कोरोनाबाट डराउनु पर्दैन भन्दै ट्रम्प अस्पतालबाट डिस्चार्ज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए ।

उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडैले चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् । उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा अहिलेसम्म ७४ करोड भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै कोभिड–१९ बाट दुई लाख १० हजार मानिसको ज्यान गएको छ । तर आफै संक्रमित भएपछि पनि ट्रम्पले विवादास्पद टिप्पणी गर्न छोडेका छैनन् ।

ट्रम्पको स्वास्थ्य अवस्थाको गम्भीरतालाई लिएर विवादित वक्तव्य जारी हुने गरेका कारण अझै पनि अन्यौलता कायमै छ । यस्तै ह्वाइट हाउसमा कति जनालाई संक्रमण फैलिएको छ भन्ने कुरा पनि स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बेलुका ट्रम्प मास्क लगाएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् । बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ दिएनन् । उनले सबैलाई धन्यबाद मात्रै भनेका थिए । ट्रम्पलाई संक्रमण फैलाउने केन्द्रमा रहेको ठानिएको छ ।

वाल्टर रीडबाट बाहिरिनु भन्दा केही पहिले ट्रम्पले ट्वीट गरेका थिए, ‘चाँडै नै चुनावी अभियानमा फर्किने छु । फेक न्यूजले मात्रै फेक सर्वेक्षण देखाउँछ ।’

पछिल्लो पटक सार्वजनिक भएको मत सर्वेक्षणमा डोनाल्ड ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन भन्दा १४ अंकले पछि परेका देखिएको छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ।

ट्रम्प अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार भने जारी रहेको छ । ह्वाइट हाउसमा उनको करिब रहेका कम्तीमा १२ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएको छ । तर ह्वाइट हाउसले कति जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ भन्ने अहिलेसम्म खुलाएको छैन ।- देशसंचारबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close