नेपालमा कोरोना परीक्षण घट्दै, मृत्युदर बढ्दै (पुरा विवरण सहित)

काठमाडौँ — सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ ।

शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०.७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०.६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १.०१ प्रतिशत र भक्तपुरको १.१६ प्रतिशत छ । यस्तै वाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ ।

देशभर कोभिडले मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत वाग्मती प्रदेशका छन् । यस्तै उपत्यकामा ६ सय ९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडले हुने मृत्युमध्ये २५ प्रतिशत छ । नोभेम्बर ४ मा ३० जनाको मृत्यु भएको थियो भने नोभेम्बर ३० मा २९ जना र नोभेम्बर २५ मा २८ जनाको मृत्यु भएको थियो । पछिल्लो एक महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । विज्ञहरूले परीक्षण बढाउने हो भने संक्रमण दर बढी देखिने बताएका छन् । उनीहरूले संक्रमण दरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले सम्भावित दोस्रो लहर ल्याउन सघाउने चेतावनी दिएका छन् ।

उनीहरूले कोभिडको समग्र परीक्षणमा कमी आउनुका साथै सस्पेक्टेड केस (शंकास्पद संक्रमित) बाहेक दैनिक उल्लेख्य संख्यामा विदेश जान खोज्नेहरूले नै पीसीआर परीक्षण बढी गरेकाले संक्रमण दरमा कृत्रिम कमी देखिएको विश्लेषण गरेका छन् । एक सातायता मुलुकको दैनिक औसत कोभिड संक्रमण दर १३.९८ प्रतिशत छ । सातायता दैनिक औसत ५ हजार ७ सय ६४ नमुनाको मात्र पीसीआर परीक्षण हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार शनिबार देशभरका ४५ सरकारी र ३५ निजी गरी कुल ८० वटा प्रयोगशालामा ४ हजार ७ सय ८० पीसीआर परीक्षण भएकामा ७ सय १० जनामा संक्रमण देखिएको छ । ‘हाल देशभरि कोभिडको सस्पेक्टेड केसमा संक्रमण देखिने वास्तविक दर २५–२६ प्रतिशत नै छ,’ डा.बीसी भन्छन्, ‘सस्पेक्टेड केसको दाँजोमा विदेश जाने स्वस्थ व्यक्तिहरू अत्यधिक मात्रामा दिनहुँ पीसीआर परीक्षण गराउने भएकाले नै शनिबार संक्रमण दर १४.८५ प्रतिशत मात्र देखिएको हो ।’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले हाल कोभिडको केस कम देखाएर ट्रान्समिसन रेट र पोजेटिभिटी रेट लुकाउन खोजिएको आरोप लगाए । उनी भन्छन्, ‘हाल संक्रमण दरमा देखिएको कमीका कारण कोभिडको लक्षित समूहबाहेकका व्यक्तिद्वारा अत्यधिक मात्रामा पीसीआर परीक्षण गरिएकाले लक्षित समूहको परीक्षणमा अत्यन्त कमी आएको छ । जसका कारण परिणाम अर्कै आउँछ ।’

विदेश जान दिनहुँ पीसीआर परीक्षण गराएकाहरूको संख्या घटाउने हो भने वास्तविक संक्रमणको अवस्था स्पष्ट हुने विज्ञको भनाइ छ । हाल दैनिक सरदर १ हजार ८ सयभन्दा बढी व्यक्ति ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएर विदेश जाने गरेका छन् ।

‘आज (शनिबार) गरिएको ४ हजार ७ सय ८० पीसीआर परीक्षणमा विदेश जाने व्यक्तिको सरदर संख्या १ हजार ८ सय घटायौं भने वास्तविक परीक्षण गराउने कोभिडको सस्पेक्टेड केस २ हजार ९ सय ८० मात्र हुन्छ,’ डा. बीसीको भनाइ छ । विदेश उड्न खोज्ने व्यक्ति अधिकांश स्वस्थ हुने जनाउँदै उनले अगाडि थपे, ‘मुलुकमा शनिबार २ हजार ९ सय ८० कोभिडको सस्पेक्टेड केसले पीसीआर परीक्षण गराउँदा ७ सय १० जना पोजिटिभ देखियो अर्थात् देशभरिमा कोभिडको सन्दिग्ध व्यक्तिमा संक्रमण देखिने दर अझै २४ प्रतिशत देखिन्छ ।’

