उखुको ९० करोड उठाउन किसान फेरि काठमाडौंमा

देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् । आइतबारदेखि थाल्ने आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान काठमाडौं आउँदै छन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरूको योजना छ ।

‘उखु बेचेको पैसा माग्दामाग्दा हामी हैरान भयौँ, अब २८ गते बिहानदेखि हाम्रो वारपारको आन्दोलन सुरु हुन्छ,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘अब हामीले पाउनुपर्ने सबै पैसा बोकेर मात्रै घर फर्किन्छौंँ, आन्दोलनमै मर्नुपरेछ भने पनि त्यसका लागि तयार भएर आउँदै छौँ ।’ शनिबार दिउँसोदेखि नै किसानहरू काठमाडौं पुग्ने क्रम सुरु हुने उनले बताए ।

यसअघि २३ कात्तिकमा रायसहितका १२–१३ जना उखु किसान न्याय माग्दै काठमाडौं आएका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए । त्यतिवेला उनीहरूले २७ कात्तिकबाट आन्दोलन गर्ने बताएका थिए । तर, यसबीचमा मन्त्रालयले उद्योगी भेला गरेर बैठक बस्ने र किसानको भुक्तानी दिन पहल थालेकाले आन्दोलन एक महिना धकेलिएको रायको भनाइ छ ।

नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् । किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताए ।

सर्लाहीको गोडैता नगरपालिका सिसौटका किसान रामविलास महतोले यो वर्ष पैसा लिएरै गाउँ फर्कने गरी आन्दोलन गर्ने बताए । सरकार र उद्योगपतिले पटक–पटक धोका दिएका कारण अब सहमतिपत्रमा मात्र चित्त नबुझाउने उनले बताए । गत वर्ष जाडोमा माइतीघर मण्डलामा गरेको आन्दोलन सम्झँदै महतोले भने, ‘अब आश्वासन होइन, पैसा लिएर मात्र फर्कन्छौँ ।’ उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वगारथ रायले राज्यको लापरबाही र उद्योगपतिको हेपाहा प्रवृत्तिका कारण निमुखा किसानले दुःख पाएको बताए । किसानले वर्ष दिनको बाली माया मारेर राजधानी पुगेर आन्दोलन गर्नुपर्ने अवस्था नै विडम्बना भएको उनले बताए ।

६ मिलको ८९ करोड बक्यौता

देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ । सबैभन्दा बढी ३५ करोड रुपैयाँ बक्यौता रहेको रौतहटको श्रीराम सुगर मिल बन्द छ । सो मिलको चल–अचल सम्पत्ति बिक्री गरेर किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्योग सो क्षेत्रमा ०७१ मा स्थापना भएको र सोही वर्षदेखिको बक्यौता बाँकी छ ।

सर्लाहीकै गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिलको ६ करोड बक्यौता छ । यो मिलले न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ कम भुक्तानी दिएर किसानलाई ठगेको छ । सरकारी कार्यालयमा सबै रकम भुक्तानी दिएको दाबी मिल प्रशासनले गरेको छ ।

त्यस्तै, नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड भुक्तानी दिन बाँकी छ । सो मिल स्वर्गीय उद्योगी मनीष अग्रवालले सरकारबाट लिजमा लिएर सञ्चालन गरेका थिए । दुई वर्षअघि उनको निधन भएयता भुक्तानीमा समस्या देखिएको हो । अहिले मिल सुनीता गोयलले सञ्चालन गर्दै आए पनि भुक्तानी दिन आनाकानी गर्दै आएकी छिन् ।

नवलपरासीकै इन्दिरा सुगर मिलले ८ करोड र बागमती खाँडसरी मिलले ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताएका छन् ।

सरकारले थाल्यो पहल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता दिलाउन पहल थालेको छ । मन्त्रालयले ८ मंसिरमा सबै उद्योगीलाई भेला गराई एक महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएको सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । मन्त्रालयले बक्यौता भुक्तानीका लागि पत्राचार गर्दा सुरुका दिनमा कुनै उद्योगी छलफलका लागि तयार भएका थिएनन् । त्यसपछि प्रहरी परिचालन गरेर पक्राउ गर्ने चेतावनी दिएको थियो । लगत्तै उद्योग मन्त्रालयले गृहलाई पत्राचार गरी चिनी मिललाई पक्राउ गर्न आग्रहसमेत गरेको थियो । त्यसपछि भने उद्योगीहरू छलफलमा आएका थिए ।

