहाँसंग भेट भएपछि लगाउनुभएको यस्तो गुन प्रती म जति कृतज्ञ भएपनी त्यो रिण तिर्न सक्दैनथेँ। त्यसको अर्को दिन घर फर्किने कुरा भयो। उहाँसंग केहिबेर बसेपछी म नयाँबसपार्क गएर अर्घाखाँचीको रात्रीबसको टिकट लिएर आएँ। त्यो दिन राती विक्रम सरकै घरमा बसोबास भयो। अर्को दिन, दिउँसोको ४ बजे कलंकीबाट अर्घाखाँचीको बसमा चढेँ। आफ्नो गाउँठाउँकै मान्छेहरु, आफ्नै ठाउँको गाडी, मनमा छुट्टै आनन्द आइरहेको थियो। बिहानको ६ बजेतिर जिल्ला सदरमुकाम सन्धिखर्कमा झरेँ। बगैंचा जिप काउन्टरमा सोधेँ: मालारानी, खनदहको लागी जिप कतिबेला लाग्छ होला? काउन्टरको ब्यक्तिले जवाफ फर्काए: “अहिले ७:३० बजे जाँदै छ एउटा।”
हस, एउटा टिकट दिनुहोस त: मेरो प्रतिउत्तर थियो। टिकट लिएर एकैछिन बगैंचा अघि रहेको मालिका होटलमा आराम गरेँ। समय बितिहाल्यो, जीप काउन्टर अगाडी आएर रोकियो। म गाडिमा चढेँ, करिब १ घण्टापछी खनदहमा गएर ओर्लिएर आफ्नो गाउँतर्फ लागेँ। करिब ४ बर्षको अन्तरालमा घर फर्किएको म,आफ्नो गाउँ निकै सुन्दर र रमणीय लाग्दै थियो। आफुले अध्यन गरेको स्कुल, साथिहरुसंग लुकामारी खेल्दै घर फर्किने बाटो, आहा! स्कुलको त्यो यादले निकै रमाइलो बनायो, सोंच्दै जाँदा आँखाबाट आँसु खस्न भ्याएको थियो। केहिबेर हिँडेपछी घरमा पुगेँ। बुबा… आमा…,
हजुर कसलाई खोज्नुभयो होला? भन्दै एकजना महिला बाहिर आइन। म प्रतीक, यो घरकै सदस्य हुँ हजुरलाई त मैले चिनेन नि। उक्त महिलाले उत्तर दिनुभयो, हजुर खै हामीले यो घर लिएको २ बर्ष बितिसक्यो। हजुरको बुबाआमा यहाँ हुनुहुन्न। साहुले घरबारी लिएर हामीलाई बेचेको थियो। त्यहाँ तल भिरालो बारिमा एउटा सानो घर बनाएर बस्नुभएको छ तपाइको बुबाआमा। धन्यवाद ज्ञापन गर्दै म हतार हतार तलको भिरालो बारिमा गएँ। वरिपरि बाँसले बेरेर खरले छाएको एउटा सानो झुपडीबाट एउटा केटि निस्किएर आमा ढेडो पाक्यो, खान आउनुहोस भन्दै थिइ। म त्यहाँ गएँ, उ त मेरो आफ्नै बहिनी प्रमिला पो रहेछ। उसले मलाई घोरिएर हेरि, दाइ? उसको आँखामा आँसु बर्सियो। भित्रबाट के भन्छे भन्दै बुबा निस्कनु भयो, बुबालाई देखेपछि म ढोग गरेँ, आमा पनि आइसक्नुभएको थियो, आमालाई ढोग गरेँ। एकैछिन हेरिरहनु भयो र बुबाले भन्नुभयो: “बाबू छोरा, यत्रो समय कहाँ हराएको तँ? फोन सम्पर्क पनि छैन। हामी त छोरो अब आउँदैन भनेर माया मारेका थियौँ।”
फेरि आमाले भन्नुभयो: “बाबु, रुँदा रुँदा आँसु पनि सकियो, घर साहुले लिलामी गरिदियो, मर्ने कि बाँच्ने भन्दै यस्तोमा आएर बसेका छौँ। एउटा छोरो परदेश पसेको हरायो भन्ने थियो, फर्कियौ बाबू भगवानलाई लाख लाख धन्यवाद।”
फेरि बुबाले भन्नुभयो: ” केही दु:ख पर्यो कि? के भयो बाबु? किन सम्पर्क विहिन भएको? पहिला त राम्रै छ सबै कुरा भन्दै थियौ। कमाई भएन कि के पर्यो?”
मैले उत्तर दिएँ: “बुबा-आमा पैसा त कमाउन सकेन तर ज्ञान, अनुभव, आफ्नो खुबी र इमान्दारीता भनेँ राम्रो कमाउन सकेँ। यहाँबाट विदेश भनिन्छ तर उता गएपछि दु:ख र तनाबले राम्रो ठाउँ पाउँछ। धेरै कुराहरु छन बुबा, म एकैछिनमा भन्छु सबै कुरा।”
केहिबेर आराम गर्यौँ, खानपिन भयो। केही ल्याएको सामानहरु आमाको हातमा दिएँ। एकैछिनपछी भोगेका सम्पुर्ण कुराहरु बुबा, आमा र बहिनिलाई बताएँ। उहाँहरुको आँखाबाट आँसु बर्सिरहेको थियो। सबै कुरा सकाएपछी बुबा-आमालाई सम्झाउँदै भनेँ “पिर नगर्नुहोस्, जिवनले धेरै कुरा सिकाइसकेको छ। अबको हाम्रो यात्रा संघर्ष र खुसियालीमा बित्नेछ। हाम्रो मिहिनेतले ठाउँ पाउनेछ। अब गाउँमै कृषि-क्रान्ति गर्नुपर्छ। मेरो आजसम्मको अनुभव र ज्ञानले पक्कै राम्रो हुँदै जानेछ।”
बुबाले भन्नुभयो: ” पहिलाकै रिणले उठिबास लगायो, अब फेरि लगानी लगाएर कृषि गर्दा असफल भएमा के गर्ने? यो झुपडि पनि छाडेर सडकमा झर्नुपर्छ। जग्गा कहाँ लिने? कसरी सुरुवात गर्ने?”
