तीन वर्षपछि ब्युँझियो प्रमुख प्रतिपक्ष

०७४ सालको निर्वाचनपछि प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले निरन्तर खेप्दै आएको आरोप हो– प्रतिपक्षी दल निदायो, सरकारलाई खबरदारी गर्न सकेन । तीन वर्षदेखि खेप्दै आएको आरोप चिर्दै कांग्रेसले सोमबार ७७ वटै जिल्लामा बृहत् प्रदर्शन गरेको छ । सभालाई सम्बोधन गर्दै नेताहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

तीन वर्षयता दुईपटक मात्रै कांग्रेस सडकमा देखिएको थियो । यसअघि १५ साउन ०७४ मा सरकारले जारी गरेको चिकित्सा शिक्षा विधेयकविरुद्ध र डा. गोविन्द केसीको समर्थन गर्दै ७७ वटै जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गरेको थियो । त्यस्तै, पार्टीको एकमहिने जागरण अभियानका क्रममा २५ वैशाख ०७६ मा ७७ वटै जिल्लामा प्रदर्शन गरेको थियो ।

प्रमुख प्रतिपक्षी दलका हैसियतमा संसद्मा पनि खरो उत्रिन नसकेको आरोप कांग्रेसमाथि लागेको थियो । सरकारले आफूखुसी संसद् अधिवेशन अन्त्य गर्दा पनि विज्ञप्ति निकालेर विरोध जनाउने औपचारिकताबाहेक कांग्रेसले केही गरेको थिएन । संसद् अधिवेशन अन्त्य भएको पाँच महिनासम्म कांग्रेसको उपस्थिति विज्ञप्तिमा मात्र देखिन्थ्यो, सडकमा कतै देखिएन । सोमबार भने देशैभर सडक तताएको छ ।

सरकारले सर्वसत्तावादी चरित्र देखाएको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको, महिला हिंसा र बलात्कारका घटना वृद्धि भएकोलगायतका मुद्दा उठाएर कांग्रेस सडकमा उत्रिएको छ । सबैजसो जिल्लामा केन्द्रीय सदस्यहरू पुगेका छन् । ठूला सहरहरूमा भएका विरोध सभालाई केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूले सम्बोधन गरेका छन् ।

गत १७ मंसिरमा गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सत्तारुढ नेकपाका कार्यकर्ताले दुव्र्यवहार गरेपछि कांग्रेस कार्यकर्ता एकाएक सडक प्रदर्शनमा उत्रिएका थिए । नेतृत्वले त्यसलाई सदुपयोग गर्दै ७७ वटै जिल्लामा सरकारविरुद्ध नारा घन्कायो ।

हेटौँडामा भएको विरोध प्रदर्शन र सभामा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले एकदलीय सर्वसत्तावादी कम्युनिस्ट सरकारका विरुद्ध कांग्रेस सडकमा उत्रिएको बताए । ‘केपी ओली नेतृत्वको सरकारले एक दललाई मात्र माथि राखेर सर्वसत्तावाद लादिरहेको छ,’ उनले भने, ‘ओलीको नेतृत्व निरंकुश शासन पद्धतिमा अघि बढेका कारणका कोरोना महामारीबीच कांग्रेस सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको हो ।’

देउवाले कम्युनिस्ट सरकारकै अकर्मण्यताका कारण देशमा राजावादीहरू सल्बलाएको आरोप लगाए । ‘लोकतन्त्रमा कुनै विरोध वा धर्ना हुनु सामान्य कुरा हो, तर राजा आऊ, देश बचाऊ भन्दै नारा सडकमा गुन्जिनुको कारण खोज्नुपर्छ, यसको मुख्य कारण अहिलेको सरकार नै हो,’ उनले भने ।

अहिलेको व्यवस्थाविरुद्ध राजावादीहरू सडकमा उत्रिनुमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवार रहेको उनले जिकिर गरे । उनले ओली सरकारका कारण जनता आजित भइसकेको र कोरोना महामारीका वेला जनतालाई निःशुल्क उपचार र औषधिसमेत व्यवस्था गर्न नसकेको भन्दै आक्रोश पोखे । आफू प्रजातन्त्रको विरोधमा नलाग्ने बताउँदा राजाले जेल हालेको स्मरण गर्दै देउवाले लोकतन्त्रलाई संस्थागत गर्ने एक मात्र पार्टी कांग्रेस मात्रै भएको दाबी गरे । अहिलेको व्यवस्थालाई थप मजबुत र संस्थागत बनाउन अनुरोध गर्दै उनले नयाँ संविधानलाई सफल बनाउन सबैको महत्वपूर्ण योगदान हुनुपर्ने बताए ।

अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको देउवाको भनाइ छ । उनले जनतालाई दुःख दिने र सडकमै आन्दोलन गर्ने नियत नभए पनि कम्युनिस्ट सरकारले कांग्रेसलाई यस्तो अवस्थासम्म आउन बाध्य पारेको उनले बताए । कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्मा, बागमती प्रदेश सभामा कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलगायत नेताहरूले सम्बोधन गरे ।

काठमाडौंको सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राज्यको ढुकुटीको चरम दुरुपयोग गरेको बताए । भ्रष्टाचारीहरूलाई सरकारले नै संरक्षण गरेको उनको भनाइ छ । ‘भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरू नै पद र प्रतिष्ठासहित बसिरहेका छन् । उनीहरूलाई न मुद्दा लाग्छ, न अख्तियार लाग्छ,’ नेता पौडेलले भने, ‘सरकारले राज्यको ढुकुटीको चरम दुरुपयोग गरिरहेको छ ।’

कम्युनिस्ट सरकार राजतन्त्रभन्दा पनि निरंकुश र सर्वसत्तावादी भएको नेता पौडेलको भनाइ छ । ‘राजाका पालामा रूख रोप्दा टाउको फुट्यो, अहिले कम्युनिस्टका पालामा पुल बनाउँदा हाम्रो ढाड भाँचिएको छ । यसलाई कसरी हेर्ने ?’ उनले भने । सरकारले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप पनि पौडेलले लगाए । ‘लोकतन्त्रमाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिस्ट सरकारले ग¥यो, दोस्रोे प्रहार प्रतिगामी तत्वहरूले गर्दै छन् । विप्लव माओवादीको तेस्रोे प्रहार मात्रै हो,’ उनले भने, ‘यी सबै तत्वहरूले लोकतन्त्रलाई स्वीकार गर्न नसक्ने चरित्र देखाएका छन् ।’

भक्तपुरको सभालाई सम्बोधन गर्दै उपसभापति विमलेन्द्र निधिले सरकार बदनाम भट्टीपसलजस्तै भएको टिप्पणी गरे । ‘जसरी राम्रै मान्छे पनि भट्टीपसलबाट फर्किँदा शंकामा पर्छ र गलत दृष्टि लगाइन्छ, अहिलेको सरकार र प्रधानमन्त्रीको अवस्था पनि त्यस्तै बनेको छ,’ उनले भने । कतिसम्म भने कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेको खबर आउँदा देउवाको समेत बदनाम हुने अवस्था आउने गरेको उनको भनाइ छ ।

सरकारको अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी रहुन्जेल कांग्रेस सडक आन्दोलन गर्न बाध्य हुने निधिले बताए । त्यस्तै, ललितपुरमा भएको सभामा बोल्दै कोषाध्यक्ष सीतादेवी यादवले सरकारको सर्वसत्तावादी चरित्रको विरुद्धमा कांग्रेस पुनः सडकमा उत्रिएको बताइन् । कोरोना महामारीका वेलामा समेत सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै अब सरकारका विरुद्धमा कांग्रेसले निरन्तर खबरदारी गर्ने उनले बताइन् ।

काठमाडौंमा क्षेत्र नम्बर १ ले भृकुटीमण्डपबाट, क्षेत्र नम्बर २, ३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५, ६ र ७ ले लैनचौरबाट, क्षेत्र नम्बर ८ ले वसन्तपुरबाट र क्षेत्र नम्बर ९ र १० ले सहिद गेटबाट निकालेको ¥याली रत्नपार्कस्थित शान्तिवाटिका पुगेर सभामा परिणत भएको थियो । त्यस्तै, भक्तपुरमा सल्लाघारीदेखि सुरु भएको विरोध ¥याली सूर्यविनायक पुगेर सभामा परिणत भएको थियो । ललितपुरमा लगनखेलदेखि मंगलबजार, ज्वागल, पुल्चोक हुँदै जावलाखेलसम्म ¥याली प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्रीको गृहजिल्ला झापा पुगेका कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा भ्रष्टाचारले सगरमाथाको जस्तै उचाइ लिएको आरोप लगाए । ‘यो सरकार काण्डै–काण्डमा फसेको छ, पहिला त गल्ती गर्दा कारबाही हुन्थ्यो, तर अहिले त सरकारले नै संरक्षण दिन्छ,’ उनले भने, ‘देशमा भ्रष्टाचारले सगरमाथाको जस्तै उचाइ लिएको छ ।’ डा. महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई सरकारको लाचार छाया बनाएको आरोप लगाए ।