‘गृह मन्त्रालयसँगको समन्वयपछि उद्योगीहरू छलफलमा आउनुभएको थियो । त्यो छलफलमा एक महिनाभित्र बक्यौता रकम तिरिसक्ने निर्णय भएको छ,’ केसीले भनिन्, ‘निर्णय कार्यान्वयनको अवस्था के छ भनेर हामी थप बुझ्नेछौँ ।’ उनले उखु किसानको बक्यौता भुक्तानी गर्न सरकार अघि बढिसकेको बताइन् ।

यद्यपि, उद्योग मन्त्रालयले संकलन गरेको तथ्यांकमा चारवटा मिलले ६६ करोड रुपैयाँ मात्र भुक्तानी दिन बाँकी रहेको उल्लेख छ । केसीका अनुसार श्रीराम सुगर मिलले ३६ करोड, लुम्बिनी चिनी मिलले ८ करोड, इन्दिरा सुगर मिलले ५ करोड र अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ‘अन्य मिलको बक्यौता रहेको बारेमा हामीलाई जानकारी आएको छैन,’ उनले भनिन् ।

उनका अनुसार बन्द गर्ने निर्णय भएको रौतहटको श्रीराम सुगर मिललाई १५ बिघा जग्गा बिक्री गर्न वा सट्टापट्टा गरेर रकम जोहो गर्न निर्देशन दिइएको छ । त्यस्तै, लुम्बिनी चिनी मिलका मुख्य सञ्चालकको निधन भएकाले अर्की सञ्चालक सुनीता गोयलसँग छलफल अघि बढाएको उनले बताइन् । ‘लुम्बिनीको बक्यौता असुल गर्न अग्रवाल परिवार नै छलफलमा आइरहनुभएको छ । उहाँहरूले समस्या समाधान गर्ने बताउनुभएको छ,’ केसीले भनिन् ।

३५ करोड भुक्तानी नदिएर श्रीराम सुगर मिल बन्द

किसानको ३५ करोडभन्दा बढी बक्यौता नतिरी रौतहटको श्रीराम सुगर मिल बन्द भएको छ । गत ९ साउनमा सञ्चालक समितिको बैठक बसी मिल बन्द गर्ने निर्णय गरिएको हो । २६ वर्ष पुरानो उद्योगले पछिल्ला वर्षहरूमा किसानबाट उखु खरिद गरी चिनी उत्पादन गर्दै आए पनि भुक्तानीमा ढिलाइ गर्दै आएको थियो । समयमा भुक्तानी दिन नसकेको मिल यसअघि बन्द हुँदै, खुल्दै गरेको थियो । तर, साउनयता भने पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । यो वर्ष उखुको क्रसिङ सुरु हुने वेलामा मिल सुनसान छ ।

निरन्तर घाटा र बाध्यात्मक परिस्थिति जनाउँदै व्यवस्थापन पक्षले स्थायी रूपमा मिल बन्द गरेको हो । मिल बन्दको निर्णयले किसानको बक्यौतासँगै उद्योगमा कार्यरत ३ सय २५ कर्मचारी तथा मजदुरको तलब–भत्ता भुक्तानीसमेतमा अन्योल देखिएको छ ।

मिलले चल–अचल सम्पत्ति बिक्री गरी भुक्तानी दिन सरकारसँग समन्वय थालेको जनाएको छ । अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा व्यहोरेको मिलको दाबी छ ।

नगदे बाली उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ०७१ सालदेखिको ३५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक संघ रौतहटले जानकारी दिएको छ । संघ अध्यक्ष अशोक यादवले मिल स्थायी रूपमा बन्द गर्नुपर्ने आवश्यकता नै नरहेको बताए । उनले सञ्चालनका लागि किसानले सघाउँदै आएको समेत बताए । यो वर्षका लागि लगाएको उखु बिक्री गर्नसमेत समस्या भएको उनले बताए ।

