बसभित्र सामूहिक बलात्कार

भक्तपुर : एक १७ वर्षीया किशोरी फरक–फरक ठाउँमा सार्वजनिक बसभित्र दुई दिन सामूहिक बलात्कारमा परेकी छन्। पहिलो दिन एक र दोस्रो दिन दुई युवकले जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त घटनामा संलग्न तीन युवामध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फरार रहेका युवकले ती किशोरीलाई काठमाडौंको रत्नपार्कमा लठ्याउने औषधि मिसाइएको पानी खुवाई नियन्त्रणमा लिएर भक्तपुर ल्याएको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका अधिकारीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी–१० का २२ वर्षीय नीरकुमार खड्का र सिन्धुपाल्चोककै जुगल गाउँपालिका–४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठ छन्। खड्का भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे र श्रेष्ठ भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने गरेको खुलेको छ।

खड्का र श्रेष्ठ बा. ३ ख २६१२ नम्बरको गाडीका क्रमशः चालक र सहचालक हुन्। उनीहरूले पार्किङ गरी राखेको त्यही गाडीभित्र शनिबार बिहान ११ देखि राति ९ः३० बजेसम्म पटक–पटक सामूहिक बलात्कार गरेको बयान पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केशवकुमार थेबेले पीडित किशोरीलाई फरार युवकले शुक्रबार बिहान ११ बजे काठमाडौंबाट सार्वजनिक गाडीमै भक्तपुर ल्याएको पाइएको जानकारी दिए। ती युवकले सूर्यविनायक नगरपालिकास्थित एक ठाउँमा पार्किङ नै गरिराखेको बसभित्र लगेर पटक–पटक जबरजस्ती गरेको ती किशोरीले बताएको थेबेको भनाइ छ। ती युवकले शुक्रबार दिउँसोदेखि शनिबार बिहान १० बजेसम्म बलात्कार गरेका थिए।

‘किशोरीले बताएअनुसार शनिबार बिहान ११ बजे उनलाई नीरकुमार र सूर्यको जिम्मा लगाएर पहिलो युवक फरार भएका थिए’, थेबेले भने, ‘आफ्नो जिम्मामा आएपछि नीरकुमार र सूर्यले पनि उक्त दिन बेलुका ९ः३० सम्म पटक–पटक सामूहिक बलात्कार गरेको किशोरीले बताएकी छन्।’

उनीहरूले चाँगुनारायण नगरपालिका–९ तव्याखुसी खोला किनारको सडकमा सामूहिक बलात्कार गरेको खुलेको छ। उनीहरूले बिहान ११ बजेदेखि आफ्नो गाडीभित्र किशोरीमाथि जबरजस्ती गरिरहे पनि सँगै पार्किङ गरी राखेका अन्य गाडीका चालक तथा सहचालकले बेलुका ९ः३० बजे मात्रै त्यसको सुइँको पाएका थिए। लगत्तै उनीहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट टोली खटिएको थेबेले बताए।

ती किशोरीले फरार युवक आफ्नो चिनजानको नभएको बताएकी छन्। उनीसँग काठमाडौंको रत्नपार्कमा शुक्रबार बिहान ११ बजे मात्रै भेट भएको पीडितको भनाइ छ। अभियुक्तले नै कुराकानी सुरु गरी पानी खुवाएको उनले प्रहरीलाई बताएकी छन्।

‘पानीमा लठ्याउने औषधि भएकाले आफू ती युवकको वशमा परेको र उनले जेजे भन्यो, आफूले त्यही त्यही गरेको भनी ती किशोरीले बयान दिएकी छन्’, थेबेले भने, ‘आफूलाई सार्वजनिक बसमा राखेकोसम्म याद भएको पछि होश खुल्दा आफू बलात्कृत भएको थाहा भएको उनले बताएकी छन्।’

पीडितको स्वास्थ्य अवस्था सामान्य भएको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएको छ। ती किशोरीले आफू काठमाडौंमा दिदीसँगै बस्दै आएको बताएकी छन्। काम सकेर दिदीकहाँ फर्किन लागेका बेला फरार युवकसँग भेट भएको उनको भनाइ छ।

जिल्ला अदालत भक्तपुरले दुई अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार सात दिनको म्याद दिएको छ। उनीहरूमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ।आजको अन्नपुर्ण पोष्ट बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close