उनले कांग्रेसले यस अघिदेखि नै सरकारलाई लगाउँदै आएको आरोप नेकपाकै शीर्ष नेताले प्रमाणित गरिदिएको दाबी गरे । उनले नेकपा नेतृत्वको सरकार र पार्टी जनताको पक्षमा नरहेको दाबी गरे । ‘महामारीले देश आक्रान्त छ । जनता उपचार नपाएर छटपटाइरहेका छन् । एक दिनमा एक लाखसम्म बुझाएर उपचार गराउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरकार केही व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम मात्र बनेको छ ।’

डा. महतले राजावादी सडक आउँदैमा राजा नफर्कने दाबी गरे । ‘जनताले सरकारसँगको असन्तुष्टि व्यक्त गर्ने माध्यम खोजिरहेका छन् । त्यही क्रममा जसले विरोध ग¥यो त्यतै आए,’ उनले भने, ‘हामीले पनि संवैधानिक राजसंस्था मानेकै हौँ । उनी हामीप्रति खनिए । त्यही भएर समाप्त भए ।’

जनकपुर पुगेका कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकार भ्रष्टाचारी र पुँजीपतिको संरक्षक बनेको आरोप लगाएका छन् । नेता सिंहले कोरोनाकालमा आमजनताको जीवन रक्षा र गरिब विपन्न, मजदुरलगायतलाई राहत दिनुको साटो सरकार औषधि खरिद, स्वास्थ्य उपचारको मेसिन, प्रिन्टिङ प्रेस खरिदमा अर्बौँको भ्रष्टाचार गर्नेलाई संरक्षण गरिरहेको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिनँ भन्नुहुन्छ,’ नेता सिंहले भने, ‘तर, दायाँबायाँ सबैतिर भ्रष्टाचारीहरूकै हालिमुहाली छ ।’

कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई समेत प्रभावित बनाउँदै आएको नेता सिंहले दाबी गरे । जनताको आवाज दबाउने उद्देश्यले सरकार लामो समयदेखि संसद् स्थगित गरेर राखेको दाबी गर्दैै नेता सिंहले भने, ‘अविलम्ब संसद् सुचारु गर्नुपर्छ । नत्र संसद्मा उठ्ने जनताको आवाज अब कांग्रेसले सडकमा उठाउँछ ।’

भरतपुरमा गएका कांग्रेस नेता डा. रामशरण महतले सरकारकै कारण देशमा विकृति भित्रिएको बताए । नागरिक समाजलगायत धेरै क्षेत्रबाट सरकारको विरोध हुँदै गर्दा पनि कोभिडको महामारीमा सरकारको साथ दिँदै सडकमा नआएको उनले बताए । ‘हामी सरकारको सहयोगी प्रतिपक्ष थियौँ । देशमा सरकारबाट नै भ्रष्टाचार हुन थाल्यो, महामारीमा समेत जनतालाई सेवा दिन सकेन, हामी सडकमा आउन बाध्य भयौँ,’ उनले भने ।

सरकारले आफूले पनि कुनै काम नगरेको, तर नेपाली कांग्रेसका पालामा भएका राष्ट्रिय कामसमेत आफूले गरेको भन्ने प्रचार गर्दै हिँडेको उनी बताउँछन् । उनले नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सम्झौता हुनुपर्ने, तर अहिलेको सरकारले चीनका कारणले गर्दा सम्झौता नगरेकोसमेत आरोप लगाए । कांग्रेसले गरेको प्रदर्शनका कारण घन्टौँसम्म सडक जाम भएको थियो ।

भैरहवा पुगेका कांग्रेस नेता सुरेन्द्र पाण्डेले नेकपाका दुई अध्यक्षको विवादको जड लेनदेन भएको आरोप लगाए । ‘नेकपाको विवाद विधि र पद्धतिको होइन, यो त देखाउने दाँत मात्रै हो,’ उनले भने, ‘मुख्य कुरा लेनदेन हो, भ्रष्टाचारबाट आएको रकममा भागबन्डा नमिल्दा यो समस्या आएको हो ।’ उनले सरकारको नालायकीपनका कारण राजावादीहरू सडकमा उत्रिएर जनता भड्काउन खोजेको बताए । प्रतिनिधिसभाका सदस्य तथा सार्वजनिक लेखा समितिका संयोजक भरत शाहले सरकारले अर्बौँ रुपैयाँको भ्रष्टाचार गरेको सिफारिस गर्दासमेत दोषीलाई कारबाही नभएको टिप्पणी गरे ।