‘अहिले नै मिल बन्द गरिहाल्नुपर्ने अवस्था आएको थिएन,’ उनले भने, ‘यति धेरै सदस्य रहेको किसानको भावनामा चोट पुग्ने काम भयो । अब किसानले कहाँ लगेर उखु बेच्छन् ?’ उनले बक्यौता भुक्तानी नगरी मिल बन्द गर्नु राम्रो नभएको बताए ।

मिलले क्रसिङ नगरेपछि गाउँघरमा रहेका साना सख्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य भएको विश्रामपुरका किसान नागेन्द्र यादवले बताए । मिल सञ्चालनको माग गर्दै रौतहटका किसानले आन्दोलनका कार्यक्रम गरेको भए पनि कतैबाट सुनुवाइ नभएपछि सख्खर उद्योगमा उखु बेच्न बाध्य भएको उनले बताए ।

अवकाशप्राप्त कर्मचारीलाई समेत ७० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । मिलले १४ भदौमा एक सूचना प्रकाशित गरी आर्थिक अवस्था अत्यन्त जर्जर भएको, पँुजी अभाव भएको भन्दै उद्योगमा कार्यरत श्रमिक, कर्मचारीको पारिश्रमिक भुक्तानी गर्ने अवस्था नरहेको बताएको थियो ।

सर्लाहीका दुई उद्योगको ३६ करोड बक्यौता 

सबैभन्दा धेरै उखु उत्पादन हुने सर्लाहीका किसान मिलले समयमै भुक्तानी नदिँदा समस्यामा छन् । सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले उखु किसानको ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यसमध्ये अन्नपूर्ण सुगर मिलको बक्यौता विगत तीन वर्षदेखिको हो । यो मिल गत वर्षदेखि बन्द छ ।

महालक्ष्मी सुगर मिलको भने गत वर्षको मात्र बक्यौता बाँकी हो । गत वर्ष सर्लाहीका किसानले महालक्ष्मी सुगर मिललाई ६ लाख क्विन्टल उखु बिक्री गरेको उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरिश्याम रायले बताए । सो मिल सर्लाहीमा दुई वर्षअघिबाट मात्र सञ्चालनमा आएको हो ।

संघर्ष समितिका सचिव रायले महालक्ष्मी सुगर मिलले प्रतिक्विन्टल ४ सय ३५ रुपैयाँका दरले भुक्तानी दिएको गुनासो गरे । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ५ सय ३६ रुपैयाँ निर्धारण गरेको छ । सो मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ सरकारले सोझै किसानलाई अनुदान उपलब्ध गराउने नीति लिएको छ । जसकारण उद्योगीले ४ सय ७१ रुपैयाँ प्रतिक्विन्टल किसानलाई भुक्तानी गर्नुपर्ने हुन्छ । तर, महालक्ष्मीले ०७५ मा समेत ४ सय ३५ रुपैयाँ प्रतिक्विन्टलका दरले जबर्जस्ती भुक्तानी प्रक्रिया अघि बढाएको थियो ।

पहिलो वर्ष जबर्जस्ती गरेको उद्योगले दोस्रो वर्षसमेत तोकिएभन्दा प्रतिक्विन्टल ३६ रुपैयाँ सस्तो दरमा उखुको भुक्तानी दिएको रायले बताए । ‘सबै उद्योगले ४ सय ७१ रुपैयाँ प्रतिक्विन्टलका दरले भुक्तानी दिएका छन्,’ उनले भने, ‘महालक्ष्मीले चाहिँ ४ सय ३५ रुपैयाँका दरले मात्र भुक्तानी दिएको कुरा मान्य हुँदैन ।’ उद्योगले भने ४ सय ३५ रुपैयाँ प्रतिक्विन्टलका दरले भुक्तानी दिएर किसानको कुनै बक्यौता नरहेको जानकारी जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा दिएको छ ।

राकेश अग्रवाल सञ्चालक रहेको अन्नपूर्ण सुगर मिलले ०७१ देखि किसानको भुक्तानी रोकेर राखेको छ । गत वर्षसम्म ४१ करोडसम्म बक्यौता रहेको मिलले किसानहरूलाई काठमाडौं बोलाएर समय–समयमा भुक्तानी दिइरहेको थियो । यो वर्ष छठमा पनि केही किसानलाई भुक्तानी दिने भनेर काठमाडौं बोलाएको थियो, तर खाली हात पठाएको किसानहरूले गुनासो गरेका छन् ।

