‘शान्त देखिने मान्छे रक्सी खाएपछि किन धेरै बोल्छ ?

डा. जगदम्बा पण्डित, मनोचिकित्सक 

मान्छे किन रक्सी खान्छन्?

रक्सी खाने विभिन्न कारण हुन्छन्। एउटा त सरसंगतका कारण लहैलहैमा खाँदाखाँदै आदत बन्न पुग्छ। कसैले नखानु, हानि पुर्‍याउँछ भन्यो भने पनि पत्यार लाग्दैन र खान्छन्।

अर्को, पारिवारिक प्रभावका कारण खान्छन्। घरपरिवारमा सबै जना खान्छन् भने बालबालिकाले पनि खान थाल्छन्। त्यस्तै, परिवारमा केही तनाव, हैरानी छ भने त्यसले गर्दा पनि रक्सी खान्छन्।

त्यस्तै आघात पनि एउटा कारण हाे। बाल्यकालमा कुनै दुर्व्यवहार वा हिंसा भएको छ भने त्यसलाई भित्रभित्रै दबाउने क्रममा कतिपयले रक्सी वा लागूपदार्थको सहारा लिन्छन्। मद्यपानलाई दुर्व्यवहार सहने बहाना बनाइएको हुन्छ। अर्को चाहिँ चेतनाको अभावका कारण यो पिउनु हुँदैन भन्ने थाहा नपाएर पनि मद्यपानले निरन्तरता पाइरहेको हुन्छ।

कसैलाई नराम्रो नभन्ने मान्छे पनि रक्सी खाएर लट्ठ भएपछि जे पायो त्यही बोल्ने, गाली गर्ने वा नचाहिने कुरा गरेको देखिन्छ। रक्सीले हाम्रो मस्तिष्कलाई नै ‘फेल’ गराउने भएकाले त्यस्तो भएको हो।
हामी रक्सी खाने व्यक्ति हेरेर पहिचान गरिहाल्छौं। एउटा आँखा खोल्ने बित्तिकै रक्सी खान्छ कि खाँदैन भन्ने थाहा हुन्छ। त्यसरी खानेहरू सामान्य अवस्था हो कि रोग वा कुलतको तहसम्मै पुगेको भन्ने फरक-फरक हुन्छ। रक्सी छोड्न वा मात्रा घटाउन खोज्ने, तर नसकेर हीनताबोध गर्ने पनि हु्न्छन्। नपिउनू भनेर अरूले सम्झाउँदा रिसाउँछन्। त्यो चाहिँ रोग नै हो।

रक्सी खाने मान्छेले परिवारलाई राम्ररी हेरेको छैन, परिवारसँग सम्बन्ध राम्रो छैन, आफ्नो दायित्वमा सफल भएको छैन, आफ्नो काम पनि राम्ररी गर्न सकिरहेको छैन, रक्सी छोड्न सकिरहेको छैन भने त्यो कुलत हो, रोग हो।

रक्सीले ज्यान पनि जाने हुन्छ?

रक्सी खाएपछि एउटा उतिखेर पर्ने र अर्को दीर्घकालीन प्रभाव हुन्छ। यसले मस्तिष्कमा असर गर्छ। हाम्रो श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कमा एउटा भाग हुन्छ, त्यसलाई नै दबाइदिन्छ। त्यही भएर मान्छेहरूले अत्यधिक रक्सी खाएमा ‘पोइजनिङ’ भयो भनिन्छ। यदि श्वासप्रश्वासमा केही समस्या छ वा कुनै रोग छ वा त्योसँगै मस्तिष्कलाई लट्ठ्याउने खालको कुनै औषधि पनि खाइरहेको छ भने त्यस्तो व्यक्तिले रक्सी धेरै खाएमा श्वासप्रश्वास बन्द भएर मृत्यु पनि हुनसक्छ।

रक्सीले उतिखेरै शरीरमा पार्ने प्रभाव कस्तो हुन्छ?