‘वाइडबडी खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, स्वास्थ्य सामग्री तथा उपकरण खरिद प्रकरणमा सरकारले अर्बौँ रकम अनियमितता गरेको छ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भाषण दिने गरे पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र स्वास्थ्य सामग्री तथा उपकरण खरिद प्रकरणमा मुछिएका आफ्ना विश्वासपात्रहरूलाई कारबाहीको दायरामा ल्याउन नखोजेको आरोप लगाए ।

सिराहा पुगेर कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएकाले भ्रष्टाचारीलाई संरक्षण गर्दै हिँडेको भन्दै कांग्रेस केन्द्रीय सदस्य भण्डारीले दुईतिहाइको दम्भमा सरकार मात्तिएको बताए ।

किसानलाई मल, बीउविजन उपलब्ध गराउन नसकेको भन्दै उनले कोरोना महामारी नियन्त्रणमा लिन पनि सरकार असफल भएको बताए । ‘सरकार दुईतिहाइको दम्भमा अधिनायकवादतर्फ उन्मुख भएको छ,’ उनले भने, ‘जनताको आधारभूत आवश्यकता र मागलाई पनि बेवास्ता गर्दै हिँडेको छ ।’

विराटनगरमा कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारलाई लोकतन्त्रको जग बसाउन कांग्रेसले तीन वर्षसम्म साथ दिँदा पनि अपेक्षाकृत काम गर्न नसकेको बताए । ¥यालीपछि जनआन्दोलन चोकमा सभामा महामन्त्री कोइरालाले भने, ‘हामीले तीन वर्षसम्म साथ दियौँ, तर यो सरकारले केही गर्न सकेन, त्यसैले सडकमा उत्रिन बाध्य भएका छौँ ।’ अहिलेको सरकारले देशमा नयाँ विकासका योजना ल्याउन नसकेको उनको भनाइ थियो । ‘देशमा हाल रहेका अस्पताल, एयरपोर्ट, पुल, सडक सबै कांग्रेसले बनाएका हुन्, सरकारले नयाँ केही गर्न सकेको छैन,’ उनले भने । कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरे ।

सभामा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुली, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूलगायतले सरकारको चर्को आलोचना गरे ।

तनहुँमा कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले संविधान, कानुन र विधि नमाने जनताले बालुवाटारबाट निकाल्ने चेतावनी दिएका छन् । ‘विधि मान्ने हो भने जनताले पनि मान्छन् यदि विधि नमान्ने हो भने जनताले ओलीलाई बालुवाटारबाट निकालेर पनि देखाउन सक्छन्,’ उनले भने । दमौलीमा भएको सभामा नेता रिजालले १७ मंसिरमा पुल उद्घाटन गर्न जाँदा नेता पौडेलमाथि भएको दुव्र्यवहारप्रति आक्रोश व्यक्त गरे ।

 

धनगढीमा गगन थापाले भने– भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ

नेपाल कम्युनिस्ट पार्टी भन्ने यो पार्टी नै होइन, यो लोभीपापीहरूको मञ्च मात्रै हो । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमा बस्नुभएको छ, महारानी होइन, राष्ट्रपति हो । तपार्इं हामीले बनाएको राष्ट्रपति हो । प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको हो ? होइन । यो तामझाम चित्त बुझेको छ ? छैन । चित्त बुझेको छैन भने हिसाबकिताब गरौँ, श्रद्धेय मदन भण्डारीले बोल्नुभएको उहाँको भाषणको एउटा वाक्य उद्धृत गरेर, दोहो¥याएर भन्दै छु, राष्ट्रपति श्री ५ बडामहारानी बन्न खोज्नुभएको, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भन्दै छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्सियोस्, हात नलम्क्याइबक्योस्, हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्सियोस्, चुनाव लड्न हामीहरू तयार छौँ । 

