बिगतका दसैँको तुलनामा १६ अर्ब घट्यो नगद कारोबार

नेपालीको नगद बोक्ने बानी घट्यो, डिजिटल माध्यमको प्रयोग वृद्धि विगतका वर्षको तुलनामा यो वर्षको दसैँमा नगदमै कारोबार गर्ने नेपालीको प्रचलनमा कमी आएको देखिएको छ । गत वर्षको दसैँमा मानिसहरूले साथमा राख्ने रकम ९मनी इन सर्कुलेसन–प्रचलनमा रहेको नगद० सामान्य समयमा भन्दा ७० अर्ब रुपैयाँले वृद्धि भएको थियो । तर, यसपटक १६ अर्ब कम भएर ५४ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको १ असोजमा ५ खर्ब ९२ अर्ब रुपैयाँ प्रचलनमा रहेकोमा १२ कात्तिकमा ६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको १ असोजमा भने ४ खर्ब ९२ अर्ब रुपैयाँ प्रचलनमा रहेकोमा २४ असोजमा ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको थियो । गत वर्ष २१ असोजमा विजयादशमी परेको थियो । ‘डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढेकाले पनि मुद्राको गति कम भएका कारण प्रचलनमा रहेको रकममा धेरै वृद्धि देखिएन,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा। गुणाकर भट्टले भने, ‘साथै, उपभोगमा आधारित आर्थिक गतिविधि कम भएकाले पनि यस्तो भएको हो ।’

तर, डिजिटल माध्यमबाट यो अवधिमा कति रकमको कारोबार भयो भन्ने तथ्यांक भने राष्ट्र बैंकले तयार पारिसकेको छैन । भुक्तानी सेवाप्रदायकले यो अवधिमा व्यापार–व्यवसाय कम भएकाले कारोबार घटेको बताएका छन् ।

‘व्यवसाय कम हुने भएकाले यो अवधिमा भुक्तानी घटेको छ,’ नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले भने, ‘तर, हामीले दसैँं लक्षित स्किम पनि ल्याएका थियौँ, यो स्किमअन्तर्गत दसैँको पाँच दिनमा ८४ करोड रुपैयाँको कारोबार भएको छ ।’ खल्ती डिजिटल वालेटले फूलपातीयता हरेक दिन डेढ करोड रुपैयाँ हाराहारीमा कारोबार गरेको बताएको छ । दैनिक ३ हजार हाराहारीमा कारोबार हुँदै आएकोमा यो संख्या बढेको उल्लेख गरेको छ ।

यस वर्ष २ अर्ब ४० करोड रुपैयाँबराबरका नयाँ तथा सुकिला नोट वितरण भएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको तुलनामा भने यो ६० प्रतिशतले कमी आएको हो । गत वर्ष करिब ६ अर्ब रुपैयाँबराबरका नयाँ तथा सुकिला नोट वितरण भएको थियो । ‘यस वर्ष सर्वसाधारणका लागि नयाँ नोट वितरण गरेनौँ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीरमण नेपालले भने, ‘बैंकमार्फत नयाँ र सुकिला नोट बाँडिएको हो ।’

नयाँ नोट वितरण गर्नुनपर्दा लगभग ४० करोड रुपैयाँ बचत भएको नेपालको आकलन छ । दसैँ लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट छापेर वितरण गर्ने गर्दै आएको छ । चलनचल्तीमा रहेका ५ देखि हजारसम्मका नोटका लागि न्यूनतम १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ५० पैसा रुपैयाँसम्म लाग्ने गर्छ । यो लागत टेन्डर आह्वान गर्दाको कायम मूल्यको मात्रै हो । ढुवानी मूल्य यसमा समावेश हुने गर्दैन ।

सरदर ५ सय र हजार दरका नोटको आयु ४ वर्षसम्म रहने मानिँदै आएको भए पनि अन्य दरका नोट बढी चलनचल्तीमा आउने भएकाले यिनको आयु २ वर्ष मात्रै रहने मानिँदै आएको छ । नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close