रक्सी यस्तो पदार्थ हो, जुन खानेबित्तिकै पेटमा पुगेसँगै रगतमा गइहाल्छ। १० मिनेटदेखि १/२ घण्टासम्म यसको पूरै असर देखिन थाल्छ। हाम्रो दिमागमा स्नायु प्रणालीले सूचना दिइराख्नुपर्छ। त्यहाँ विभिन्न रसायन उत्पादन भइरहेका हुन्छन्। रक्सीले तिनीहरूलाई अवरुद्ध गरेर मस्तिष्कको सूचना प्रणालीलाई नै फरक पारिदिन्छ। त्यसैले रक्सी खाएको मान्छेले सोच्न नसक्ने, निर्णय गर्न नसक्ने, बोली लरबराउने, सम्झिन नसक्ने भइदिन्छ।

रक्सी जस्तो मादक वस्तुले हाम्रो मस्तिष्कलाई नै ‘ब्ल्याक आउट’ बनाएर सोचविचार नै ठप्पसरह पारिदिन्छ। मस्तिष्कमा छोटो र लामो समयको स्मृति आइरहन्छ, नशालु वस्तुले त्यसलाई जोडिन दिँदैन। त्यसैले रक्सी खाएपछि केही कुरा गरेको, तर याद नभएको भनिन्छ।

शान्त रहने मानिस पनि रक्सी खायो भने धेरै बोल्छ। यो कसरी हुन्छ?

मस्तिष्कको पछाडिको भागले हात, खुट्टा, बोलीको चाललाई संयोजन गर्छ। कसरी हिँड्ने, कसरी बोल्ने भन्ने निर्देशित गर्छ। रक्सीले तिनलाई प्रभावित पारेर काम गर्न दिंदैन। जसले गर्दा रक्सी खाएको मान्छे लडबडाउँदै हिँड्ने, खुट्टा टेक्न नसक्ने, बोली पनि लरबराउने हुन्छ।

रक्सीले जिउको सबै ठाउँमा असर पार्छ। यो दिमाग, मिर्गौला, कलेजो र मुटुमा जान्छ। मुटुका मसलहरूलाई काम गर्न नसक्ने बनाउँछ।
यस्तै, हाम्रो मस्तिष्कमा निधारपछाडि ‘फ्रन्टल लोब’ भन्ने भाग हुन्छ, जसले जिउलाई ‘ब्रेक’ लगाउने काम गर्छ। बच्चाहरू जन्मिने बित्तिकै यो भाग विकसित भएको हुँदैन, २० देखि २६ वर्षसम्ममा मात्र पूर्ण विकसित हुन्छ। हामीले देख्छौं नि, १४/१५ वर्षका किशोरकिशोरी सोच्दै नसोची काम गर्ने, झ्वाट्ट बोल्ने गर्छन्। किनभने उनीहरूको त्यो भाग विकसित भइसकेको हुँदैन।

रक्सीले मस्तिष्कको ‘फ्रन्टल लोब’को भागमा असर पार्छ र सोच्न नसक्ने बनाउँछ। जस्तो, गाडी गुडिरहेको बेला बाटो काट्न हुँदैन भन्ने सोच्न सक्दैन। कसैलाई नराम्रो नभन्ने मान्छे पनि रक्सीले लट्ठ परेको बेला जे पायो त्यही बोल्ने, गाली गर्ने वा नचाहिने कुरा गरेको देखिन्छ। रक्सीले हाम्रो मस्तिष्कलाई नै ‘फेल’ गराउने भएकाले त्यस्तो भएको हो।

रक्सीका दीर्घकालीन असर के-के हुन्?

