भारतको गुजरातमा भाजपाको कीर्तिमानी जित, हिमाचलमा कांग्रेसलाई बहुमत

गान्धीनगर । सत्तारूढ भारतीय जनता पार्टीले गुजरात विधानसभामा कीर्तिमान हासिल गर्दै १५६ सिट जितेको छ । कुल १८२ सिट भएको विधानसभामा आजसम्म कुनै पनि दलले १५० सिट जितेको इतिहास थिएन । निकटतम प्रतिद्वन्द्वी कांग्रेस पार्टीले जम्मा १७ सिट जितेको छ भने आमआदमी पार्टीको हातमा पाँच सिट परेको छ । सन् २०१७ मा भाजपा जम्मा ९९ सिटमा सीमित भएको थियो । सत्तामा आएपछि पहिलोपटक उसको सिट १०० भन्दा कममा पुगेको थियो ।

प्रधानमन्त्री मोदीले ‘म गुजरातको छोरा हुँ’ भनी दिएको नारा भाजपाको जितको ठूलो कारण भएको गुजरातका वरिष्ठ पत्रकार आरके मिश्राले बताउनुभएको छ । मोदीले चुनावी अभियानमा बारम्बार यसलाई दोहोर्‍याउनुभयो । गुजराती अस्मिताको कुरा गरेर भाजपाले क्षेत्रीयवादी भावनालाई मज्जैले उचाल्यो । फलस्वरूप गुजरातीहरूले उसलाई प्रचण्ड बहुमत दिलाए ।

आमआदमी पार्टीले यस निर्वाचनमा कांग्रेसको भोट काटेर भाजपालाई नै सहयोग गर्‍यो । सौराष्ट्र र दक्षिण गुजरातमा कांग्रेसले राम्रो प्रदर्शन गर्न सक्थ्यो तर त्यहाँ आपले भोट काटिदियो । त्यसको पूर्ण लाभ भाजपाले प्राप्त गर्‍यो । वरिष्ठ पत्रकार दर्शन देसाईको नजरमा कांग्रेसको अकर्मण्यताका कारण भाजपाले प्रचण्ड बहुमत ल्याएको हो । कांग्रेसको वरिष्ठ नेतृत्वले गुजरातलाई पूरै त्यागिदियो । राहुल गान्धीले भारत जोडो यात्रा गर्नुभयो तर त्यो गुजरात छोडोमा परिणत भयो ।

यता, हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ । यहाँ कांग्रेसले ४० सिट जित्दा भाजपाले २५ सिट जितेको छ । आम आदमी पार्टीले एक सिट पनि जित्न सकेन । २०१७ को हिमाचल विधानसभा चुनावमा भाजपाले ४४ सिट जित्दा कांग्रेसले २१ सिट जितेको थियो । यसपटक भने भाजपाले हिमाचलको सत्ता गुमाएको छ । एजेन्सी ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close