“त्यो सबै मलाई छाडिदिनुहोस बुबा, म मिलाउनेछु सबै कुराहरु।”
त्यसपछि विक्रम सरलाई फोन गरेर सबै कुराहरु भनेँ। उहाँले “मैले लगानी गरिदिन्छु तिमिलाई, काम सुरुवात गर प्रतीक” भन्नुभयो। त्यसपछी म कुनै आराम नै नलिएर ५-७ दिन जग्गा भाडामा खोज्ने तर्फ लागेँ। र मेरो गाउँमा कृषि कर्म सुरुवात भयो। पहिलो ६ महिना हामी त्यहि झुपडीमै बसेर लगानी लगायौँ, र सबै ब्यवस्थापन मिलायौँ। त्यसपछि बुबाले पनि अलि साथ दिँदै जानुभयो, आमा र बहिनिले घर व्यवहार हेर्न सुरु गर्नुभयो। ६ महिना पछि हामी घर पनि भाडामै लिएर ठूलो रिणमा चल्न सुरुवात गर्यौँ। पहिलो २ बर्ष गरिबी र खान लाउनको दु:ख मै समय बित्यो। बिस्तारै समयले मीठो साथ दिन सुरुवात गरेको महसुस भयो। त्यसको ४ बर्षपछी, सन्धिखर्क हुँदै बुटवलको कृषी बजारमा सम्म हाम्रो सामाग्री पुग्न सुरुवात भयो। रिण केही कम हुँदै गयो र बसिरहेको घरलाई आफ्नो बनाउन सक्यौँ। बिचमा एकपटक: विक्रम सर अवलोकनको लागि आउनुभयो। त्यसपछि एकजना काम गर्ने मानिस राख्यौँ र फेरि कृषि क्षेत्र दोब्बर बनायौँ। यसैगरी ८ बर्षको कठिन संघर्ष, निरन्तरता र लगावले हामीलाई धेरै माथी उठायो। हाम्रो रिण पुर्ण रुपमा सकिएको थियो। कृषि ब्यवसाय, कुखुरा तथा बाख्रापालन बाट मनग्य कमाइ भयो। नेपाल सरकारले विभिन्न अनुदान हरु प्रदान गर्यो। विभिन्न तालिम, गोष्ठी तथा प्रेरणाको लागी मलाई निमन्त्रणा गरियो। त्यसको ४ बर्षपछी: नेपालकै २० धनी ब्यक्तिहरुमध्ये म पनि एक गनिएको थिएँ। सागर सर बाहिरबाट आउँदा मलाई भेट्न आउनुहुन्थ्यो। पछि उहाँले पनि यतै बस्ने निर्णय गर्नुभयो। विक्रम सर, सागर सर र मैले मिलेर अन्य उद्योगहरु संचालन गर्यौँ। त्यसबाट पनि राम्रो सफलता मिल्दै गयो। यत्रो समयको अन्तराल पछि मैले नयाँ शैलीमा एउटा गीत सृजना गरेँ, गीत निकालेको १ महिनामै नेपालको इतिहासमा अहिलेसम्मकै सर्वाधिक लोकप्रिय गीतमा गनिन पुग्यो।
हाल मेरो बसाई पोखराको पृथ्वी चोकमा छ। प्रत्येक हप्ताको एक दिन म अवलोकनको लागि अर्घाखाँची, आफ्नो गाउँमा गएको हुन्छु। विक्रम सर, सागर सर र मैले दुबई लगायत अन्य खाडी मुलुकमा अलपत्र नेपाली श्रमिकहरुलाई उद्वार गर्ने महाअभियान चलाउँदै छौँ।
मलाई मेरो स्कुलले, समाजले जिवनको यथार्थता कहिल्यै सिकाएन। जिवनको सत्यता बुझ्ने प्रयत्न गरौँ। दु:ख, संघर्ष, चुनौती हरु त जिवनका एक पाटा हुन यसलाई सरलतामा लिएर कर्म बाट भाग्नु हुँदैन। त्यसैले आफ्नो खुबी र संघर्षलाई हातमा लिएर जीवन अगाडी बढाऔँ। एक दिन हजुरहरु पक्कै सफल हुनुहुनेछ।
(खाडिको सन्देश नामक कथालाई माया गर्ने सम्पुर्ण पाठक जन प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछु। कथा काल्पनिक भएपनी बिदेशी भुमिमा नेपालीले भोग्ने ब्यथा सत्य छन, संघर्ष बाट हार्नु हुँदैन भन्ने भाव सत्य छ, गहन रुपमा लिने हो भने यसले पाठकजन सम्पुर्णमा एउटा राम्रो प्रेरणा अवश्य दिनेछ।)

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close