रक्सीले शरीरको हरेक भागलाई असर पार्छ। यो खाएपछि घाँटी, अन्ननली, फोक्सोलाई असर पार्छ। ग्यास्ट्राइटिस गराउँछ। पेटको क्यान्सर गराउन सक्छ। ठूलो आन्द्रा, सानो आन्द्रा, मूत्रथैली, मिर्गौला, फियोमा असर पार्छ। फियो सुन्निएर प्यांक्रियाटाइटस गराउँछ।

यो थोरै थोरै खाएर केही फरक पर्दैन भन्ने हुँदैन। रक्सी खाने बित्तिकै पेटमा पुगेपछि सोस्छ। कुनै पनि खानेकुरा खाएपछि हाम्रो शरीरले त्यसलाई टुक्र्याएर हाम्रो जिउले प्रयोग गर्नसक्ने माध्यममा लिएर जानुपर्छ। त्यही भएर यसलाई पनि ‘अल्कोहल डिहाइड्रोजनिस’ भन्ने एन्जाइमले ‘एसेटलडिहाइड’ बनाउँछ।

रक्सी भनेको अल्कोहल इथानोल हो। जुन बियर र वाइनमा फरकफरक मात्रामा पाइन्छ। अनि ‘एस्टलडिहाइड’ यस्तो खालको विषादीका रूपमा हुन्छ, यो त्यति धेरै बेरसम्म रहन सक्दैन। यदि रह्यो भने जिउको सबै ठाउँमा असर पार्छ। यो दिमाग, मिर्गौला, कलेजो र मुटुमा जान्छ। मुटुका मसलहरूलाई काम गर्न नसक्ने बनाउँछ।

हामीले बचेको केही खानेकुरा भान्सामा राख्यौं र फाल्न बिर्सियौं भने कुहिन्छ। मुलाको अचार बिग्रियो भने अर्कै खालको गन्ध आउँछ नि। त्यस्तै हो, रक्सी बनाउन राम्रोसँग विधि पुगेन भने विषालु बन्छ। त्यो रक्सी पिउँदा मान्छे मर्नसक्छ।
रक्सी खाँदा विभिन्न कुराले फरक पार्छ। जस्तो, रक्सी कति खाएको छ? मान्छेको शारीरिक बनोट कस्तो छ? खाने मान्छे बच्चा वा किशोरकिशोरी के हो? यी सबै कुराले फरक पार्छ।

मधेसका केही जिल्लामा रक्सी खाएर मानिसको मृत्यु भयो। स्थानीयले विषालु रक्सी भनेका छन्। रक्सी कसरी विषालु हुन्छ?

रक्सी विषालु पनि हुन्छ। यसमा अरू पदार्थ मिसाउँदा विषालु बन्नसक्छ। विषालु हुँदा मान्छेको ज्यानै जान सक्छ।

गाउँघरमा रक्सी बनाउँदा चिनीको प्रयोग गरिन्छ। यस्तो गर्दा इथानोल पनि बन्नसक्छ, मेथानोल पनि। इथानोललाई हाम्रो शरीरले छुट्याउनसक्छ। त्यसलाई शरीरबाट बाहिर फाल्नसक्छ। तर, रक्सी बनाउँदा मेथानोल बन्यो भने विषादीका रूपमा लिन्छ। मेथानोल खान योग्य हुँदैन। यदि खायो भने एक चम्चा जतिले पनि मान्छे मर्नसक्छ।

विभिन्न कारणले रक्सी विषालु हुन्छ। जस्तो, रक्सी बनाउने ठाउँ सफा छैन, रक्सी बनाउँदा केही मिसावट भयो, रक्सी बनाउने मर्चा राम्रो गुणस्तरको भएन, उमाल्दा वा बनाउँदा मिसावट भयो, मिसाएका पदार्थ कुहिए। हामीले बचेको केही खानेकुरा भान्सामा राख्यौं वा फाल्न बिर्सियौं भने कुहिन्छ। मुलाको अचार बिग्रियो भने अर्कै खालको गन्ध आउँछ।त्यसैगरी रक्सी बनाउन राम्रोसँग विधि पुगेन भने विषालु बन्छ। त्यस्तो रक्सी पिउँदा मान्छे मर्नसक्छ।

