ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले १२ माघदेखि ८ फागुनसम्म ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। बजेटमा घोषणा गरिएका कार्यक्रम तथा विकास आयोजनाको खर्च जुटाउन राजस्वले नथेग्ने भएपछि सरकारले ऋण उठाउँछ। अर्थ मन्त्रालयले राजस्वले नथेग्ने बजेट बनाएपछि बाँकी खर्च जुटाउन विदेशी अनुदान र विदेशी ऋण खोज्छ। त्यसले पनि नधान्ने अवस्थामा स्वदेशभित्रैका बैंक तथा वित्तीय संस्था र नागरिकबाट यस्तो ऋण लिने गर्छ। हरेक वर्ष सरकारले स्वदेशी बजारबाट ऋण उठाउने गरेको छ। यो वर्ष २ खर्ब २५ अर्ब ऋण उठाउने योजना बनाएको सरकारले त्यसको झन्डै एक चौथाइ रकम अबको एक महिनामा बजारबाट थुत्ने भएको छ। यसअघि ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण केन्द्रीय बैंकमार्फत सरकारले लिइसकेको छ। बाँकी करिब १ खर्ब १२ अर्ब रुपैयाँ भने आउँदो वैशाख–जेठमा मात्रै लिनेछ।

सरकारले आन्तरिक बजारबाट ऋण उठाउँदा बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य पैसा भने कम हुन जान्छ। निजी लगानी पनि बढिरहेको समयमा त सरकारले ऋण उठाएपछि बैंकको ब्याजदर बढ्ने र निजी लगानीका लागि आवश्यकऋण प्राप्त गर्न कठिनाइ पनि पर्ने हुन्छ। तर अहिले बैंकसँग प्रशस्त पैसा रहेकाले ब्याजदरमा कुनै असर नपर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्।

बैंकबाट ऋण लिएर लगानी गर्दा पनि नाफा !
अहिले बैंकले निकै सस्तो दरमा निक्षेप राखिरहेको बेला राष्ट्र बैंकले भने ९ देखि १० प्रतिशतसम्म ब्याज दिने गरी ऋणपत्र जारी गर्न लागेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार तीन साताअघि बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर ५.१४ प्रतिशत थियो। अहिले पनि बैंक तथा वित्तीय संस्थाले एक हजार रुपैयाँ निक्षेप राख्दा एक वर्षको ब्याज बचत खातामा २८ रुपैयाँ र मुद्दती खातामा ८२ रुपैयाँ दिँदै आएका छन्।

कोरोना महामारी सुरु हुनुअघि उच्च ब्याजदर भएको बेला मुद्दती खातामा राखेको रकमका कारण अहिले पनि बैंकको ब्याज उच्च देखिएको छ। तर अहिले बैंकले योभन्दा निकै सस्तो दरमा मात्रै निक्षेप स्वीकारिरहेका छन्। राष्ट्र बैंककै तथ्यांकले अहिले कर्जाको ब्याजदर ९.३७ प्रतिशतमा रहेको देखाएको छ। अहिले वाणिज्य बैंकले ८ प्रतिशतको हाराहारीमा ऋण दिइरहेका छन्।

यस्तो अवस्थामा सरकारी ऋणपत्रमा लगानी गर्नु लाभदायक हुन्छ। सरकारले नागरिक बचतपत्रमा वार्षिक ९ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत ब्याज दिने भनेको छ। यी दुवै योजना पाँचवर्षका लागि हुन्। अहिले बैंकबाट ऋण लिगेर सरकारी ऋणपत्रमा लगानी गर्दासमेत नाफा हुने अवस्था आएको छ।

लामो समयसम्म पैसा बचत राख्न सक्ने नागरिकले यस्ता ऋणपत्रमा लगानी गर्न सक्छन्। पछि पैसाको जरुरत भयो भने यही ऋणपत्रको निस्सा (प्रमाण)का आधारमा बैंकबाट ऋण पनि लिन पाइन्छ। सरकारी ऋणपत्रलाई बैंकले सबैभन्दा विश्वासिलो धितोका रूपमा स्वीकार्छन्। अन्नपुर्ण

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close