काठमाडौंस्थित उद्योगको कार्यालय धाएका धनकौल गाउँपालिका–२ का किसान राजनारायण यादवले छठमा पैसा दिन्छु भनेर निराश पारेको बताए । आफूहरूको आम्दानीको एक मात्रै स्रोत नगदे बाली उखु बेचेको पैसा नपाउँदा चाडपर्वसमेत खल्लो भएको यादवको दुःखेसो छ ।

सर्लाहीका किसान एक महिनाअघिसमेत २३ कात्तिकमा काठमाडौं आएर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेका थिए । उनीहरूले छठपछिसम्म पैसा नपाए आन्दोलन गर्ने चेतावनी दिएर फर्किएका थिए ।

उद्योग सञ्चालनमा आएदेखिकै समयबाट किसानसँग उखु खरिद गरेबापत भुक्तानी नगरेको यो उद्योग गत सिजन बन्द भयो । उद्योगका प्रबन्धक अजित सिंहका अनुसार यो सिजन सुरु हुनुपहिला नै किसानको सम्पूर्ण भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारी छ ।

यता किसानहरूले उद्योगले पहिलाको भुक्तानी नगरेसम्म उखु पनि नदिने र उद्योग पनि सञ्चालन गर्न नदिने बताउँदै आएका छन् । तीन सिजनपहिला उद्योगलाई दिएको उखुको अहिलेसम्म भुक्तानी नपाएकाले किसानहरू आक्रोशित छन् ।

नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले मिल सञ्चालनअघि भुक्तानी सक्नुपर्ने बताए । उनले मिल सञ्चालन गर्ने, तर भुक्तानी बिस्तारै दिने कुरा आयो भने मान्य नहुने बताए ।

नवलपरासीका किसानले १८ करोड बक्यौता पाएनन्

पश्चिम नवलपरासीका उखु किसानहरूले १८ करोड रुपैयाँभन्दा बढी रकम चिनी मिलबाट भुक्तानी पाएका छैनन् । अघिल्लो वर्ष नै भुक्तानी पाउनुपर्ने सहमति भए पनि अर्को सिजन सुरु हुने वेलासम्म भुक्तानी नपाएपछि यहाँका किसानहरू आन्दोलनमा जाने तयारीमा जुटेका छन् । पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा चिनी उद्योग छन् ।

राष्ट्रिय कृषि श्रमिक संघ नेपाल, नवलपरासीका अध्यक्ष निमनारायण चौधरीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाई तत्काल रकम भुक्तानी नगरे आन्दोलनमा जाने चेतावनी दिएको बताए ।

उखु उत्पादक किसान समिति, नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार दुई वर्षअघि नै उखु लगेको लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा सुगर मिलले ८ करोड भुक्तानी गरेको छैन । किसानलाई भुक्तानी नगरेकै कारण गत वर्ष यी दुई उद्योग सञ्चालनमा आउन सकेनन् । बागमती खाँडसारी मिलको समेत गत वर्षको करिब ४० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको अध्यक्ष यादवले बताए ।

झन्डै ६५ वर्षअघिदेखि उखुखेती गर्न थालेका यहाँका किसानहरू उखुको रकम भुक्तानी पाउने वेला सधैँ आन्दोलन गर्नुपर्ने अवस्था आएपछि बिस्तारै उखुखेतीबाट पलायन हुन थालेका छन् ।

उखु उत्पादक कृषक समिति, नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार कुनै वेला साढे ७ हेक्टर क्षेत्रफलमा ३२ लाख क्विन्टलसम्म उखु उत्पादन भएको थियो । अहिले उखुखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै घटेको छ । यस वर्ष करिब ४ हजार हेक्टर क्षेत्रफलमा उखुखेती गरिएको र यस वर्ष १० देखि १२ लाख क्विन्टल मात्र उखु उत्पादन हुने अध्यक्ष यादवले बताए ।नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close