मस्तिष्कको पछाडि ‘बेसल गांग्लिया’ भन्ने भाग हुन्छ। त्यो भागलाई एसिडोसले नष्ट गरिदिन्छ। यसले गर्दा मान्छे मर्नसक्छ। खाँदा रिँगटा लाग्ने, बान्ता हुने, सोच्न नसक्ने, हिँड्न नसक्ने, होस हराउने र मान्छे मर्नसक्ने हुन्छ। तत्कालै उपचार पाएर बाँच्यो भने पनि आँखा नदेख्ने हुनसक्छ।
रक्सी विषालु छ कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ?

यसको लागि परीक्षण गर्नुपर्छ। मेथानोल र इथानोलको उम्लने तापक्रम फरकफरक हुन्छ। ठूलाठूला डिस्ट्रिलरीमा पनि रक्सी वा वाइन बनाउँदा दुवै बन्नसक्छ। उनीहरू के बन्यो भनेर परीक्षण गर्छन्। मेथानोल बन्यो भने फाल्छन्। गाउँमा बनाउने रक्सीमा त त्यस्तो परीक्षण हुँदैन।

इथानोल जस्तै मेथानोल पनि पेटमा जान्छ। अरू खानेकुरा जस्तै त्यसलाई पनि शरीरले सोस्छ। जस्तो ‘अल्कोहल डिहाइड्रोजनिस’ भन्ने एन्जाइमले इथानोललाई ‘एसेटलडिहाइड’ बनाउँछ भने मेथानोललाई ‘फर्मलडिहाइड’ बनाउँछ। त्यो भनेको के भने, कुनै पनि शरीरका अंगलाई कुहिन नदिन त्यसमा डुबाएर राखिन्छ। हामी कहिलेकाहीँ यसको प्रयोग गर्छौं।

यो फर्मलडिहाइडले फेरि ‘फर्मिक एसिड’ बनाइदिन्छ। हाम्रो रगतमा अमिलो र तितोपन हुन्छ। यो फर्मिक एसिडले रगतमा तितोपन घटाएर अमिलोपन बढाइदिन्छ। त्यसलाई ‘एसिडोस’ भनिन्छ। त्यो हाम्रो शरीरका कोषकोषमा गएर हानि पुर्‍याउँछ। एसिडोसले गर्दा मान्छेको आँखामा, अझ आँखाको पर्दामा चोट पुर्‍याउँछ।

त्यस्तै, मस्तिष्कको पछाडि ‘बेसल गांग्लिया’ भन्ने भाग हुन्छ। त्यो भागलाई एसिडोसले नष्ट गरिदिन्छ। यसले गर्दा मान्छे मर्न सक्छ। इथानोल खाएपछि बोली लरबराउने हुन्छ भने मेथानोल खाँदा रिँगटा लाग्ने, बान्ता हुने, सोच्न नसक्ने, हिँड्न नसक्ने, होस हराउने र मान्छे मर्नसक्ने हुन्छ। तत्कालै उपचार पाएर बाँच्यो भने पनि आँखा नदेख्ने हुनसक्छ।

रक्सीले मान्छेको जीवनमा कसरी फरक पार्छ?

रक्सी पिउनु नै एउटा रोग हो। सधैं पिइराख्नुपर्ने र यसबाट परिवार, समाज र काममा गाह्रो परेको हुन्छ। यसले सबै कुरामा फरक पर्छ।

