विवाह बहसः परम्परा र यथार्थता


-पुष्कर घिमिरे
विवाह दुई आत्माहरुको संगम हो (Marriage is the union of two souls) विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ । परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ ।
परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो। कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए । हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको पाइन्छ । मुख्यत नेपाली समाजमा अझै पनि विवाह भनेको परिवार वा आफन्तको रोजाइ र खोजाइमै भन्ने मान्यता यथावत नै छ । विवाहमा मगनी पछि टीकोटालो गरिन्छ । बिहे पक्का गरेपछि केटाका पक्षबाट केटीका घरमा पत्र लाने काम गरिन्छ । केटीका घरमा पुग्न लाग्दा जन्तको सङ्ख्या आदिको पूर्व सूचना गर्न जन्तीका तर्फबाट परम्परागत रुपमा भनिने सगुन पठाइन्छ । केटी पक्षका घरगाउँलेहरूले सगुनलाई जिस्क्याउने अनेक तरिका अपनाउने पुरानो चलनमा आजकाल विधि पुर्याउने कार्यका रूपमा यसमा सुधार आएको छ ।
केटाका घरबाट बेहुलो अन्माएपछि त्यो रात केटाका घरमा गाउँले महिलाहरू जम्मा भएर रत्यौली खेल्ने गर्छन् । रातमा खेलिने र रतिरागात्मक गीत गाइने हुँदा यस्तो राम रमाइलोलाई रत्यौली भन्ने गरिएको हो । यो सँगै पहिले बिहेमा कसारभित्र पैसा राख्ने, दहीमा नून, अचारमा चिनी हालेर खान दिने, ओछ्याउन दिएको राडी, गलैँचामुनी तोरीका दाना, मकैका खोया, अमला आदि राख्ने, केराका गानाको हुक्का बनाएर राखिदिने गरिन्थ्यो ।
प्रेम विवाह कि मागी विवाह?
आजकल प्रेम सम्बन्ध पनि भावनात्मक रुपले भन्दापनि आर्थिक हैसियतलाई नै केन्द्रविन्दु मानेर स्थापित गर्ने विकृति आएको पाइन्छ । प्रेम पनि गरीवसँग गर्ने कि धनीसँग भनेर वर्ग विभाजित भएको छ त्यसैले नियत नै खोटो राखेर रचिएको त्यस्तो उद्धेश्यपूर्ण प्रेम विवाह पनि सुरक्षित हुन्छ भन्न सकिन्न । मागी विवाह पनि यदि आर्थिक हैसियत मात्र हेरेर स्थापित गरीन्छ भने यसले भविष्यमा संकट निम्त्याउने खतरा उत्तिकै हुन्छ । मुख्यत विवाहको लागि हेर्नुपर्ने भनेकै केटा र केटीको व्यक्तिगत योग्यता हो ।
अझैपनि केटीलाई विवाह गरेर पठाउँदा मारे पाप पाले पुण्य भनेर जिम्मा लगाउने गरिन्छ ।यो पशुवत व्यवहार हो । केटी र केटीपक्षले पनि केटाले पाल्न सक्नुपर्छ र सुखसयलको जिन्दगी दिन सक्नुपर्छ भनेर सुरुमै ग्यारेन्टि खोज्ने हो भने यो सम्बन्ध नभएर लेनदेनकै रुपमा पछिसम्म रहनेछ । यसको साटो केटाकेटी दुवैले हामी पाल्न र पालिन हैन आपसी रुपमा सुखदुख आदानप्रदान र जिम्मेवारी वहनगरी जीवनको रथ अघि बढाउन राजी भएका हौ भनी प्रतिबद्ध, भए स्वस्थकर हुनेछ ।
यदि केटा र केटीले आफ्नो शैक्षिक योग्यता,चारित्रिक योग्यता,आपसी शारिरीक स्वास्थ्य, आपसी गुण (अवगुण, आपसी चाहना, जिन्दगीको व्यवहारिक दृष्टिकोण, आपसी समझदारी, समान अवधारणा, भावनात्मक समानता, जीवनयापनका लागि अर्थोपार्जनको आपसी योजनाका विषयमा केही समय लिई खुलेर छलफल गरी जीवनसाथी रोज्ने निर्णयमा पुग्नु स्वस्थकर हुनसक्छ ।
समाज जतिसुकै आधुनिक भएपनि यदि मागी विवाह छ भने वररवधु आफ्नै जात र समुदायमै खोज्ने चलन छ । मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने महाकविको भनाइ त हामीले सुनेकै छौ । सानो जात र ठूलो जात भनेर पालिएको अहंम र दूषित मानसिकतालाई हटाउन सके मानिस एकै हो भनेर बुझ्न सजिलो बनाउँछ ।
मुख्यत विवाहका कार्यहरु भनेको यौन सन्तुष्टि प्राप्त गर्नु, नातासम्वन्ध र परिवारको विकास गर्नु, सामाजिकिकरणलाई अघि बढाउनु, परम्परालाई पुस्ता हस्तान्तरण गर्नु, पूर्णताको अनुभुत गर्नु, जन्मेका वच्चालाई सामाजिक वैधता प्रदान गर्नु, सामाजिक एकता कायम गर्नु, सामाजिक रुपमा महिला र पुरुषको कार्यविभाजन गर्नु,एक्लोपनलाई रचनात्मक काममा लगाउन मनोवैज्ञानिक बल दिनु, सामाजिक सम्बन्धको दायरा फराकिलो पार्नु आदि हो ।
सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?
हिन्दू धर्मले सहगोत्रीका बीच स्त्री पुरुष भाइबहिनी हुन्, उनीहको पारिवारिक सम्बन्ध हुन्छ भनी भन्दछ । गोत्र भनेको वंश र कुल हो। नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ। हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो, भनिएको छ। एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष र दम्पतीको सन्तान गुणी र प्रभावशाली नहुने पनि भनिएको छ। धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर (आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र) विवाह गर्नुपर्छ ।
विवाह गर्दा कति बर्षको उमेर अन्तर राख्दा उपयुक्त हुन्छ ?
विवाह गर्दा पाँच बर्षभन्दा बढी अन्तर राख्नु उचित हुँदैन । एउटै उमेर समुहमा भावनात्मक सम्बन्ध तथा सोचविचार मिल्ने भएकाले लामो अन्तर कायम नगर्नु राम्रो हुन्छ । उमेरको अन्तर धेरै राखेमा यौन जिवनमा बाधा पर्नुका साथै भावनात्मक फाटो आउन सक्छ ।
कमेन्ट गर्नुहोस !