विदेश जाने अधिकांश व्यक्तिले वाग्मती प्रदेशमै परीक्षण गराउने भएकाले मुलुकभरिमा कोभिडको सस्पेक्टेड केसमा सबैभन्दा बढी संक्रमण दर वाग्मती प्रदेशमै देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबार देशभरिमा गरिएको कुल ४ हजार ७ सय ८० पीसीआर परीक्षणमा २ हजार ९ सय ५५ पीसीआर परीक्षण वाग्मती प्रदेशमा भएको छ । ‘वाग्मतीमा शनिबार गरिएको कुल २ हजार ९ सय ५५ पीसीआरमध्ये दैनिक विदेश उड्नेहरूको सरदर संख्या १ हजार ८ सय घटाउँदा कोभिडको परीक्षण गराउने सस्पेक्टेड व्यक्तिहरूको वास्तविक संख्या १ हजार १ सय ५५ हुन्छ’, डा.बीसी भन्छन्, ‘वाग्मतीमा शनिबार ४ सय १५ जना कोभिड पोजिटिभ देखिएका छन् अर्थात् यो प्रदेशमा सस्पेक्टेड कोभिड संक्रमितमध्ये पोजिटिभ देखिने दर ३६ प्रतिशतसम्म आइरहेको छ ।’

राजधानीमा प्रत्येक दुई–तीन जना सस्पेक्टेड कोभिड संक्रमितको पीसीआर गर्दा एक जना पोजिटिभ देखिने अवस्था कायम छ । यसैले राजधानीवासीले हाल सरकारद्वारा जानकारी गराइएको संक्रमण दरमा देखिएको कमीलाई दृष्टिगत गरी व्यक्तिले जनस्वास्थ्य उपाय अपनाउन छाडेको उनको भनाइ छ । उनले यही अवस्थामा कोभिडको दोस्रो लहर आउने उच्च सम्भावना रहेको डा.बीसी बताउँछन् । उनका अनुसार मुलुकमा कोभिडको दैनिक रूपमा वास्तविक पोजिटिभ देखिने दर निकाल्नका लागि सरकारले विदेश जान पीसीआर गराएकाको संख्या हटाएर गणना गर्नुपर्छ ।

अहिले मुलुकमा कोभिडको परीक्षण लक्षित समूहमा नभइरहेको औंल्याउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुर भन्छन्, ‘नमुना संकलन र परीक्षण कोभिडका लागि लक्षित समूहबाहेकको भइरहेकाले संक्रमण दरमा कमी देखिएको हो । विदेश उड्ने स्वस्थ व्यक्तिहरू संक्रमणको वास्तविकता थाहा पाउनका लागि लक्षित समूह होइनन् ।’ विदेश जाने स्वस्थ व्यक्ति र कोभिडको कडा लक्षण देखिएकाको मात्र पीसीआर परीक्षण हुँदा हालको तथ्यांकले वास्तविकता थाहा पाउन गाह्रो भएको जनाउँदै डा.ठाकुर भन्छन्, ‘कोभिडको वास्तविक तस्बिर जनतासामु नआए उहाँहरूले अपनाउने स्वास्थ्य संवेदनशीलतामा कमी आएर मुलुकमा कोभिडको दोस्रो तरंग आउने आधार तयार हुन्छ ।’

विज्ञहरू पीसीआर परीक्षणको संख्या र दायरा बढाउँदा मात्र गुणात्मक रूपले मुलुकमा भएको संक्रमणको वास्तविकता थाहा हुने बताउँछन् । हालसम्म कोभिडका लागि गरिएको १८,६६,२१० पीसीआर परीक्षणमध्ये २,५३,१८४ नमुना पोजिटिभ देखिँदा हालको संक्रमण दर १३.५६ प्रतिशत देखिएको छ ।कान्तिपुर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close