अमेरिकामा २१ वर्षभन्दा कम उमेरकाले रक्सी खरिद गर्न पाउँदैनन्। ठूलो मान्छेले किनेर दियो, खुवायो वा रक्सी खाएर उनीहरूलाई दुर्व्यवहार गर्‍यो भने मुद्दा नै लाग्छ।
रक्सी खाँदा थुप्रै असर पर्छन्। जस्तो, गर्भवती महिलाले रक्सी खाइन् भने पेटमा हुर्किरहेको बच्चामा असर पार्छ। पछि गएर सम्झन नसक्ने र क्षमतामै असर पर्छ। आमाले रक्सी खाएको देख्यो भने सानै छँदा बच्चाले खाने, स्कूल नजाने र त्यसले गर्दा पढाइ खस्किने हुन्छ। त्यसले भोलि बच्चाको करिअरमै असर पर्छ। यसले गरीबीको दुश्चक्रम राखिराख्छ।

रक्सी छोड्न वा छोड्न लगाउन व्यक्तिगत, सामाजिक र सरकारी तहमा विभिन्न काइदा कानून बनाउनुपर्ने हुन्छ। महिलामा रक्सी पिउने बानी छ भने बच्चा पेटमा छँदै नखाने, बच्चा हुर्कंदै गर्दा पनि आमा र बुवाले नखाने। स्कूलको नजिक रक्सी पसल राख्न नदिने। निश्चित उमेरसम्म रक्सी खरीद गर्न र खान नदिने नियम बनाउनुपर्छ। जस्तो, अमेरिकामा २१ वर्षभन्दा कम उमेरकाले रक्सी खरीद गर्न पाउँदैनन्। ठूलो मान्छेले किनेर दियो, खुवायो वा रक्सी खाएर उनीहरूलाई दुर्व्यवहार गर्‍यो भने मुद्दा नै लाग्छ।

रक्सी खान नदिने वा नियन्त्रण गर्ने कसको जिम्मेवारी हो?

रक्सी खाने मान्छेले परिवारलाई राम्ररी हेरेको छैन, परिवारसँग सम्बन्ध राम्रो छैन, आफ्नो दायित्वमा सफल भएको छैन, आफ्नो काम पनि राम्ररी गर्न सकिराखेको छैन, रक्सी छोड्न सकिराखेको छैन भने त्यो फेरि एडिक्सन हो, रोग हो।
एउटा बच्चालाई ठूलो मान्छे बनाउन्जेल हाम्रो कति धेरै साधनस्रोत लगानी भएको हुन्छ। बच्चालाई केही भइहाल्छ कि भनेर खोप लगाइन्छ। जीवन अनमोल हुन्छ। मदिरा नियन्त्रण गर्नुपर्ने सवालमा राज्यले नागरिकको जिम्मेवारी कति लिन्छ भन्ने प्रश्न त आउँछ नै। तर, सबै कुरामा राज्यकै भर परेर बस्ने पनि होइन। हामीले आफैंले पनि त केही गर्ने हो।

कुनै पनि खानेकुरा खानु वा पिउनुअघि त्यसले शरीरमा कति असर गर्छ भन्ने सोच्नैपर्छ। यदि तपाईंलाई कसैले ‘ल यो एउटा औषधि खानु, तपाईंलाई यसले अन्धो पनि बनाउन सक्छ, क्यान्सर पनि हुनसक्छ, मिर्गौलाको खराबी हुनसक्छ, कहिलेकाहीँ मुटुले काम नगर्न सक्छ’ भन्यो भने तपाईंले लिनुहुन्छ त? पक्कै पनि लिनुहुन्न। त्यसैले तपाईं आफैंले आफ्नो स्वास्थ्यको जिम्मेवारी लिनुहोस् र वरिपरि कसैले त्यस्तो नराम्रो गरिरहेको छ, अनियन्त्रित रूपमा रक्सी बेचिरहेको छ, समाजमा कसैलाई गाह्रो परेको छ भने बोल्न हिचकिचाउनु हुन्न। आफैं पनि सचेत हुनुहाेस् र कसैलाई सहयोग चाहिएको छ भने सहयोग गर्नुहोस्।-हिमालखबरबाट साभार अन्तर्वार्ता

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close