बालुवाटारको जग्गा छोराको नाममा खर्लप्प खाने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छेचाहिँ जेलमा छ । सिफारिस गर्ने मान्छे जेलमा पुग्दा त्यसको फल खाने मान्छेचाहिँ अर्थमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ । निर्मला पन्तदेखि निर्जला चौधरीसम्मको बलात्कार र हत्याका दोषीलाई संरक्षण गर्ने गृहमन्त्री अनि स्वास्थ्य सामग्रीको खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विश्वासपात्र स्वास्थ्यमन्त्री भएको सरकार छ यो । यो सबै कुरा प्रधानमन्त्रीको इच्छाबमोजिम चलेको छ भनेर भन्दै गर्दा त्यो गलत हुँदैन । कुनै पनि भ्रष्टाचार काण्ड प्रधानमन्त्रीले प्रोत्साहन नगरीकन भएको छैन । भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ । भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, सिंहदरबार गए पुग्छ । 

सडकमा युवा साथीहरू राजा आऊ देश बचाऊ भन्दै छन् । त्यो तपार्इंको हक हो । तपाईंको अधिकार हो । म त्यसको सम्मान गर्छु । यति सम्झाउँछु, ०५९ सालमा पनि यसैगरी सडकमा नारा लगाएका थिए । राजा आए, तर आपूmलाई बचाउन सकेनन्, देश कहाँबाट बचाइदिन्थे ? 

सरकार संसद्बाट भाग्यो, बालुवाटारको दुलोभित्र लुकेको सरकारलाई ललकार्नका निम्ति, बरालिएको सरकारलाई ठेगानमा ल्याउनका निम्ति कांग्रेस आज सडकमा आएको छ, अब घर फर्किएर जाँदैन । जबसम्म सरकार ठेगानमा आउँदैन, तबसम्म कांग्रेस सडकमा आइराख्छ, सडकमा आउन बाध्य सरकारले बनाएको छ । 

सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गरेको छैन । देश र जनताको आकांक्षाप्रति पटक्कै पनि यसको संवेदना छैन, व्यक्तिपूजामा लागेको छ । तत्कालै गर्नुपर्ने काम गर्दैन, कहिल्यै पूरा नहुने हावादारी कुरामा देश र जनतालाई झुक्याउँछ । 

मुखले भ्रष्टाचार गर्दिनँ भन्छ, भ्रष्टाचार सहन्नँ पनि भन्छ, तर वाइडबडी खर्लप्पै खान्छ, सेक्युरिटी प्रेस खर्लप्पै खान्छ, बालुवाटारको जग्गा खर्लप्पै खान्छ, यती समूहसँग साँठगाँठ गर्छ, त्यति मात्रै होइन, कहिल्यै आजसम्म कसैले नगरेको बजेट भाषण हुनुभन्दा पहिले व्यापारीलाई बोलाएर म राजस्वको दर यसरी तलमाथि गर्दै छु भनेर व्यापारीलाई पोस्ने काम गर्छ । अख्तियारले छानबिन गरिरहेको मुद्दामा अख्तियारको प्रमुखले भन्दा पहिले प्रधानमन्त्री आफैँले यो निर्दोष छ भनेर घोषणा गर्ने र संरक्षण गर्ने काम भइरहेको छ । 

लकडाउन ग¥यो, महिनौँसम्म हामीलाई घरभित्र राख्यो, तर सरकारले सिन्को पनि भाँचेन । श्रमजीवीहरू, मजदुरहरू यत्रो लामो यात्रा हिँडेर घर पुगे । विदेशबाट स्वदेश फर्काउँदा पनि टिकटमा कमिसन खायो । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेर सिंगो विश्वका अगाडि शिर झुकाउनुपर्ने अवस्था बनायो । 

किरियापुत्रीको भेषमा प्रदर्शन

सिन्धुपाल्चोक/ सिन्धुपाल्चोकमा कांग्रेसले किरियापुत्रीको भेषमा सडकमा उत्रिएर प्रदर्शन गरेको छ । तर, जिल्लाका दुई ठाउँमा विरोध प्रदर्शन भएको छ । जिल्ला सभापति विकास लामाले चौतारामा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाह्रबिसेमा विरोध प्रदर्शन गरेका हुन् । बाह्रबिसेमा आयोजित कार्यक्रममा स्थानीय नेता टपेन्द्र दर्नाल र युधीर पौडेल किरियापुत्रीको भेषमा प्रदर्शनमा निस्किएका थिए । प्रधानमन्त्री केपी ओलीविरुद्ध सांकेतिक रूपमा किरियापुत्रीको भेषमा प्रदर्शन गरेको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए । केन्द्रीय समितिले जिल्ला समितिको आयोजनामा जिल्ला सदरमुकाममा मात्रै कार्यक्रम गर्न निर्देशन दिएको थियो । पार्टीभित्रको विवाद सिन्धुपाल्चोकमा सडकमै पोखिएको छ ।आजको नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close