सरस्वतीको पूजाआजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै

काठमाण्डौ ।माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे ज्ञान र विद्या बढ्ने विश्वास छ । आज सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ ।विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ ।हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ।यस दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । यस दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् । सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।
कमेन्ट गर्नुहोस !