ईश्वर पोखरेललाई नयाँ जिम्मेवारी सहमतिमै, उनी सन्तुष्ट

काठमाडौँ – रक्षामन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले लिएपछि उपप्रधानमन्त्रीको हैसियतमा सिमित भएका ईश्वर पोखरेलको मन्त्रीपरिषद्को निरन्तरताबारे अनेक अड्कलबाजी भइरहेका बेला पोखरेल भने अहिलेको जिम्मेवारीमा सन्तुष्ट रहेको बुझिएको छ।

रक्षा मन्त्रालयको नेतृत्व भन्दा प्रधानमन्त्री ओलीसँगको समन्वयकारी भूमिका अझ महत्वपूर्ण हुने ठहरमा नेता पोखरेल रहेको उनी निकट एक नेताले बताए।

मन्त्रीपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजनलाई लिएर लामो समय चलेको अड्कलबाजीकाबीच प्रधानमन्त्री ओलीले बुधबार रक्षामन्त्रालयबाट पोखरेललाई तानेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उपप्रधानमन्त्रीको हैसियतमा ल्याएका थिए।

ओलीले पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानेनन् मात्रै यसअघि चार पटक मन्त्री भइसकेका आफू निकट विष्णु पौडेललाई दोस्रो पटक अर्थमन्त्री बनाएका थिए।

पोखरेल निकट एक नेताले देश सञ्चारसँग भने,‘ ईश्वर पोखरेल प्रधानमन्त्रीसँग सहमति गरेरै प्रधानमन्त्री कार्यालय जानु भएको हो। उहाँहरुले यस विषयमा आपसी परामर्श गर्नु भएको थियो। त्यसअनुसार कार्याविभाजनको योजना पहिल्यै बनेको थियो। बाहिर आएको हल्ला निराधार छ।’

पोखरेलको कार्यसम्पादनमा चित्त नबुझेपछि ओलीले पोखरेललाई रक्षा मन्त्रालयको नेतृत्वबाट झिकेर प्रधानमन्त्री कार्यालयमा लगेको टिप्पणीहरु आइरहेका छन्। सेनासँग खटपट भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न

नसकेकोलगायत कारणले प्रधानमन्त्री ओलीले उनलाई प्रधानमन्त्री कार्यालय तानेको अड्कलहरु भइरहेका छन्।

पोखरेलले भने बुधबार मध्यराति एक ट्वीट गर्दै भनेका थिए,‘ विकसित परिस्थिति र घटना–प्रसङ्गका सम्बन्धमा मानिसहरूका बुझाई, विश्लेषण र अभिव्यक्ति र टिप्पणी हेर्दै…बुझ्ने कोसिस गर्दै ..!’

उनको यो ट्वीटले पनि उनी प्रधानमन्त्री ओलीको पछिल्लो निर्णयबाट असन्तुष्ट नरहेको देखिन्छ। प्रधानमन्त्री ओलीले उनलाई घटुवा र अपमानित गरेको भन्ने टिप्पणी पनि आएका छन्।

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयका थुर्पै महत्वपूर्ण जिम्मेवारी रहेको, ती सबै जिम्मेवारी आफै वहान गर्ने सुरुमा मानसिकता बनाएपनि ओलीले नसक्दा अलपत्र पर्ने सम्भावना बढेपछि ती सबैको समन्व्यकारी भूमिका निर्वाहका लागि पोखरेललाई त्यहाँ लगिएको हो।

प्रधानमन्त्री ओली र पोखरेलबीच उनी प्रधानमन्त्री कार्यालय जाने की भन्ने विषयमा केही महिना अघि पनि छलफल भएको थियो। तर त्यो बेला पार्टीको आन्तरिक राजनीति बुझेर ओली पछि हच्किएको ती नेताको भनाई छ।

०००

तर प्रधानमन्त्री कार्यालयमा जाँदा प्रधानमन्त्री ओलीले लिइरहेको सबै जिम्मा पोखरेलको काँधमा पार्न व्यवहारिक नहुने प्रधानमन्त्री कार्यालयको एक उच्च स्रोतले बतायो।

‘प्रधानमन्त्रीले नै निर्वाह गर्नुपर्ने केही महत्वपूर्ण जिम्मेवारी छन्। बाँकी विषयमा समन्वय गर्दा नराम्रो हुँदैन,’ स्रोतले भन्यो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका ४८ वटा कामका क्षेत्र निर्धारण गरिएको छ। यी क्षेत्रमा भएका कामको समन्वय र निर्देशनको जिम्मेवारी पोखरेलको भागमा पर्ने देखिन्छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेश सरकार र मन्त्रालयसँग समन्व्य गर्नुको साथै राष्ट्रिय अनुसान्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागलगायतका काम कारवाही हेर्ने गर्छ।

ओली आफू प्रधानमन्त्री भएलगत्तै अर्थमन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत ल्याएका थिए।

र, त्यसपछि गृहमन्त्रालयअन्तर्गत रहँदै आएको नेपालको मुख्य गुप्तरचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत ल्याएका थिए। ओलीको उक्त निर्णयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा अस्वाभाविकरुपमा शक्ति केन्द्रित भएको भन्दै आलोचना भएको थियो। -देशसंचारबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close