नागरिक लगानी कोषले ल्यायो ‘नागरिक पेन्सन योजना’

सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ। सबै नेपालीलाई यो योजनामा समेट्नेगरी ल्याइएको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिए।
कम्तिमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने उनले बताए। ‘न्यूनतम मासिक ५ सय बचत गर्नुपर्छ, त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिन्छ’ उनले भने।
बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन प्राप्त गर्दछ। ‘नागरिकले यसरी जम्मा गरेको रकम कोषले विभिन्न क्षेत्रमा लगानी गर्नेछ, सो लगानीको प्रतिफल समेत जोडेर ६० वर्ष पुगेपछि पेन्सनका रुपमा दिइने छ’ सिलवालले भने।
जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुनेछ। यदी कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता गरिने उनले बताए। तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।
सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा विद्युतीय भुक्तानी मार्फत जम्मा गर्न सक्ने छन्।
बचतकर्ताले बैंकमा रकम दाखिला गरे पछि सोको जानकारी कोषलाई दिनु पर्ने छ। कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ।
यसका लागि व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी अनिवार्य चाहिन्छ। सो आधारमा कोषले बचतकर्तालाई अलग्गै परिचयपत्र बनाइदिनेछ।
कमेन्ट गर्नुहोस !