राष्ट्रिय क्रिकेटर ललित भण्डारीको शल्यक्रिया सफल

राष्ट्रिय क्रिकेटर ललित भण्डारीको शल्यक्रिया सफल भएको छ। आइतबार उनको दायाँ हातको मुख्य शल्यक्रिया सफल भएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जानकारी दिएको छ।

ग्राण्डी अस्पतालमा भएको शल्यक्रिया डा चक्रराज पाण्डे र उनको टिमले गरेको थियो। उनको स्वास्थ्य अहिले स्थिर रहेको छ।

गत आइतबार साँझ गृहजिल्ला कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र दुवै खुट्टामा चोट लागेको थियो।

देब्रे हाँते तीव्र गतिका बलर भण्डारीको भाग्यवश देब्रे हातको चोट गम्भीर छैन। दाहिने हातको चोट गम्भीर छ। उनको दुबै हात र खुट्टाको शल्यक्रिया गर्नु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका थिए।

सुरुमा धनगढीमा ललितलाई त्यसपछि कोहलपुर मेडिकल पुर्‍याइएको थियो। सोमबार थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

यसअघि सिप्यानले भण्डारीलाई आर्थिक सहयोग गर्न मंगलबार अपिलसमेत गरेको थियो।

२४ वर्षीय भण्डारी तीन वर्षअघि राष्ट्रिय टिममा परेका थिए। सन् २०१७ को विश्व क्रिकेट लिगअन्तर्गत युएईविरुद्धको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

सन् २०१८ मा उनले नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा राष्ट्रिय टिमबाट खेले। सो खेलमा नेपाल पहिलो एकदिवसीय खेलमा जित निकाल्ने क्रममा १ रनले विजयी भएको थियो। नेदरल्यान्ड्समा भएको खेलमा उनले ९ ओभर बलिङ गरेर दुई विकेट लिएका थिए।

त्यसपछि उनले चोटका कारण राष्ट्रिय टिममा स्थान गुमाएका थिए। दुई वर्षदेखि राष्ट्रिय टिममा नपरे पनि उनले फ्रेञ्चाइज लिग र नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा प्रभावशाली खेल देखाइरहेका छन्।

उनलाई सन् २०१२ सम्म क्रिकेटको रुची थिएन। भारतमा हुर्किएका ललित एसएलसी परीक्षा दिएपछिको फुर्सद समय बिताउन आफ्नो घर महेन्द्रनगर झलारी आएका थिए।

महेन्द्रनगरमा साथीहरूले क्रिकेट खेलेको देखेपछि उनले पनि रमाइलोका क्रिकेट खेल्न थालेका थिए। रमाइलोका लागि क्रिकेट खेल्न सुरु गरेक उनी सुरुमा क्षेत्र नम्बर ९ को यू-१९ र सिनियर टोलीबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यसपछि उनी नेपाल पुलिस क्लबबमा आबद्ध भए।

उनी २०७४ को प्रधानमन्त्री कपको प्रदर्शनले उनी राष्ट्रिय टोलीको क्याम्पमा पर्न सफल भएका थिए।-सेतोपाटीबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close