आज संविधान दिवस मनाइँदै

संविधान दिवस शनिबार मनाईँदै छ । २०७२ को अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष अशोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाई जारी गरेको हो । नयाँ संविधान कार्यान्वयमा आएको पाँच वर्ष पूरा भएको छ ।
संविधानले देशलाई संघीय व्यवस्थामा लगेको हो र अझै पनि संघीयताले सक्रिय रुपमा काम गर्न सकेको अवस्था भने छैन । यो वर्ष कोरोना भाइरसको महामारीका कारण संविधान दिवसका अवसरमा सार्वजनिक कार्यक्रम हुने छैनन् ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान दायित्व काँधमा आएको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
कमेन्ट गर्नुहोस !